१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविमाथि भीम रावलको कटाक्षः भयंकर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन्



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको बताउनु भयो । उहाँले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निस्कासित गरिएको बताउनु भयो । उहाँले भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताउनु भयो । उहाँले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताउनु भयो ।

उहाँले नागरिकता, राहदानी दुई÷दुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताउनु भयो । उहाँले लामिछानेलाई सो पदमा राख्नेहरु पनि उत्तिकै जिम्मेवार रहेको बताउनु भयो । उहाँले नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको बताउनु भयो । सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हुनत आजकाल सोध्न पनि पाइँदैन । भर्खर एउटा नयाँ पार्टी आएको उनकै महासचिवले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछ । भन्नेबेला भयंकर लोकतन्त्र हामी । ए यस्तो लोकतन्त्र । त्यो स्वर टेलिभिजनमा सुन्दा त मानौँ की नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्नेकुरा जम्मै धर्ती मुनि पस्ला जस्तो । भरे माथि सतहमा आउँदा नागरिकता हेरे दुई वटा, राहदानी हेर्दा दुई वटा, अरु के तीन वटा । त्यसपछि गएर ठगी । अनि निजलाई देशको सम्पूर्ण जिम्मा । म खालि रवि लामिछानेजीलाई मात्रै भन्न चाहन्न । उहाँलाई त्यहाँ राख्ने पनि उत्तिकै जिम्मेवार छन् ।’

नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला ठूला सैनिक जहाज आएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल