काठमाडौँ। नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गर्नुभएको छ ।
पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार उहाँले परम्परागत कार्यशैली बदलेर आजैदेखि काँग्रेसको रूपान्तरण शुरु हुने बताउनुभएको हो ।
सभापति थापाले काँग्रेसको गौरवशाली इतिहास भएपनि अब केवल अतीतको महिमामण्डन गरेर बस्ने छुट कसैलाई नभएको प्रष्ट पार्नुभयो । महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जा युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न सदुपयोग गरिने उहाँको भनाइ छ । सभापति थापाले काँग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने अठोट व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको गौरवशाली इतिहास छ । तर हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अधिवेशनबाट आएका हौँ । हामी यस्तो काँग्रेस बनाउनेछौँ, जसलाई किसानले आफ्नो आवाज उठाउने पार्टीका रूपमा, उद्यमीले गुमेको अवसर फर्काउने पार्टीका रूपमा र वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो परिवारको भरोसाका रूपमा चिनुन् । यस्तो पार्टी भाषणले होइन, कर्मले बनाउनुपर्छ । त्यसका लागि हाम्रो काम गर्ने शैली बदल्नुपर्छ, र त्यो परिवर्तन आजैबाट शुरु गर्नुपर्छ ।’
उहाँले पार्टीको पुनःसंरचना र नागरिकको भरोसा पुनःआर्जन केवल मौखिक भाषणबाट सम्भव नहुने यथार्थ औँल्याउनु भयो । पार्टीपंक्तिलाई आचरण र कार्यशैलीमा सुधार ल्याउन निर्देशन दिँदै उहाँले कर्ममार्फत परिणाम देखाउनुपर्नेमा विशेष जोड दिनुभयो ।
काँग्रेसलाई आम नागरिकको भरोसाको केन्द्र बनाउनका लागि पार्टी सञ्चालनका हरेक कार्यपद्धतिमा आजैका मितिबाट आमूल परिवर्तन शुरु हुने दाबी गर्दै थापाले १५ औँ महाधिवेशनले दिएको म्यान्डेट मुलुक र जनताको हितमा पूर्ण रूपमा उपयोग गरिने प्रतिबद्धता जनाउनु भयो । –न्युज एजेन्सी नेपाल








