१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’
अ अ+ अ-

फुङ्लिङ । जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा बढ्ने स्थानीयवासीको अनुमान छ । गएको दसैँ तिहारको अवधिमा झण्डै पाँच सय आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा ताल क्षेत्रको भ्रमण गरेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताउनुभयो ।

हाल निर्माणाधीन तमोर कोरिडोर सडक नयाँ वर्षको बेला आलोङचुङगोला जोडिने भएपछि सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने वडाध्यक्ष लामाको अनुमान छ । उहाँका अनुसार पूर्वको विभिन्न जिल्ला र काठमाडौँ लगायतका ठाउँबाट सिङ्जेमा क्षेत्रमा पर्यटक आउने गर्छन् । नयाँ वर्षमा करिब छ सयको संख्यामा आन्तिरक तथा बाह्य पर्यटक आउने अनुमान स्थानीयवासीको छ ।

सिङ्जेमा ताल फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा पर्दछ । यो ताल ओलाङचुङगोलाको बस्तीबाट एक दिनको पैदल दुरीमा अवस्थित छ । समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालकोे क्षेत्रफल र गहिराईको मापन हुन सकेको छैन । ताललाई एक फन्को लगाउन एक घण्टा भन्दा बढी समय लाग्छ । प्राकृतिक रुपमा मनोरम मात्रै नभइ स्थानीयले यस ताललाई धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन् । तालमा भाकल गरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने स्थानीयवासीको विश्वास छ ।

तालसँग जोडिएका केही पुराना किंवदन्ती छन् । स्थानीयका अुनसार यस तालको किनारमा एकजना स्थानीय भोटे बसिरहेको बेला तालबाट एउटा चौंरी निस्कियो । त्यो चौंरीको गोबर भोटेले घरमा लगेपछि उनी धेरै सम्पन्न भएका थिए । स्थानीय फुजुङ शेर्पाका अनुसार धेरै वर्ष अगाडि त्यस तालको छेउमा भेडीगोठ बस्दा पोखरीबाट एउटा भेडाको थुम्बा निस्केर बगालमा मिसियो । त्यसलाई गोठालाले मारेर खाए । त्यसपछि फेरि तालबाट दुई वटा भेडा निस्कियो । ती दुई भेडाले बगालको सबै भेडालाई सुंघे । त्यसपछि बगालको सबै भेडा तालमा पसे र हराए । तालको उत्तरतिर पूजा गर्नको लागि एउटा थान बनाइएको छ । यस थानमा त्यहाँ पुग्ने जो कोहीले भाकल गर्ने चलन छ । तालमा जाँदा बिहान चोखो मुखमा जाने र आफुसँग जे छ त्यही चढाउने चलन छ । त्यसैले प्राय दर्शनार्थीले पूजा थानमा गरगहना, घडी, औंठी, चुरा लगायतका सामान चढाएको देखिन्छ । कसैले सुन, चाँदी पैसा नगद सिक्का चढाउने गरेका छन् । तर ती भेटी, गहनाको संकलन र उचित व्यवस्थापन हुनसकेको छैन । कतिपयले तालमा पुगेपछि आफ्नो भाग्य देख्न सक्छन् भन्ने विश्वास समेत छ ।

सिङ्जेमा ताल पुग्नको लागि ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि तमोर कोरिडोरको कच्ची सडक भएर गाडीमा ओलाङचुङगोला सम्म जान सकिन्छ । ओलाङचुङगोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई(तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौंरीगोठमा बास बस्न पुग्नुपर्दछ । तालक्षेत्र जाने बाटोमा होटल, चिया पसल जस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । आफुलाई आवश्यक सामग्री आफैले बोक्नुपर्दछ । चौंरी गोठमा खाना, चिया र सुत्नका लागि सामान्य व्यवस्था हुन्छ ।

चौंरीगोठबाट भोलिपल्ट तीन(चार घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ । तालको अवलोकन र दर्शन पश्चात गोठमा आइपुगेर खाना खाएर ओलाङचुङगोलासम्म फर्किन सकिन्छ । व्यवस्थित यात्राका लागि टेन्ट, स्लिपिङ ब्याग लगायतको सामग्री लिएर जान सकिन्छ । ताल क्षेत्रमा जाने उपयुक्त मौसम बैसाख अन्तिम देखि असोज पहिलो हप्ता सम्म हो ।

बैसाखदेखि असोजसम्म यस क्षेत्रमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अरु बेलामा गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुने गर्दछ । त्यसो त यस तालको दर्शन गर्न जाने परम्परा धेरै पुरानो हो । तर त्यतिबेला यहाँ पुग्नेहरु ओलाङचुङगोला आसपासका मात्रै हुन्थे । लेलेप, तापेथोक, लुङथुङ, हेल्लोक, इखाबु, लिङखिम, खेजेनिम क्षेत्रका मानिस तालको दर्शनमा जाने चलन थियो । यो तालको बारेमा ती स्थानीयबासीलाइ बाहेक थाहा थिएन । तर पछिल्लो समय सिङ्जेमा तालको दर्शनमा जानेको सङ्ख्या बद्दो छ ।

गतवर्षको बैसाख अन्तिमतिर दैनिक पर्यटकको एक समूह ताल भ्रमण गर्न गएका थिए । स्थानीय गोठवाला तेम्बा शेर्पाले पर्यटकीय यामको बेला दैनिक छ देखि १२ जनासम्मलाई खाना र बास दिँदै आएको बताउनुभयो ।

पैदल हिँड्ने बाटोमा जम्मा तीन वटा चौंरी गोठ मात्र छन् । गोठवालाले ताल घुम्न आउने पर्यटकलाइ लक्षित गरी चामल, तरकारी, नून, तेल, मसला र ओढ्ने ओछ्याउनेको व्यवस्था गरेका छन् । एउटा गोठमा दश जनासम्मलाई बास दिन सकिने स्थानीय गोठाला फुजुङ शेर्पाले बताउनुभयो । विगतमा साउन र भदौमा मात्रै ताल घुम्न आउने भएपनि अहिले तालको प्रचारप्रसार भएसँगै बैसाख लाग्नुअघिदेखि पर्यटकको आगमन हुन थालेको स्थानीय तेम्बा शेर्पाको भनाइ छ ।

ओलाङचुङगोलाबासीका अनुसार युट्युबर र सामाजिक सञ्जल प्रयोगकर्ताले तालको प्रचार गरेपछि पर्यटकको आकर्षण बढेको हो । ताल भ्रमण गर्न वार्षिक कति पर्यटक आए भन्ने तथ्याङ्क राखिएको छैन । सिङ्जेमा ताल कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो ।

सिङ्जेमा तालमा पछिल्लो समय चलचित्र छायाङ्कन, वृत्तचित्र बनाउनेको सङ्ख्या बढेको छ । यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न परिषद्को स्वीकृति अनिवार्य रहेको छ । रासस