२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथमा मोनोरेल सञ्चालन गर्न सिआरसिसीले बुझायो अध्ययन प्रतिवेदन



अ+ अ-

चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि काठमाडौँ र ललितपुर महानगरपालिकालाई चाइनाको चाइना रेल्वे २५औँ ब्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसिसी) कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको छ ।

कार्यक्रममा काठमाडौँका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुरका प्रमुख चिरीबाबु महर्जनलाई कम्पनीका इन्टरनेशनल म्यानेजर झावो सिवावोले बुझाएका हुन् ।

प्रतिवेदन बुझेपछि काठमाडौँका प्रमुख शाक्यले आफ्नै कार्यकालमा काठमाडौँवासीले मोनोरेल चढ्ने सपना पूरा हुने बताए । प्रमुख शाक्यले निर्वाचनका बेला घोषणा गरेको ‘एक सय दिनका एक सय काम’ मा काठमाडौँमा मोनोरेल निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेका थिए ।

गत जेठ ११ गते ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने गरी चाइनाको सिआरसीसी कम्पनीले काठमाडौँ र ललितपुर महानगरपालिकासँग काठमाडौँको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो ।

प्रमुख शाक्यले यो प्रतिवेदनको दुवै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्ने भन्दै प्रस्ताव उचित भएमा केन्द्र र प्रदेश सरकारसँग पनि छलफल गरेर काम अघि बढाइने बताए ।

‘हामीले मोनोरेल चढेर बिदा हुन्छौँ भनेका छौँ’, उनले भने, ‘तपाईंहरुले एकै चरणमा काम गर्न नसक्ने अवस्था आयो भने बरु दुई-तीन चरणमा भए पनि काम गर्न सक्ने सम्भावना हुन्छ । हामी छिमेकी नगरपालिकासँग पनि यो विषयमा छलफल गर्छौं ।’

चक्रपथमा मोनोरेल निर्माणका लागि करीब रु एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन उल्लेख गरिएको छ । ललितपुर महानगरका प्रमुख महर्जनले मोनोरेल सञ्चालन गरेर जनताको सपना पूरा गर्ने इच्छा रहेको बताए ।

प्रतिवेदनमा कम्पनीले सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने उल्लेख गर्दै मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको बताइएको छ ।

कम्पनीका इन्टरनेशनल म्यानेजर झावो सिवावोले आफूहरु चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको भन्दै जतिसक्दो छिटो निर्णय दिए आफूहरुले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) शुरु गर्ने पनि जानकारी दिए । सिआरसिसीले पनि पहिलो चरणमा कोटेश्वरलेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ । सिआरसिसीले काम शुरु गरेको तीन वर्ष्भित्रमा सम्पन्न गर्ने पनि जानकारी दिएको छ ।

कूल २७ दशमलव पाँच किलोमिटरको चक्रपथमा सो कम्पनीले करीब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।