९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

के एआईले सबै प्रकारका मिडियामाथि कब्जा गर्दैछ ?



अ+ अ-

सान फ्रान्सिस्कोः कृत्रिम बौद्धिकता अर्थात् एआई अहिले सिर्जनात्मक सामग्रीको उत्पादन कारखाना बन्दैछ, र यसको प्रयोगले अहिले विश्वकै ध्यान खिच्दैछ । एआई सिर्जित सामग्रीहरू विज्ञापन र उपन्यास लेखनदेखि चलचित्र र पत्रकारितासम्ममा गहिरो प्रभाव पार्दैछ ।

यसको परिणाम भयावह, अद्भुत, निराशाजनक र उत्साहजनक समेतका मिश्रित किसिमको छ। यसले सिर्जनात्मक विनाश मात्र होइन, दैनन्दिन घटनाक्रमलाइ पनि ठूलै क्षति पुर्याउने सम्भावना बढाएको छ ।

मैले आफ्नो वयस्क जीवनको ठूलो हिस्सा अनुसन्धान, पत्रकारिता र वृत्तचित्र निर्माणमा बिताएको छु, साथै धेरै पलायनवादी उपन्यास र चलचित्रहरू पढे, हेरेको छु ।

त्यसैले म ती सर्जकहरूप्रति गहिरो सहानुभूति राख्छु। पछिल्ला तीन वर्षदेखि म एआईमा लगानीकर्ता र भेन्चर क्यापिटलिस्टको रूपमा संलग्न छु, र यही अनुभवले प्रकाशन, पत्रकारिता, संगीत, विज्ञापन र हलिउडमा सम्बद्ध सबैलाई दिन चाहेको सन्देश प्रष्ट छः तपाईंले यो प्रविधिको सम्भावनालाई बेवास्ता गर्नुभयो भने त्यो तपाईंको लागि भविष्यमा निकै घातक हुन सक्छ।

सर्वत्र प्रभाव

पहिलो, हलिउडको सम्भावनाबारे विचार गरौँ। इन्टरनेट, ल्यापटप, ट्याब्लेट र मोबाइल फोनले सम्भव बनाएका नयाँ मिडिया वितरणका स्वरूपहरू (जस्तै स्ट्रिमिङ सेवा) का कारण चलचित्र र टेलिभिजन उद्योग वर्षौंदेखि निरन्तर सङ्कुचित हुँदै आएका छन्। केबल टिभी र डीभीडीको पतन हुनुमा भिडियो स्ट्रिमिङ, प्रयोगकर्ताद्वारा सिर्जित सामग्रीको उदय, सस्तो क्यामेरा र सफ्टवेयरमार्फत सिर्जनाको लोकतान्त्रिकीकरण, र त्यसबाट युट्युब, फेसबुक र टिकटकजस्ता प्लेटफर्मसँग आँखा तान्ने प्रतिस्पर्धा बढ्नुजस्ता कारणहरू हुन् भन्दा अत्युक्ति हुँदैन ।

तर यो सङ्कुचनको दशकभरि पनि, भिडियो उत्पादनका आधारभूत प्रविधिहरू खासै बद्लिएका थिएनन्। त्यहाँ वास्तविक मानिस र वस्तुहरूलाई वास्तविक क्यामेराले खिचिन्थ्यो।

अब भने, यी सबै वास्तविक संसारका अवयवहरू चाँडै अप्रचलित हुनेछन्, र तिनको ठाउँ एआईले प्रतिस्थापन गर्ने खतरा बढ्दो छ । यो नयाँ संसारका अग्रदूतहरू निःसन्देह स्टार्टअपहरू हुनेछन्, जसमध्ये केही त एक वर्षभन्दा पनि कमका छन्। पुराना स्टुडियो, निर्माता वा वितरकहरू एआई फिल्म निर्माण वा वितरणको अग्रपङ्क्तिमा छैनन्। यस्तो पहिलो स्टार्टअप, रनवे, आठ वर्षअघि स्थापना भएको थियो, र त्यसपछि आर्काना, फ्लिक, कोयाल, जिङ्रोल लगायत अन्यहरू पनि आएका छन्।

पछिल्ला दिनहरूमा मैले यी सबै कम्पनीका संस्थापक र वरिष्ठ कार्यकारीसँग नजिकबाट कुरा गरेको छु र सबैलाई एउटै प्रश्न सोधेको छुः प्राविधिक ज्ञान नभएको कुनै व्यक्तिले कति समयभित्र सामान्य हलिउड उत्पादनजत्तिकै गुणस्तरका पात्र र उत्पादन मूल्यसहितको पूर्ण लम्बाइको एआई चलचित्र बनाउन सक्छ? तिनीहरूको लगभग एकैखाले उत्तर छ— एकदेखि तीन वर्ष, औसतमा करिब दुई वर्ष। सरल छोटा चलचित्र र विज्ञापनका लागि भने हामी अहिले नै त्यहाँ पुगेका छौँ।

