काठमाडौँ। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी नेतृत्व र पदाधिकारीबीच कुनै असमझदारी नरहेको प्रष्ट पार्नुभएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा तीन दिनसम्म चलेको स्थायी कमिटी बैठक समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आन्तरिक विवादबारे बाहिर आएका टीकाटिप्पणीहरू ‘प्रायोजित’ भएको दाबी गर्नुभयो ।
उहाँले पार्टी नेतृत्व पूर्ण संवाद र समझदारीका साथ अघि बढिरहेको बताउनु भयो । शिर्ष नेताहरू र पदाधिकारीहरू निरन्तर संवादमै रहेको उल्लेख गर्दै उहाँले कुनैपनि विषयमा बुझाइको भिन्नता भए छलफलकै माध्यमबाट एकरूपता ल्याइने स्पष्ट पार्नुभयो ।
नेता विश्वकर्माकाअनुसार तीन दिनसम्म सञ्चालन भएको स्थायी कमिटीको बैठकले विधानले तोकेको सीमाभित्र रहेर केन्द्रिय कमिटीमा १२ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।
जसमा समावेशी सन्तुलन कायम गर्दै ६ जना महिला र ६ जना पुरुष नेताहरूलाई केन्द्रिय सदस्य बनाइएको छ । त्यसैगरी अन्य दल परित्याग गरी नेकपा (एमाले) मा समाहित भएका नेता धर्मनाथप्रसाद साहलाई पनि केन्द्रिय कमिटीमा जोड्ने औपचारिक निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी कार्ययोजनामाथि गहन विमर्श भएको छ । नेता विश्वकर्माले वडा अधिवेशन, पालिका अधिवेशन तथा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने पूर्वतयारीका कार्यसूचीहरूमाथि सौहार्दपूर्ण छलफल गरी आवश्यक निष्कर्ष निकालिएको बताउनु भयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत गरिएका सांगठनिक प्रस्तावहरूमाथि विमर्श गरी सर्वसम्मतिले निर्णय लिइएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ । आजको बैठकबाट केन्द्रिय कमिटीमा मनोनयन गर्नुपर्ने ६ जना महिला र ६ जना पुरुष गरी १२ जना सदस्यको मनोनयन सर्वसम्मतिले निर्णय गरेका छौँ । उहाँहरूको नाम प्रवक्ताले सार्वजनिक गरिसक्नुभएको छ । अर्को पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नुभएका धर्मनाथप्रसाद साह पनि केन्द्रिय कमिटीको बैठकमा जोडिनुभएको छ । बैठकमा वडा अधिवेशन, राष्ट्रिय कार्यकर्ता भेला र पालिका अधिवेशनलगायतका विषयमा छलफल भएको छ । बाँकी विषयमा छलफल गर्न पार्टी अध्यक्षले उपयुक्त समयमा पुनः बैठक बोलाउनुहुनेछ । हामी समझदारी र सर्वसम्मतिका आधारमा निर्णय गर्दै अघि बढ्नेछौँ । पदाधिकारी र स्थायी कमिटीका नेताहरू विभिन्न विषयमा निरन्तर सम्पर्क र संवादमा हुनुहुन्छ। नेतृत्वबीच छलफल र विमर्शबाटै निर्णयहरू अघि बढ्ने हुन् । कतै बुझाइमा एकरूपता नभए पनि संवादबाटै त्यसलाई स्पष्ट पार्न सकिन्छ । त्यसैले नेकपा एमालेको नेतृत्वबीच मतभेद रहेको भन्ने भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु । यस्ता विषयलाई प्रायोजित रूपमा अघि सारिएको हो कि भन्ने मेरो बुझाइ छ ।’
स्थायी कमिटीको जारी बैठक तत्कालका लागि सम्पन्न भएपनि पार्टीको आवश्यकता र उपयुक्त समय हेरेर अध्यक्षले छिट्टै अर्को बैठक आह्वान गर्ने विश्वकर्माले बताउनु भयो ।
सोही बैठकबाट बाँकी रहेका सांगठनिक कार्यसूची तथा जिम्मेवारी बाँडफाँटका विषयहरूलाई टुंगो लगाइने उहाँले स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल








