काठमाडौं । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले पूर्वप्रतिनिधि सभा सदस्य घनेन्द्र बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
लोकतान्त्रिक आन्दोलनका अगुवा बस्नेतको ७४ वर्षको उमेरमा असोज १४ गते असामयिक निधन भएको थियो। बैठकमा प्रस्तुत शोक प्रस्तावमा प्रजातन्त्र तथा लोकतन्त्र स्थापनाका लागि बस्नेतले निर्वाह गर्नुभएको अग्रणी भूमिकाको उच्च कदर गरिएको छ।
नेकपा (एमाले)बाट राजनीतिमा सक्रिय बस्नेतले संसदीय अभ्यासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँ विक्रम संवत् २०४८ सालको आम निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नम्बर २ तथा २०५६ सालको निर्वाचनमा भोजपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।
शोक प्रस्ताव पारित भएपछि प्रतिनिधि सभाले स्वर्गीय बस्नेतको सम्मानमा एक मिनेट मौनधारण गरेको थियो। बैठकले दिवंगत बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।