उदाहरण, पाँच वर्षअघि सन् २०२० मा स्थापना भएको युक्रेनी स्टार्टअप HOLYWATER ले जो–कोहीलाई एआई प्रयोग गरेर फोनका लागि विशेष “भर्टिकल” छोटा चलचित्र बनाउन सक्षम बनाइरहेको छ । यसले ठूलो सङ्ख्यामा प्लट कथाहरू सिर्जना गर्छ, जसको लोकप्रियताले चलचित्र उत्पादनलाई मार्गदर्शन गर्छ। HOLYWATER को आम्दानी पहिले नै १०० मिलियन डलर नाघिसकेको छ र हरेक वर्ष दोब्बरभन्दा बढी दरले बढ्दैछ। त्यस्तै, सन् २०२४ मा स्थापना भएको Wide Worlds ले फ्यानहरूलाई आफ्ना मनपर्ने फ्यान–फिक्सनल ब्रह्माण्डबाट सामग्री लिएर छोटा चलचित्र बनाउन सक्षम बनाउँछ।

६०० अर्ब डलरको विश्वको डिजिटल विज्ञापन उद्योग अब अर्को निशाना हो। एआई विज्ञापनको अग्रणी स्टार्टअप Higgsfield २०२३ मै स्थापना भएको हो, तर यसको व्यवसाय विस्फोटक रूपमा बढेको छ—आम्दानी हरेक महिना दोब्बर हुँदैछ र यो वर्ष १ अर्ब डलर नाघ्ने दिशामा छ।

हो, लामा र जटिल शृङ्खला तथा चलचित्रका लागि सरल प्रविधि अझै त्यहाँ पुगेको छैन। तर यो अत्यन्त तीव्र गतिमा अघि बढिरहेको छ। एक दशकभित्र, मानव अभिनेता वा कलाकार ऐतिहासिक अवशेष बन्नेछन्, साथै सिनेमाटोग्राफर, स्टन्ट कलाकार, कला निर्देशक, पोशाक डिजाइनर, लाइन प्रोड्युसर र लोकेसन स्काउटहरू पनि विस्मृतिमा पुग्ने खतरा बढेको छ । केही स्टुडियोहरूले (लायन्सगेटको नाम अक्सर लिइन्छ) चुपचाप एआई प्रयोग गरिरहेका भए पनि, अधिकांश हलिउड यस आउँदै गरेको सुनामीको सामना गर्न लगभग केही नगरी बसेको छ। स्टुडियो, निर्माता, वितरक र एजेन्सीहरू एआईलाई केबल टिभी, CGI, डीभीडी र स्ट्रिमिङजस्तै अर्को एउटा प्राविधिक लहर मात्र ठानेर सपना देखिरहेका छन् (वा देखेजस्तो गरिरहेका छन्)।

यसको विपरीत, अभिनेता, लेखक, कला निर्देशक र अन्य पेशागत समूहका युनियनहरू आतंकित छन्—र तिनीहरूले एआईको सबै प्रयोगको अन्धाधुन्ध विरोध गरेर प्रतिक्रिया दिएका छन्, जुन साँच्चै भन्नुपर्दा निरर्थक छ। तैपनि, तिनीहरू चिन्तित हुनु ठीक हो। प्रविधि यति छिटो गतिमा अगाडि बढिरहेको छ कि भौतिक भिडियो उत्पादनबाट एआईतर्फको संक्रमण सम्भवतः कठोर र छोटो हुनेछ, जसले हजारौँ करियर र कम्पनीहरूलाई रातारात नष्ट गर्नेछ। मैले पहिले नै आफ्ना साथीहरूलाई उद्योग छोड्दै गरेको देखेको छु।

हलिउड त केवल एउटा उदाहरण मात्र हो—सावधानीपूर्वक व्यवस्थापन नगरिएमा एआई क्रान्तिले विशाल सामाजिक पीडा ल्याउनेछ (र त्यस्तो व्यवस्थापन भइरहेको कुनै खास संकेत छैन)। यस्तै कुरा कथा लेखन, व्यावसायिक फोटोग्राफी, रेडियो, र सबैभन्दा बढी संगीत क्षेत्रमा पनि लागू हुन्छ, जहाँ उडियो, सुनो र मोजार्ट लगायतका तीव्र गतिमा बढिरहेका एआई स्टार्टअपहरूले गैर–संगीतकारहरूलाई पनि संगीत सिर्जना गर्न सक्षम बनाइरहेका छन्।

निस्सन्देह, उडियो र सुनोले ठूलो मात्रामा बौद्धिक सम्पत्ति चोरी गरेका थिए, मुद्दा खेपेका थिए, र हालै प्रमुख संगीत निर्माताहरूसँग सम्झौता गरेका छन्। तर पुराना संगीत कम्पनीहरूमध्ये कुनै पनि एआईको अग्रपङ्क्तिमा छैनन्—मुद्दा दायर गर्नुबाहेक।

 एआई क्रान्तिले के गर्दैछ ?

