काठमाडौं । राष्ट्रिय सभाले भोटेकोशी एवं कालीगण्डकी करिडोरमा भएका बाढी–पहिरो तथा अन्य विपद्बारे अध्ययन र अनुगमन गर्न नौ सदस्यीय विशेष समिति गठन गरेको छ ।
राष्ट्रिय सभाको बिहीवार बसेको बैठकले ‘भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समिति’ गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम गठन गरिएको समितिले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका साथै जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्नेछ ।
समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनुभएको छ । समितिमा एक सदस्य पछि थपिने जनाइएको छ ।
हालै रसुवाको भोटेकोशी नदीसहित देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विपद्बारे विस्तृत अध्ययन गर्न संसदीय विशेष समिति गठनको माग उठेको थियो ।
समितिले विपद् जोखिम न्यूनीकरणका लागि वैज्ञानिक पूर्वसूचना प्रणाली विकास, प्रभावित क्षेत्रको वैज्ञानिक पुनर्निर्माण तथा जोखिमरहित बस्ती विकासका लागि आवश्यक मार्गचित्र तयार गर्नेछ । साथै, जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसबाट बढी प्रभावित हुनुपरेको विषयमा जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय कानुनी आधारबारे समेत अध्ययन गर्नेछ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार समितिले आफ्नो कार्यादेश पूरा गर्न आवश्यक कार्ययोजना बनाएर प्रतिनिधि सभासँगको समन्वयमा काम गर्नेछ । समितिलाई आगामी पुस मसान्तसम्म प्रतिवेदन पेश गर्ने समयसीमा तोकिएको छ ।








