काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाबाट संशोधनसहित पारित भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ पुनः राष्ट्रिय सभामा फिर्ता आएको छ ।
प्रतिनिधि सभाको बैठकले विधेयकमाथि छलफल गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनका आधारमा संशोधनसहित पारित गरेपछि विधेयक राष्ट्रिय सभामा फिर्ता पठाइएको हो ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट विधेयक प्राप्त भएको सन्देश औपचारिक रूपमा पेश गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२३ को उपनियम (१) बमोजिम प्रतिनिधि सभाले विधेयक फिर्ता पठाएको सन्देश सभालाई जानकारी गराइएको हो ।
प्रतिनिधि सभाले गत असोज १४ गतेको बैठकबाट समितिको प्रतिवेदनका आधारमा विधेयक संशोधनसहित पारित गरेको थियो ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको उक्त विधेयकमाथि अब राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट भएका संशोधनका सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउनेछ ।
संघीय संसद्का दुवै सदनबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ ।