हो, एआई क्रान्तिले कला क्षेत्रलाइ धपक्क छोपेको छ, र पुराना (लेगेसी) उद्योगहरूमा हुने क्षति निकै भयावह हुँदैछ । तर भोलिको संसार कस्तो देखिनेछ भन्ने प्रश्न भने धेरै नै जटिल छ।

व्यक्तिगत रूपमा, एक पटकको र भविष्यको फिल्म निर्माताको हैसियतले, म एआई फिल्म निर्माणलाई लिएर उत्साहित छु। म कथाको रूपरेखा र पटकथा लेख्न, तिनलाई मेरो एआई “स्टुडियो” मा हाल्न, र त्यसपछि एआईसँगै घोट्दै–घोट्दै आफूले बनाउन चाहेको ठीक त्यही चलचित्र तयार पार्न सक्ने दिनको प्रतीक्षा गरिरहेको छु—जहाँ प्रत्येक पात्र, परिवेश, चाल, संवादको हरेक पंक्ति, र क्यामेरा कोण पूर्ण रूपमा सही हुनेछ। त्यसका लागि न त लगानीको भीख माग्नुपर्नेछ, न निर्माताकी प्रेमिकालाई काम दिनुपर्नेछ, न आत्ममुग्ध चलचित्र तारालाई खुसी पार्नुपर्नेछ, न सेटमा कसैले असली गोली हालेको बन्दुक प्रयोग गर्‍यो कि भन्ने डर नै हुनेछ।

तर यससँगै बौद्धिक सम्पत्ति र त्यसका सर्जकहरूलाई जोगाउन नयाँ कानुन, प्रणाली र संस्थाहरूको भूमिका अत्यन्त जरुरी छ। सबैभन्दा धेरै छलफल हुने विषय भनेको एआई मोडेलहरूलाई तालिम दिन प्रयोग गरिएका रचनाहरूका विगतका सर्जकहरूलाई क्षतिपूर्ति दिनुपर्ने आवश्यकता हो। अर्को त्यत्तिकै महत्त्वपूर्ण कुरा एआई सर्जक र एआईद्वारा सिर्जित कृतिहरूको संरक्षण पनि हो।

एआईद्वारा सिर्जित कला संरक्षणयोग्य हुँदैन वा हुनु हुँदैन भन्ने धारणा गलत हो। जब मानव कलाकारहरू—लेखक, फोटोग्राफर, चलचित्र निर्देशक—एआई प्रयोग गरेर नयाँ कृति सिर्जना गर्छन्, उनीहरूले परम्परागत औजार प्रयोग गर्ने कलाकारहरूले जस्तै संरक्षण पाउनुपर्छ।

वास्तवमा, म अपेक्षा गर्छु कि एआईले नयाँ विधा र अद्भुत प्रतिभाका कलाकारहरू जन्माउने वातावरण तयार गर्नेछ। मैले भन्न खोजेको के हो भन्ने झलकका लागि Runway AI Film Festival हेर्नुस्, विशेष गरी उत्कृष्ट पुरस्कार विजेता टोटल पिक्सेल स्पेस । यस्ता कृतिहरूले देखाउँछन् कि म किन कलात्मक सिर्जनामा एआई युगलाई स्वागत गर्छु, यद्यपि म यस क्रान्तिका ठूला नकारात्मक पक्षहरूलाई पनि स्वीकार गर्छु। धेरै असल मानिसहरू—सयौँ हजार, सम्भवतः लाखौँ—अचानक बेरोजगार हुनेछन्, धेरैजसो आफ्नै करियरको उत्तरार्धमा। साथै, एआईद्वारा बनाइएका थुप्रै निम्नस्तरीय सामग्री—शाब्दिक रूपमा हरेक वर्ष लाखौँ नयाँ उपन्यास, गीत र चलचित्र—बाढीझैँ आउनेछन्, जसले प्रतिभाशाली नयाँ कलाकारहरूलाई चम्किन झन् गाह्रो बनाउनेछ। अनि, अवश्य पनि, अझ धेरै एआई प्रेमिका र एआई अश्लील सामग्री हुनेछ, साथै पुनर्जीवित नाजीदेखि बाल यौन दुर्व्यवहारका चित्रणसम्मका जघन्य सिर्जनाहरू पनि देखिनेछन्।

