३ पुष २०८२, बिहीबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासमितिमा नयाँ ड्राइभ !



अ+ अ-

काठमाडौँ — नेपाली कांग्रेस बहुप्रतिक्षित महासमिति बैठकमा छ । गत वर्ष भएका तीनवटै खासगरी प्रदेश र प्रतिनिधिसभाको चुनावमा कम्युनिस्ट गठबन्धनले दुई तिहाइनिकट विजय पायो । केही गाउँ/नगरपालिकाबाहेक राज्य संरचनाबाट कांग्रेस बाहिरिएको छ । हैसियत खुम्चिएको छ, नेतृत्व विवादमा छ । नराम्रो पराजय भोगेपछि कांग्रेसको भविष्यबारे प्रश्न उठ्न थालेका थिए । दोस्रोपटक सत्ता सम्हालेको वर्ष दिन पुग्दानपुग्दै प्रधानमन्त्री केपी ओलीको लोकप्रियतामा व्यापक ह्रास आएको छ, उनको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ । स्वाभाविक रूपमा यो बैठकले पार्टीभित्र र बाहिर धेरैको ध्यान तानेको छ । यस अर्थमा कांग्रेसको महासमिति बैठकले अनुकूल समय संयोग पाएको छ । मानिसमा अपेक्षा बढेको छ । जिज्ञासा छ, यसले कांग्रेसलाई कता डोर्‍याउला ? के अर्को चुनावसम्म पुग्दा यसले मतदाताको आकर्षण आफूतिर फर्काउन सक्ला ?

पुस ३ सम्म चल्ने यो बैठकको मुख्य एजेन्डा विधान संशोधन हो । अरू त प्रस्ताव हुन् । विधानले संगठन र नेतृत्वको स्वरूपबारे केही भन्न सक्ने ठाउँ दिन्छ । त्यो हेर्न महाधिवेशन पर्खिनुपर्छ । राजनीतिक, आर्थिक वा जे नाम दिए पनि यी प्रस्ताव वर्तमान अवस्थाप्रति टिप्पणी वा वक्तव्य मात्र हुन् । महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमाथि केही टीकाटिप्पणी होलान् ।

बैठकभित्रको माहोल कस्तो बन्छ, प्रतिनिधि सदस्यहरू कसरी प्रस्तुत हुन्छ, त्यसले अब हुने महाधिवेसनबाट कसको नेतृत्व हावी हुने केही संकेत दिनेछ । महाधिवेसनसम्म कांग्रेस यसैमा अलमलिने प्राय: निश्चित छ । महाधिवेशन जति ढिलो हुन्छ, प्रमुख प्रतिपक्षीका रूपमा यसको संसदीय भूमिका पनि प्रभावित हुनेछ ।

बैठकपछि मानिसमा निरासा आउन सक्छ, महासमितिले केही गरेन भनेर । हाम्रो राजनीतिमा प्रणाली र प्रक्रियाभन्दा सडकको व्यवहार बढी हावी छ । सबै कुराको छिनोफानो त्यहींबाट तत्कालै खोज्छौं हामी । सडकमा शक्तिप्रदर्शन र छिटोछिटो सत्ता/सरकार परिवर्तनको स्वाद बसेको छ । कांग्रेस महासमिति बैठकमा सरकारको आलोचना होला तर यसले सरकारलाई विस्थापित गर्ने होइन, न प्रधानमन्त्री/मन्त्री परिवर्तन नै ।

कम्युनिस्ट अधिनायकवादको तम्तयारी नारामा सरकारको विरोध गर्नुको मात्र कुनै तुक छैन । कांग्रेसको आन्तरिक जीवन खास गरी संगठन र जनतासँगको सम्बन्ध/संवादलाई नयाँ दिशा दिन सक्यो भने महासमितिको बैठक सफल भएको ठहरिनेछ ।

मैले यो बैठकबाट धेरै ठूलो अपेक्षा गरेको छैन । गत वर्ष नराम्रोसँग चुनावी हार बेहोरेपछि सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमताविरुद्ध पार्टीमा प्रश्न उठ्यो, विशेष महाधिवेशनको माग आयो । चुनाव हारेपछि नेतृत्वले त्यसको नैतिक जिम्मेवारी लिने परम्परा कांग्रेसले बसाल्न सकेन । सबैले सबैलाई हिलोफ्याँक्ने काम भयो । विकल्पका रूपमा यो महासमितिको बैठक बस्न लागेको हो ।

कांग्रेसको विधानअनुसार महासमितिको बैठक बस्न आवश्यक पनि थियो । बहाना अनुकूल मिल्यो । तर १४ औं महाधिवेशनमा हुने नयाँ नेतृत्व चयनका सन्दर्भमा यो महत्त्वपूर्ण शृङ्खला साबित हुन सक्नेछ ।

