९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै

म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै
अ अ+ अ-

दमौली। म्याग्दे गाउँपालिकामा उद्यम तथा व्यवसाय विस्तारसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर बढ्दै गएका छन् ।

व्यापार, कृषि तथा पशुपालन, होटल तथा रेष्टुरेन्ट, पर्यटन, सेवा तथा उत्पादनमूलक क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने क्रम बढेसँगै गाउँपालिकाको आर्थिक गतिविधि पनि विस्तार हुँदै गएको हो ।

गाउँपालिकाको आर्थिक विकास शाखाका अनुसार हालसम्म विभिन्न प्रकृतिका ५१४ वटा व्यवसाय तथा उद्यम दर्ता भएका छन् । व्यवसाय दर्ताको तथ्याङ्कले स्थानीय नागरिक उद्यमशीलतातर्फ आकर्षित हुँदै गएका र स्थानीय सीप, श्रम तथा पुँजीलाई गाउँमै परिचालन गर्ने वातावरण निर्माण हुँदै गएको शाखा प्रमुख प्रदीप न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार म्याग्देमा किराना पसल, खाजा तथा होटल, रेष्टुरेन्ट, कृषि तथा पशुपालन फार्म, कपडा पसल, वर्कसप, सिलाइकटाइ, राइस मिल, फर्निचर, ब्यूटीपार्लर, इलेक्ट्रोनिक्सलगायत व्यवसाय सञ्चालनमा छन् । पर्यटन क्षेत्रलाई आधार बनाउँदै तीनवटा सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा आएका छन् ।

गाउँपालिकामा सबैभन्दा बढी १५५ वटा किराना पसल दर्ता भएका शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार १०८ खाजा तथा होटल, रेष्टुरेन्ट, १०३ कृषि तथा पशुपालन फार्म सञ्चालनमा छन् । साथै कपडा पसल, वर्कसप, सिलाइकटाइ, भाडा पसल, राइस मिललगायत व्यवसायी दर्ता भई सञ्चालनमा छन् । ग्यारेज, हार्डवेयर, सुनचाँदी, सामुदायिक घरबास, बेकरी, सैलुन, चाउमिन र खानी व्यवसाय दर्ता भएका छन् ।

म्याग्देमा दर्ता भएका १०० कृषि तथा पशुपालन फार्मले स्थानीय उत्पादनलाई व्यवसायसँग जोड्ने सम्भावना देखिएको न्यौपानेको भनाइ छ । कृषि तथा पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाउँदा स्थानीय उत्पादन वृद्धि हुनुका साथै गाउँमै रोजगारी र आयआर्जनका अवसर सृजना गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

कृषि उत्पादन, पशुपालन तथा त्यसमा आधारित व्यवसायले स्थानीय बजारलाई समेत चलायमान बनाउन सहयोग पुर्‍याएको छ । कृषि उत्पादन होटल तथा रेष्टुरेन्टमा खपत हुने र स्थानीय बजारमा बिक्री वितरण हुने भएकाले एउटा व्यवसायले अर्को व्यवसायलाई समेत टेवा पुर्‍याउने अवस्था बनेको उहाँले बताउनुभयो ।

गाउँमै रोजगारी सृजनाको आधार

म्याग्देमा व्यवसाय विस्तार हुन थालेसँगै स्थानीय नागरिकले आफ्नो श्रम, सीप र पुँजीलाई आफ्नै ठाउँमा परिचालन गर्ने अवसर पाएका छन् । यसले रोजगारीका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उद्यम तथा व्यवसायले राम्रो गर्दै गएको अवस्था छ । स्थानीय नागरिक आफैँले व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर र स्वावलम्बी बन्ने क्रम बढेको छ । गाउँपालिकाले पनि उद्यमशीलता विकास, सीप अभिवृद्धि र व्यवसाय प्रवर्द्धनका कार्यक्रममार्फत स्थानीयलाई प्रोत्साहन गर्दै आएको छ ।”

म्याग्दे गाउँपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि नवप्रवर्तनात्मक कार्यक्रमअन्तर्गत अभिमुखीकरण तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमबाट १५ जना उद्यमीले नमूनाका रूपमा उद्यम तथा व्यवसाय सञ्चालन गरेका छन् ।

परम्परागत रूपमा रोजगारी खोज्नुभन्दा आफ्नै व्यवसाय सृजना गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता भएकाले नवप्रवर्तनमा आधारित कार्यक्रमले स्थानीय समस्या पहिचान गरी त्यसको समाधानसँगै आम्दानीको अवसर सृजना गर्न सहयोग पुर्‍याउने अधिकारीले बताउनुभयो ।

व्यवसाय बढेसँगै दिगोपनको चुनौती

म्याग्देमा व्यवसाय दर्ताको सङ्ख्या बढ्दै गए पनि व्यवसाय दर्ता गर्नुमात्र सफलताको आधार नभएको गाउँपालिकाले जनाएको छ । दर्ता भएका व्यवसायलाई दिगो, नाफामूलक, प्रतिस्पर्धी, गुणस्तरीय, बजारमुखी तथा वातावरणमैत्री बनाउनु अबको चुनौती रहेको आर्थिक विकास शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।

व्यवसायीलाई दर्ता, नवीकरण, कर तथा कानुनी प्रक्रियाका साथै व्यवसाय व्यवस्थापन, बजार व्यवस्थापन, उत्पादनको गुणस्तर, वित्तीय साक्षरता र वातावरणीय जिम्मेवारीबारे समेत आवश्यक जानकारी र सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ । रासस