काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले सरकारको परराष्ट्र कूटनीति, शासन सञ्चालन तथा राजनीतिक पूर्वाग्रहका आधारमा भइरहेको भनिएको धरपकडप्रति प्रश्न उठाउँदै सरकारको आलोचना गर्नुभएको छ ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारसँग विभिन्न विषयमा जवाफ माग्नुभएको हो ।
रिजालले प्रधानमन्त्री शाहले नेपालले भारतको भूभाग मिचेको भन्ने अभिव्यक्ति दिएको भए त्यसको तथ्य सार्वजनिक गर्न चुनौती दिनुभयो । त्यस्तो तथ्य नभए संसद्मा आएर आफ्नो भनाइ सच्याउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्री शाहको अन्य देशका सरकार प्रमुखसँग द्विपक्षीय साइडलाइन वार्ता हुन नसकेको विषयमा पनि प्रश्न उठाउनुभयो । यस्तो अवस्था सरकारको कूटनीतिक कमजोरीका कारण भएको हो वा अन्य देशले नेपाललाई महत्व नदिएका हुन् भन्ने स्पष्ट पार्न उहाँले माग गर्नुभयो ।
सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक महत्वपूर्ण विधेयक समयमै संसद्मा पेस नगरी अध्यादेशको बाटो रोजेको भन्दै रिजालले आपत्ति जनाउनुभयो । कानून निर्माणमा राष्ट्रिय सभाले बाधा पु¥याइरहेको भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उहाँले त्यसको समेत विरोध गर्नुभयो ।
सरकारले मन्त्रालयको संख्या १७ वटामा घटाए पनि स्वकीय सचिवको संख्या १२८ पु¥याएको भन्दै रिजालले मितव्ययिता र सुशासनको दाबीमाथि प्रश्न उठाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयहरू १७ वटामा झार्नुभयो, मितव्ययिता भयो तर स्वकीय सचिवहरू १२८ जना पु¥याउनु सुशासनको कुन गणित हो ?”
सांसद रिजालले राजनीतिक पूर्वाग्रहका आधारमा धरपकड भइरहेको आरोप लगाउँदै यस्तो कार्य कहिलेसम्म जारी रहने हो भन्ने प्रश्नसमेत गर्नुभयो ।
यस्तै, जेन–जी समुदायलाई देखाएर भ्रम र त्रास फैलाउने तथा उक्त समुदायलाई बदनाम र उत्तेजित बनाउने प्रयास भइरहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सञ्चारमाध्यममाथि सरकारले विश्वास गर्न नसकेको हो कि भन्दै सरकारी कामको प्रचारका लागि सत्तारुढ दलकै सांसदलाई समाचार वाचन गराउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्नसमेत उहाँले उठाउनुभयो ।