महासमिति बैठकको कुनै राजनीतिक एजेन्डा म देख्दिनँ ।

मुलुकको संविधानले राज्यको नयाँ संरचना लागू गरेको सन्दर्भमा कांग्रेसले पनि आफ्नो संगठनलाई त्यसअनुसार ढाल्नु आवश्यक थियो । ढिलो भइरहेथ्यो । विधानले त्यसअनुरूपको संगठन संरचना प्रस्ताव गरेको छ तर प्रस्तावना भद्दा लाग्यो, संस्थापक नेता बीपी कोइरालादेखि संसदीय चुनावमा लज्जास्पद हारको ताज भिरेका अहिलेका सभापति शेरबहादुर देउवासम्मको जयगानले भरिएको छ ।

यसले पञ्चायती संविधानमा जस्तै राजाको प्रशस्तीको झल्को दिन्छ । यही प्रस्तावना अनुमोदन हुने हो भने कांग्रेसको कोठाभित्र पदाधिकारी बस्ने कुर्सीहरू मनग्गे थपिएलान् तर पार्टीको राजनीतिक क्यानभास अरू साँघुरो बन्नेछ ।

संगठन संरचनामा संख्यात्मक वृद्धिको सोचले व्यापकता पाएको छ । लामो समयसम्म सत्ताबाहिर बस्नुपर्‍यो भने महाधिवेशन र महासमितिको बैठक बस्नै हम्मे पर्नेछ । सबैलाई भाग पुर्‍याउने सोचले संगठन बन्दैन । अबको संरचना केन्द्रीकृत होइन, प्रदेश केन्द्रित बनाउनु आवश्यक छ । प्रदेश नेतृत्वलाई प्राथमिकता दिनु जरुरी छ ।

यसले केन्द्रमा पदाधिकारीको संख्या वृद्धिको विवादलाई कम बनाउँछ, जुन अहिले केन्द्रीय समितिमा अड्किएको छ । केन्द्रीय समितिमा सहमति हुन नसके महासमितिमा पनि यो विवाद पुग्न सक्छ । नेताहरू कुरा मिले यी सबै अनुमोदन हुने निश्चित छ ।

विधान संशोधनका लागि गठित समितिले तयार गरेको प्रस्तावित विधानको मस्यौदाले साधारण र क्रियाशील सदस्यको प्रकार अन्त्य गरी एकै प्रकारको सदस्यता प्रस्ताव गरेको छ । मासबेस्ड पार्टी हुन यो राम्रो आधार हो तर मठाधीश शैलीको नियन्त्रणबाट सदस्यता वितरण र परिचालन कति स्वतन्त्र हुन्छ, त्यो हेर्नैपर्छ ।

त्यसो भए के त, महासमितिको बैठक विधानको औपचारिकता पूरा गर्न आयोजित अनुमोदन भेला मात्र हो ? के यसले कांग्रेसलाई नयाँ ड्राइभ दिन सक्तैन ? के यो बैठकमा कांग्रेसको चुनावी हारबारे अलि गम्भीर बहस हुन सक्ला ? यो विषयले विधिवत् प्रवेश पाउने कुनै प्रस्ताव छ ? हिन्दु राज्यको एजेन्डाले के प्रवेश पाउला ? यसले कांग्रेसको नीति, नेतृत्व र कार्यक्रममा के नयाँ कुरा थप्छ ? बैठकमा यी सबै विषयमाथि बहस, चर्चापरिचर्चा पक्कै हुनेछ ।

चाहेआफ्ना कमीकमजोरीको गम्भीर समीक्षा पनि गर्न सक्छ तर विधान संशोधनबाहेक अरू कुराको निक्र्योल र निर्णय हुने सम्भावना छैन । त्यस प्रयोजनका लागि कार्यसूची बनेको देखिन्न । हुन त चाहे महासमिति आफैंले त्यसको पहल गरेर कुनै प्रस्ताव गर्न र निर्णयमा पुग्न सक्छ । सभापतिलगायत कार्यसमितिलाई त्यसअनुसार निर्देश गर्न सक्छ, एउटा नयाँ ड्राइभ दिन सक्छ तर त्यस्तो ड्राइभ दिने नेता देखापरिरहेको छैन । देखिन खोज्नेहरू पनि जोखिम मोल्न तयार छैनन् ।

केही अपवादबाहेक कांग्रेस महासमितिका बैठकहरू औपचारिकतामा सीमित भएका छन् । महासमिति एउटा बृहत् आकारको भेला हो । त्यसको व्यवस्थापन गर्नु नै एउटा ठूलो काम भएको मानिन्छ । केन्द्रीय समितिमै पनि कुनै विषयमा गम्भीर बहस भएको पाइन्न, संस्थापन र इतर पक्ष भनेर त्यसैको रसाकस्सीमा बैठकका विषयहरू सीमित हुने गरेका छन् । यो बैठकमा त्यसैको पुनरावृत्ति भए आश्चर्य मान्नु पर्दैन ।

