२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको स्मृतिमा सुवास: कठीन बेलाको दृश्य आँखा अगाडि आयो !



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दिवंगत नेता सुवास नेम्वाङ प्रति केही स्मृति शेयर गर्दे श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आठ वर्ष अघिको स्मृति सार्बजनिक गर्दे अध्यक्ष ओलीले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाउदा त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आएको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ –

प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए ।

भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौं । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समुहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार खेपीरहेका थियौं ।

सधैं शान्त रुपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रुपमा प्रस्तुत हुनु भएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दवाव थियो । भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिंदै मलाई भेट्न आउनु भयो ।

उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ ।’

उहाँ असोज तीन गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें, के गर्ने होला ? ’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ । उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला भनें ।

हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !