ललितपुर। गोदावरी नगरपालिका–१४, बाँडेगाउँस्थित मामाघर अनाथ असहाय बालबालिका संरक्षण समाज (मामाघर आश्रम) को आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक लेखापरीक्षणका क्रममा आश्रमका अध्यक्ष बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्षमा विभिन्न शीर्षकबाट कुल ९१ लाख ९७ हजार ७५१ रुपैयाँ आम्दानी भएको जानकारी दिए। उनका अनुसार सो अवधिमा ९१ लाख ५५ हजार ४१० रुपैयाँ खर्च भएको छ भने ४२ हजार ३४१ रुपैयाँ बचत रहेको छ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका महाराजजीले संस्थाको उद्देश्य, परिचय, कार्यविधि, उपलब्धि तथा चुनौतीबारे जानकारी गराउँदै आश्रमले अवलम्बन गर्दै आएका नीति–नियमका विषयमा प्रकाश पारे। उनले हाल आश्रमले ७० जना बालबालिकाको संरक्षण, संवर्द्धन र उज्ज्वल भविष्य निर्माणका लागि काम गरिरहेको बताए।
बालबालिकालाई सरकारी नीति–नियमअनुसार पारिवारिक वातावरणमा हुर्काउँदै शिक्षा, संस्कार र जीवनोपयोगी सीप प्रदान गर्ने प्रयास भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा गोदावरी नगरपालिका महिला विकास अधिकृत सीता गुरुङले आश्रमले बालबालिकाको संरक्षण, शिक्षा र भविष्य निर्माणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरिन्। गोदावरी नगरपालिका पूर्ण बालमैत्री घोषणा भइसकेको उल्लेख गर्दै उनले मामाघर आश्रमले देशका लागि योग्य, सक्षम र असल नागरिक तयार पार्न गरिरहेको प्रयास प्रशंसनीय रहेको बताइन्।
त्यसैगरी, गोदावरी नगरपालिका–१४ स्थित श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीले आश्रममा संरक्षित अधिकांश बालबालिका आफ्नो विद्यालयमा अध्ययनरत रहेको जानकारी दिए। उनका अनुसार आश्रमका बालबालिका पढाइमा अग्रस्थानमा रहनुका साथै संस्कार, गायन, नृत्य, अनुशासन तथा अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट छन्।
कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, वडा प्रतिनिधि, आजीवन सदस्य, शिक्षक, प्राध्यापक, पत्रकार, बुद्धिजीवी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिकालाई आश्रय, शिक्षा, संस्कार र पारिवारिक वातावरण प्रदान गर्दै आएको मामाघर आश्रमले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउँदै आएको छ। सामाजिक लेखापरीक्षणले संस्थाको आर्थिक पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।








