विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रतिवेदन पेस भएको छ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले प्रतिवेदन सभामा पेस गर्नुभएको हो। प्रतिवेदन पेस भएपछि सभामुख अम्बरबहादुर विष्टले त्यसलाई सुशासन तथा योजना समितिमा पठाइने जानकारी दिनुभयो।
बैठकमा मन्त्री शेर्पाले सवारी चालक अनुमतिपत्रका लागि चिकित्सा मापदण्डअनुसार काम भइरहेको जानकारी दिनुभयो।
उहाँले प्रदेशसभाको शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले उपलब्ध गराउने रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पठाइसकिएको बताउनुभयो।
मन्त्री शेर्पाले प्रदेशका विपद् जोखिम क्षेत्रको नक्साङ्कन भइसकेको र त्यसलाई हरेक वर्ष अद्यावधिक गरिने जानकारी दिनुभयो। उहाँले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कानुनअनुसार कारबाही गरिने पनि स्पष्ट पार्नुभयो।
आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेटमा देखिएको असन्तुलनसम्बन्धी असन्तुष्टि छिट्टै सम्बोधन गरिने बताउनुभयो। उहाँले प्रत्येक निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री लिङ्थेपले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा (एमाले)को पछिल्लो गठबन्धनबाट बनेको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरिसकेको र उक्त कार्यक्रम प्रदेश सरकारले ग्रहण गरी कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत खर्च ७२ दशमलव ७३ प्रतिशत भएको छ। उहाँले अन्य प्रदेशको तुलनामा यो खर्च सकारात्मक रहेको दाबी गर्नुभयो।
यसअघि प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य गीतादेवी रेग्मीले चाडपर्व नजिकिँदै गर्दा बजारमा ग्यासको कृत्रिम अभाव देखिएको, दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको तथा आवश्यक वस्तुको अभाव सिर्जना हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।
प्रदेशसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्नेछ।








