• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

अमेरिकामा श्वेत व्यक्तिले सुपरमार्केटमा चलाएको गोलीबाट १० जनाको मृत्यु



न्यूयोर्क : एक जना १८ वर्षीय श्वेत युवाले अन्धाधुन्ध गोली चलाएर शनिबार १० जनाको हत्या गरेका छन् । धेरै गोलाबारुद बोकेर एउटा सपिङ मलमा छिरेका उनले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

श्वेत अतिवादी समूहका ठानिएका ती युवकले आफूले गरेको गोली प्रहारलाई आफ्नो क्यामेरामा लाइभ रेकर्ड गरेका थिए ।

सैनिक पोशाक र हेल्मेटमा सुसज्जित ती बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा अरु तीन जना पनि गोली लागेर घाइते भएका छन् । मृतक र घाइतेहरु सबैजसो अफ्रिकी अमेरिकी मूलका अश्वेत नागरिक छन् ।

न्यूयोर्कको बुफालोस्थित टप्स सुपरमार्केटमा प्रवेश गर्नुअघि पार्किङ एरियामा तीन जनालाई गोली हानेका थिए । त्यसपछि सुपरमार्केट भित्र प्रवेश गरेका उनले अन्धाधुन्ध गोली चलाएको प्रहरीको भनाई छ ।

मारिएकाहरुमा त्यही सुपरमार्केटमा कार्यरत एक जना अवकाशप्राप्त सैनिक पनि रहेका छन् । उनले ती युवकलाई छेक्ने प्रयास गरे पनि सफल नभएको बताइएको छ ।

एफबिआईका एजेन्टहरुले आक्रमणकारी व्यक्तिले जातीय द्वेशका आधारमा आक्रमण गरेको र त्यसका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । एएफपी