काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ।
फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले २५ लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गर्नुभएको हो।
खत्रीका अनुसार उक्त रकम शिक्षक, कर्मचारी तथा संस्थाका सदस्यहरूबाट संकलन गरी कोषमा जम्मा गरिएको हो।
चेक हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले बाढीपीडितको राहत तथा पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
हाम्रो सनसाइन स्कुलले विगत २५ वर्षदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई पूर्ण निःशुल्क शिक्षासँगै दिवा खाजाको समेत व्यवस्था गर्दै आएको खत्रीले बताउनुभयो। काठमाडौंको बौद्धमा रहेको विद्यालयमा कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ।








