२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज

तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड

तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
अ अ+ अ-

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्म मात्रै टेलिकमले ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको हो।

टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो। चौथो त्रैमासमा मात्रै कम्पनीको नाफा १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँले बढेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा भने टेलिकमले १ अर्ब २२ करोड ४८ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो। यसरी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको करअघिको नाफा करिब ३ अर्ब रुपैयाँले बढेको छ।

सरकारले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर विभिन्न सुधारका काम अघि बढाएसँगै कम्पनीको वित्तीय अवस्थामा समेत सकारात्मक प्रभाव देखिन थालेको जनाइएको छ। शासकीय सुधारसम्बन्धी १०० कार्यसूची तथा सूचना तथा सञ्चार मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकम सुधारलाई प्राथमिकतामा राखिएको थियो।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय ‘फाइबर टु द होम’ (एफटीटीएच) र जीएसएम डाटाको खपत बढ्दा कम्पनीको आम्दानी वृद्धि भएको हो। भ्वाइस सेवाको तुलनामा डाटाको प्रयोग बढेको र सञ्चालन खर्च घटेका कारण नाफा बढेको उहाँले बताउनुभयो। कम्पनीले विज्ञापन, प्रायोजनलगायतका खर्च कटौती गरेर पनि उल्लेख्य रकम बचत गरेको जनाएको छ।

फजुल खर्च घटाउने सरकारी नीतिअनुसार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई मितव्ययी र पारदर्शी रूपमा काम गर्न निर्देशन दिँदै आउनुभएको थियो। सोहीअनुसार गत आर्थिक वर्षमा विज्ञापन र प्रायोजनलगायतका शीर्षकमा खर्च कटौती गरी करिब १० देखि १५ करोड रुपैयाँ बचत भएको टेलिकमले जनाएको छ। सेवा सञ्चालन तथा मर्मतसम्भार खर्च घट्नुका साथै नियामकलाई तिर्नुपर्ने रकमसमेत अघिल्ला आर्थिक वर्षको तुलनामा घटेको कम्पनीको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल टेलिकमको खुद नाफा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७ दशमलव ५८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो।

त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको करअघिको नाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यस आधारमा करअघिको नाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४ दशमलव ६६ प्रतिशतले बढेको हो।

कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो। त्यस्तै, कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँले बढी हो।

समीक्षा अवधिमा कम्पनीको कुल आय पनि बढेर ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २ दशमलव ६५ प्रतिशतले बढेको हो। कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ।

ब्याजदर क्रमिक रूपमा घट्दा कम्पनीको ब्याज आम्दानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ। तर मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिका कारण समग्र सञ्चालन आय र नाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ। विशेषगरी जीएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २ दशमलव २८ प्रतिशतले बढेको छ।

सरकारले नेपाल टेलिकमको सेवा सुधारका लागि डिजिटल रूपान्तरणलाई समेत प्राथमिकता दिएको छ। ग्राहकको डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य गर्नुका साथै सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाईसी’ लागू गर्ने काम पूरा भएको कम्पनीले जनाएको छ। ‘पे–एज–यू–गो’ प्रणाली लागू भएपछि डाटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्ने विषयमा ग्राहकले आफ्नो छनोटअनुसार निर्णय गर्न पाउने व्यवस्था भएको छ।

ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवा पनि अनलाइनबाट उपलब्ध हुन थालेका छन्। ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउन नेपाल टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गरिएको छ। त्यस्तै, ४जी सेवाको पहुँच र गुणस्तर सुधारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने नीतिगत पहलसमेत भएको छ।

सरकारी सुधार, डाटा सेवाको बढ्दो प्रयोग, सञ्चालन खर्चमा कमी तथा सेवा विस्तारका कारण नेपाल टेलिकमको आम्दानी र नाफा दुवैमा उल्लेख्य सुधार देखिएको हो।