११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

आफ्नै अनुसन्धानबाट प्रमाण पुर्‍याएर इतिहास लेख्ने ज्ञानमणि

आफ्नै अनुसन्धानबाट प्रमाण पुर्‍याएर इतिहास लेख्ने ज्ञानमणि
अ अ+ अ-

काठमाडौँ । ज्योतिष एवम् इतिहासका विद्वान नयराज पन्तले खोलेको पाठशालाका पहिलो चरणका शिष्यमध्ये हुनुहुन्थ्यो इतिहासकार ज्ञानमणि नेपाल । पन्तले खोलेको पाठशालापछि संशोधन मण्डलमा परिणत भएको थियो । पन्तले भारतको बनारसबाट ज्योतिष विषयमा उच्च शिक्षा हासिल गरी फर्केपछि १९९५ सालमा संस्कृत पाठशाला खोल्नुभएको हो । यसैलाई पछि संशोधन मण्डल नामकरण गरिएको थियो ।

पन्तले स्थापना गर्नुभएको गुरुकुलीय पद्दतिको पाठशालामा अध्ययन गर्नुभएकाले इतिहासकार नेपालसँग कुनै शैक्षिक प्रमाणपत्र त थिएन । नयराज पन्तको गुरुकुलमा अध्ययन गर्ने शिष्यसँग औपचारिक प्रमाणपत्र नभए पनि अहिले विभिन्न क्षेत्रमा अब्बल भएर काम गरिरहेका भेटिन्छन् । गुरुकुलमा अध्ययन पूरा गरेपछि नेपालले पशुपति क्षेत्रस्थित मृगस्थलीमा योगी नरहहिनाथलगायतले स्थापना गर्नुभएको संस्कृत पाठशालामा पढाउनुभयो ।

एक वर्षसम्म मृगस्थलीको गुरुकुलमा पढाएपछि नेपाल गृह जिल्ला भोजपुर फर्कनुभयो । भोजपुरमा केही वर्ष काम गरेपछि उहाँ काठमाडौँ फर्किएर नेपाल तथा एशिया अध्ययन केन्द्र (सिनास) मा काम गर्न थाल्नुभयो । संस्कृत साहित्यमा नेपाल अब्बल हुनुहुन्थ्यो । यसले गर्दा प्राचीनकालमा संस्कृत भाषामा लेखिएका कागजातको अध्ययन गरी इतिहास लेखनमा उहाँलाई मद्दत पुग्यो । नयराज पन्तले ‘मेरो ज्योतिषको उत्तराधिकारी भोलानाथ हो, वाङ्मयपट्टि ज्ञानमणि हो’ भनेको सुन्नेहरु अहिले पनि छन् ।

उहाँका धेरै समकालीनले यो सम्झना सुनाउने गरेका छन् । नेपाल प्रमाण पुर्‍याएर इतिहास लेख्ने प्रतिभाशाली लेखकमा पर्नुहुन्छ । उहाँसँग नेपालको इतिहास र सांस्कृतिक विषयमा धेरै ज्ञान थियो । नेपालका नेपाल निरूपण, नेपाल निरुक्त र नेपालको पूर्वमध्यकालको इतिहासमा इतिहाससम्बन्धी धेरै विषयवस्तु समेटिएको छ ।

यी उहाँका पढ्नैपर्ने पुस्तकमा पर्छन् । इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको कमी भयो भन्ने चर्चा चलिरहेका बेला नेपालको लगनशीलताले आकर्षित गरेर उहाँसँग अध्ययन गर्न जानेको सङ्ख्या पनि उल्लेख्य थियो ।

‘राज्यले उपयोग गर्न सकेन ज्ञानमणिको ज्ञान’

पछिल्लो समय नेपालसँग अध्ययन अनुसन्धानमा सक्रिय हुनुभएका हरिप्रसाद सोडारी उहाँमा भएको ज्ञान राज्यले उपयोग गर्न नसकेको बताउनुहुन्छ । इतिहास र संस्कृतिसम्बन्धी गहिरो ज्ञान भएका नेपालमा ऐतिहासिक सन्धिपत्रलगायत सामग्री अध्ययन गर्ने क्षमता थियो । उहाँबाट यसको ज्ञान पुस्तान्तरण गराउन भने राज्य नै चुकेको उहाँ बताउनुहुन्छ ।

उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुभएका बेला इतिहाससम्बन्धी धेरै काम भएको थियो । उहाँको बहुचर्चित पुस्तक ‘नेपालको महाभारत’ साझा प्रकाशनले प्रकाशित गरेको थियो । अहिले बजारमा पाइँदैन । यसको पुनःप्रकाशन नहुँदा धेरैले चाहेर पनि अध्ययन गर्न नपाएको सोडारी बताउनुहुन्छ । इतिहासकार नेपालले लेख्नुभएको पहिलो पुस्तक ऐतिहासिक पत्रसङ्ग्रह भाग १ हो । नेपाली इतिहासको अध्ययन अनुसन्धानका लागि यो महत्वपूर्ण पुस्तक मानिन्छ । २०१४ सालमा नै लेखिएको यस पुस्तकमा त्यस बेलासम्म नेपालमा प्रकाशमा नआएका विशेषगरी मध्य र शाहकालका ऐतिहासिक पत्रहरूको व्याख्या गरिएको छ । यसबाट त्यस समयको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीका रुपमा यो स्थापित भएको छ ।

