२ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–युक्रेन युद्धले बर्बरताको सबै सीमा नाघ्यो, बुचामा लाशको थुप्रो, सयौँ मानिस गाडिए



अ+ अ-

किभ । रुस–युक्रेन युद्धको आज ४०औँ दिन । यस भीषण युद्धमा रुसी सेनाको क्रूरता एक–एक गरी विश्वसामु आइरहेको छ । युक्रेनको राजधानी किभ नजिकै रहेको बुचा क्षेत्र पुनः कब्जामा लिएको छ र यहाँ ४१० शव फेला परेको छ ।

युक्रेनले रुसी सेनाका चेचेन लडाकुहरूले बुचामा ‘नरसंहार’ गरेको आरोप लगाएको छ। अवस्था यस्तो थियो कि धेरै दिनपछि युक्रेनी सेना यस क्षेत्रमा पुनः प्रवेश गर्दा सडकमा जताततै शव देखे ।

यी शवका हात पछाडिबाट बाँधिएकाले यातना दिएर गोली हानेर हत्या गरिएको अनुमान गरिएको छ । रुसले यी आरोपहरूलाई अस्वीकार गरेको छ तर बुचाबाट आएका तस्बिरहरू हृदयविदारक छन्।

बुचामा यति धेरै शव फेला परेका छन् कि गाड्न ४५ फिट लामो खाडल खन्नुपरेको छ । बुचामा कपडा नभएका कैयौँ महिलाको शव फेला परेकाले उनीहरुमाथि क्रुरताको आशङ्का पनि व्यक्त गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक सहयोगीले युक्रेनी सेनाले बलात्कारमा परेका महिलाको शव फेला पारेको बताए । बुचामा भेटिएका शवमा यातनाको निशान भेटिएको उनले बताए ।

उनीहरुको हात पछाडि बाँधिएको थियो। तिनीहरुलाई पछाडिबाट गोली लागेको थियो । जेलेन्स्कीका प्रवक्ताले यो युद्धअपराध जस्तै देखिएको बताए ।

अर्कोतर्फ युरोपका वरिष्ठ अधिकारीहरूले पनि रुसको सम्भावित युद्ध अपराधको छानबिन गर्न माग गरेका छन् । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेफ बोरेलले भने, “रुसी सेनाले गरेको क्रूरताबाट म स्तब्ध छु। युरोपेली सङ्घले युक्रेनलाई युद्ध अपराधको दस्तावेजमा मद्दत गर्नेछ ताकि रुसलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन सकियोस्।”

रुसले बुचामा भएको क्रूरतालाई अस्वीकार गर्दै कुनै पनि नागरिकको हत्या नगरेको बताएको छ । युक्रेनका अनुसार रुसी सेनाले बुचनबाट पछि हट्नुअघि नै हत्या गरेको हो ।

बुचा राजधानी कीभबाट ३७ किलोमिटर टाढा छ र यो करिब एक महिनादेखि चेचेन लडाकूको नियन्त्रणमा थियो।

बुचामा अझै पनि धेरै शवहरू सडकमा परेका छन् र सयौँलाई चर्चमा सामूहिक चिहानमा गाडिएको छ। युक्रेनका गृहमन्त्रीले बुचामा सयौन् सर्वसाधारण मारिएको स्पष्ट भएको बताएका छन् । यद्यपि उनले यकिन सङ्ख्या भने दिएनन् ।

यसैबीच युक्रेनका उपरक्षामन्त्री हन्ना माल्यारले हप्तौँको लडाइँपछि सम्पूर्ण कीभ क्षेत्र रुसी सेनाबाट मुक्त भएको घोषणा गरेकी छन्। “इरपिन, बुचा, होस्टोमेल र बाँकी किभ क्षेत्र रुसबाट मुक्त गरिएको छ”, मन्त्रीले सामाजिक सञ्जाल पोस्टमा भनिन् ।

इरपिनमा २०० सर्वसाधारण मारिए, ७० हजार मानिस भाग्न सफल भए

रुसले गत हप्ता राजधानी किभ र उत्तरी सहर चेर्निहाइभ वरिपरि युद्ध कारवाहीहरु उल्लेखनीय रूपमा घटाउने र यसको सट्टा पूर्वी क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने घोषणा गर्यो ।

युक्रेनी अधिकारीहरूले फेब्रुअरी २४ मा रूसले आफ्नो आक्रमण सुरु गरेदेखि राजधानी शहरबाट करिब ४६ किलोमिटर टाढा इरपिनमा २०० सर्वसाधारण मारिएको दाबी गरेका छन्।

बीबीसीका अनुसार यस हिंसाका बीच करिब ७० हजार मानिस इरपिनबाट भाग्न सफल भएका छन् ।

किभको उत्तरपश्चिमी सहर बुचामा हिंस्रक हमलाहरू भएका थिए जहाँ गत हप्ता रूसी सेनाहरू सरेका थिए र सयौँ सर्वसाधारणको मृत्यु भएको थियो।

बुचाका मेयर अनातोली फेडोरुकले सहरका भत्किएका सडकहरू लाशले ढाकिएको र करिब ४०० व्यक्तिलाई गाडिएको एउटा सामूहिक चिहान पनि फेला परेको दाबी गरे। एजेन्सीको सहयोगमा