राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बादीले चालु आर्थिक वर्षभित्र व्यक्तिगत सहयोगी सेवासम्बन्धी अध्ययन सम्पन्न गरी कार्यविधि निर्माणको काम अघि बढाइने बताउनुभएको हो ।
उहाँका अनुसार तत्कालीन सरकारले २०८० पुस १८ गते व्यक्तिगत सहयोगी सेवासम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी राय तथा सुझावका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर, त्यस समयमा स्पष्ट राय प्राप्त हुन नसकेपछि प्रक्रिया अघि बढ्न सकेको थिएन ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७७ को व्यवस्थाअनुसार व्यक्तिगत सहायता तथा सहयोगी सेवा कार्यान्वयन गर्न कार्यविधि निर्माण गर्न लागिएको मन्त्री बादीले बताउनुभयो ।
मन्त्री बादीले अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई एकीकृत सूचना प्रणालीमा जोडिएको जानकारी दिँदै ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गरी अपाङ्गतासम्बन्धी सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको बताउनुभयो ।