पुस्तकमा लेखिएका प्रमाणको सक्कल कागजातको तस्बिर पनि छापिएको छ । धनबज्र बज्राचार्यसँगको सहलेखनमा यो पुस्तक तयार भएको हो । बज्राचार्य पनि नयराज पन्तकै शिष्य हुनुहुन्थ्यो । पन्तले बढी रुचाएका शिष्यमा बज्राचार्य र नेपाल रहनुभएको थियो । नेपालको प्राचीन इतिहासका विषयमा नेपालले लामो समय कलम चलाउनुभयो । उहाँले साहित्यिक कृति पनि उत्तिकै प्रकाशन गर्नुभयो ।

सिनासबाट उहाँका धेरै पुस्तक प्रकाशन भएका छन् । ‘नेपालको पूर्वमध्यकालीन राजनीतिक इतिहास’ तिनैमध्येको पुस्तक हो । त्यस कालखण्डबारे एउटा लेख पनि नभएका बेला नेपालले नेपाली अनुसन्धाता र इतिहासका विद्यार्थीका लागि अध्ययन सामग्री उपलब्ध गराइदिनुभएको सम्झनुहुन्छ इतिहासविद् त्रिरत्न मानन्धर । ‘नेपाल निरुक्त’ र ‘नेपाल निरूपण’ पनि उहाँका महत्वपूर्ण पुस्तक हुन् । यी पुस्तक उहाँका लेखका सङ्कलनका रुपमा रहेका छन् । ती सबै मौलिक स्रोतमा आधारित छन् । जसमा प्रमाणिक कुरामात्र राखिएकाले अनुसन्धाताका लागि उपयोगी मानिन्छन् । हरेक पुस्तक आफैँ अनुसन्धान गरेर लेख्ने उहाँको मौलिकशैली थियो । अन्यत्र प्रकाशित स्रोतमा उहाँ भर पर्नुहुन्नथ्यो ।

आफैँ खोजी गरेर पुष्टि भएपछि मात्र त्यसलाई पुस्तकको रुप दिने गर्नुहुन्थ्यो । नेपालले परराष्ट्र मन्त्रालयका कागजपत्र खोजेर तिनको व्याख्या गरी पुस्तक लेख्नुभएको छ । उहाँले काठमाडौँको गुठीका बारेमा अनुसन्धान गरी लेखिएको लेख पनि चर्चित छ । नेपाल र भोटबीचको सांस्कृतिक सम्बन्धका विषयमा पनि उहाँले पुस्तक लेख्नुभएको छ ।

नेपालको सबैभन्दा धेरै चर्चित, बढी पढिएको र धेरैले सन्दर्भसूचीका रूपमा उल्लेख गर्ने गरेको पुस्तक नेपालको ‘महाभारत’ भएको इतिहासविद् मानन्धर बताउनुहुन्छ । सो पुस्तकमा उहाँले शाहकालका विभिन्न षड्यन्त्रका विषयलाई समेट्नुभएको छ । सिनासले प्रकाशन गर्ने जर्नल कन्ट्रिब्यूशन टू नेप्लिज स्टडीलगायत पत्रपत्रिकामा पनि उहाँका धेरै लेख छापिएका छन् ।

वैचारिक बहसमा सक्रियतापूर्वक सहभागी हुने निर्भिक समीक्षक पनि उहाँ हुनुहुन्थ्यो । इतिहासको खोज, अनुसन्धान गरी जीवनको अन्तिमसम्म पनि उहाँले लेखिरहनुभयो । रोगले थलिए पनि उहाँले अध्ययन, अनुसन्धान र लेखनलाई बिट मार्नुभएन । फलस्वरुप उहाँले आफ्नो नाम अनुसारको काम भने झैँ ज्ञानको मणि बनेर नेपाली इतिहासमा तीन दर्जनभन्दा बढी कृति दिएर जानुभएको छ ।

मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित नेपालको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही जेठ १ गते मध्याह्नमा निधन भएको थियो । इतिहासकार नेपालका दुई छोरा हुनुहुन्छ । उहाँकी श्रीमतीको भने केही वर्षअघि नै निधन भइसकेको उहाँका भाइ एकमणि नेपालले जानकारी दिनुभयो ।

नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताको रूपमा चिनिन्छ । भोजपुरमा विसं १९८९ माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाडमा कार्यक्षेत्र बनाइ कौमुदी, चण्डीबाट शिक्षाआर्जन गर्न सुरु गर्नुभएको थियो । काठमाडौँमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गर्नुभएको छ । जसमा ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत करिब तीन दर्जन कृति प्रकाशित भएको लेखक एवं साहित्यकार सोडारीले जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नुभएका नेपाललाई नेपालको इतिहासमा एक अन्वेषक इतिहासकारका रुपमा स्मरण गरिने छ । इतिहास कसैलाई खुसी बनाउन भन्दा पनि वास्तविकता जे हो, त्यही जनसमक्ष ल्याउने विषय हो भन्ने नेपालका मूलमन्त्र थियो । यही मन्त्रबाट प्रेरित भएर उहाँले नोपलको ऐतिहासिक अध्ययन र लेखन गरेर बिदा हुनुभएको छ ।

पूर्णप्रसाद मिश्र/रासस