प्रदेश–२ बाहेक संघीय र प्रदेशको संसद्मा एउटै दल नेकपाको दुई तिहाइ निकट बहुमत छ । अर्थात् यो संसद्को कार्यकालभर कांग्रेसको भूमिका विपक्षी बेन्चको हो । संसदीय प्रणालीमा दलले बहुमत गुमाए पनि विपक्षी दलको भूमिका पाउँछ, जुन यसको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो ।

प्रधानमन्त्रीपछिको आकर्षक व्यक्ति विपक्षी दलको नेता हो । ऊ रोस्टममा उभिएपछि सम्पूर्ण सदनको ध्यान केन्द्रित हुन्छ । बेलायतको संसद्मा अहिले पनि देखिन्छ, प्रधानमन्त्रीले बोली नसक्दै विपक्षी दलको नेताले फ्लोर लिन्छन् । विपक्षी दलको नेता हुनु सरकारलाई पाइलापाइलामा नीतिगत चुनौती दिने जिम्मेवारी सम्हाल्नु हो ।

विपक्षमा बस्नु हारेको मानसिकता र लाचारी प्रदर्शन होइन । पुन: जनताको मत आफूतिर फर्काएर अर्को चुनाव जित्न तयारीमा लाग्ने पर्याप्त समय र अवसर पनि हो यो । यस सन्दर्भमा कांग्रेसका लागि दुईवटा कुरा महत्त्वपूर्ण छन् । पहिलो, विपक्षी दलका रूपमा संसद्मा प्रभावकारी भूमिका र दोस्रो, जनतासँग निरन्तर संवाद । यो नेतृत्वको काम हो तर नेतृत्व न संसद्मा देखिन्छ, न जनतासँग संवादमा ।

पदाधिकारीका हैसियतले कुनै बैठकमा सहभागी हुनु र निर्णयमा हस्ताक्षर गर्नु मात्रै नेताको काम होइन ।

अहिले विपक्षी दलका लागि बिनामिहिनेत एवं पैरवी संसद् र बाहिर यथेष्ट मुद्दा छन् । निर्मला बलात्कार र हत्याको विषय सडकमा तातै छ । प्रधानमन्त्री ओलीका गैरजिम्मेवार बोलीको अविरल वर्षा छ ।

संसद्मा नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी अनियमितता चर्चित छ । बुढीगण्डकीलगायत प्रक्रिया पालना नगरी ठेक्कापट्टा वितरण, खारेजी र अदलबदलकाघटना छन् तर विपक्षी दलका नेता कांग्रेस सभापति मौन छन् । संसद्को रोस्ट्रममा उभिएर उनले बोलेको कहिल्यै सुन्न पाइन्न, न जनतासँग जीवन्त संवाद गरेको नै । बजारमा एउटा हल्ला छ, भागशान्ति मिलिजुली खाने चलन बसेको राजनीतिमा कसले कसका विरुद्ध बोल्ने ? छिटा आफ्नै मुखतिर फर्किन्छ ।

कांग्रेसमा नयाँ जीवन र ड्राइभका लागि नेतृत्व परिवर्तन अनिवार्य छ । सभापति देउवाको नेतृत्वमा यो ड्राइभ सम्भव छैन । उनको चाहना र मिहिनेतमा शंका गरेको होइन । हो, चुनाव एउटा कारणले मात्र हारिँदैन, न नेतृत्वमा बस्ने व्यक्ति विशेष मात्र यसका लागि जिम्मेवार हुन्छ । कुनै न कुनै रूपमा सबै जिम्मेवार हुन्छन् ।

यसो भन्दैमा मुख्य नेतृत्व अर्थात् सभापति नैतिक दायित्वबाट उम्किन मिल्दैन । यो राजनीतिक संस्कारको कुरा हो, प्रतिष्ठाको विषय होइन । पटक पटक प्रधानमन्त्री र पार्टी सभापति भइसकेको व्यक्तिले सम्मानपूर्वक विश्राम लिने समय हो यो । अर्को पटक जिताउँछु अनि मात्र, भन्नु व्यर्थ छ । त्यो अभिभारा नयाँ नेतृत्वको काँधमा बिसाउनुपर्छ, विश्वास गर्नुपर्छ ।

महासमितिको यो बैठकले पार्टीलाई त्यतातिर निर्देश गर्न सक्नुपर्छ । कांग्रेसमा नेतृत्वको जिम्मेवारी र मर्यादाको नयाँ परम्परा बसाल्न महासमिति सफल होस् । शुभकामना ।प्रकाशित : मंसिर २८, २०७५ ०७:५६ 
(साभार कान्तिपुर दैनिक)