काठमाडौँ। नेपालको रग्बी खेललाई ग्रासरुटदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले विभिन्न कार्यक्रमहरू तय गरेको छ ।
हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले ‘फ्रम हिमालयज टु द वल्र्ड’ भन्ने नारा राख्दै विभिन्न महत्वकांक्षी लक्ष्यहरू राखेको हो । पहिलो चरणमा एभरेस्ट रग्बी लेगेसी नेशनल अन्तरक्रियाबाट कार्यक्रम शुरुवात गर्दै आयोजकले देशका विभिन्न प्रदेश रग्बी खेल विकासका योजना पनि अघि सारेको छ ।
शुक्रवार एक अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरूले नेपालको खेल विकासमा विद्यालय तहदेखि नै खेलहरू अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । साथै देशका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नीति क्षेत्र, शैक्षिक क्षेत्रका साथै पर्यटनसँग जोड्न आवश्यक रहेको वक्ताहरूको जोड थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले पछिल्ला समय संघले चरणवद्ध आफ्ना गतिविधि गरिरहेको समयमा नयाँ ढंगबाट यस्ता कार्यक्रम आउनु सकारात्मक पक्ष रहेको बताए । निजी क्षेत्र पनि रग्बी खेलको विकास अगाडि आउनुले रग्बी खेलको भविष्य सही बाटोमा जाने उनको विश्वास छ ।
राखेपका पूर्वसदस्यसचिव टंकलाल घिसिङले शाहसिक खेलमा रग्बी खेलको लेगेसी बढ्नु सकारात्मक रहेको बताए । तथापि उद्देश्य सही भयो भने मात्र यो कार्यक्रमले सार्थकता पाउने उनको विश्वास छ ।
त्यसैले आफ्ना योजनाहरूमा सही तरिकाबाट अगाडि बढाउँदै पर्यटनसँग जोड्नुले अन्तर्राष्ट्रिय जगतको पनि नजर नेपाली खेलकुदमा पर्ने उनले आशा व्यक्त गरे । सगरमाथाको आधार शिविरमा निरन्तर ३६ घण्टाभन्दा बढी समय खेल खेलाउने तयारी गर्नु सहज नरहेको उनले बताए ।
वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले रग्बी खेलमार्पmत देशको पर्यटन क्षेत्रलाई जोड्नु सकारात्मक रहेको र यसका लागि सरकारले पनि सहयोग गर्ने बताए । आयोजकले योजनाहरू महत्वाकांक्षी रहे पनि उद्देश्य सही हुँदा सफल हुने उनको विश्वास छ ।
नेपालको खेलकुदलाई अगाडि बढाउन सरकारले लगानी बढाउन आवश्यक रहेको उनले धारणा राखे । साथै सरकारसँगै सबै क्षेत्रले खेलकुदप्रतिको धारणा सकारात्मक राख्नुपर्ने मन्त्री पौडेलले बताए । शैक्षिक संस्था आफै खेलकुदमा चासो राखेर अघि बढ्यो भने खेल विकासमा फड्को मार्ने मन्त्री पौडेलले बताए । –न्युज एजेन्सी नेपाल