भ्रमको जीवन

तर मलाई अझ डर लाग्ने कुरा भनेको गैर–कथात्मक संसारमा—समाचार, सूचना स्रोत र सन्दर्भ सेवाहरूमा—के हुँदैछ भन्ने हो। यहाँ हामी तथ्य र बनावटबीचको सिमाना धमिलो हुँदै, छुट्याउनै नसकिने अवस्थासम्म पुगेको देखिरहेका छौँ। कला क्षेत्रमा एआईको युगले मलाई जति उत्साहित बनाउँछ, सत्य र वास्तविकताको क्षेत्रमा भने सन्तुलन जोखिममा छ । खुसी हुने धेरै कुरा भए पनि, एआईले के ल्याउला भन्ने कुराले मलाइ सोचमग्न बनाएको छ ।

पत्रकारिता पनि, हलिउडजस्तै, पहिले नै सङ्कुचित भइसकेको छ। इन्टरनेटले दैनिक पत्रिका, साप्ताहिक पत्रिका, रेडियो र टेलिभिजन समाचारलाई एउटै बजारमा ल्याइसकेको छ । यसले पत्रिकाहरू निर्भर रहेको विज्ञापन आम्दानी ध्वस्त पार्‍यो र हजारौँ नयाँ प्रतिस्पर्धीहरू जन्मायो। पहिले अधिकांश मानिसले भर गरेका समाचार स्रोतहरू—Time र Newsweek जस्ता पत्रिकाहरू, र नेटवर्क टेलिभिजन समाचार—सामाजिक सञ्जाल, युट्युब र एग्रिगेटरहरूले कब्जा गर्दा तहसनहस भएका छन् । तिनले दिएको “सार” प्रायः प्रतिलिपि अधिकार (कपीराइट) उल्लङ्घनको नजिक हुन्थ्यो—जब ती सत्य हुन्थे। जताततै झूट फैलिन थालेपछि त आमजनताले उपभोग गर्ने समाचारको गुणस्तर तीव्र रूपमा खस्कियो, र यस्तो निरन्तर भइरहेको छ ।

निस्सन्देह, धेरैपटक अवसानको नजिक पुगेपछि, थोरै संख्यामा उच्च गुणस्तरका अंग्रेजी–भाषाका समाचार संस्थाहरू अझ बलिया बनेर, पहिलेभन्दा ठूलो विश्वव्यापी पाठकवर्ग सहित उदाए: New York Times, Financial Times, Guardian, Bloomberg News, Economist, Politico, तथा Reuters र AP समाचार एजेन्सीहरू। तर यी माध्यमहरू पनि जनसङ्ख्याको सानो संख्यासम्म मात्र पुग्छन्। यिनको उत्पादन खर्चिलो छ, र तिनको वित्तीय अवस्था पनि नाजुक छ। एआईले उच्च गुणस्तरको पत्रकारिताका बाँकी संस्थाहरूलाई मात्र होइन, अझ आधारभूत रूपमा, सत्य सूचना पुर्‍याउने र तर्कसंगत निर्णय गर्न सक्षम सूचित जनतालाई कायम राख्ने क्षमतामाथि नै खतरा पुर्‍याइरहेको छ।

सबैभन्दा बढी चर्चा हुने समस्या भनेको एआई डिपफेक (कृत्रिम बुद्धिमत्ता र डिप लर्निङ प्रयोग गरेर बनाइने नक्कली तर निकै वास्तविक देखिने भिडियो, अडियो वा तस्बिर) हो । युट्युब, फेसबुक, स्न्यापच्याट, ट्वीटर (एक्स) र टिकटकजस्ता प्लेटफर्महरूमाथि सत्यता वा शुद्धतासम्बन्धी खासै दायित्व नहुने भएकाले, यी वास्तवमै ठूलो समस्या हुन्। कन्स्पिरेन्सी सिद्धान्तकार एलेक्स जोन्सले भनका छन्, हामीलाई लाग्छ हामी यी च्यानलमा साँच्चिकै एलेक्स जोन्सलाई सुनिरहेका छौँ, तर यो पोस्ट बनावटी, नक्कली हुन सक्छ । अहिले कसैको पनि र कुनै पनि घटनाको पत्ता लगाउनै नसकिने नक्कली संस्करण सिर्जना गर्न सम्भव छ।

अत्यन्त सावधानीपूर्वक बनाइएका एआई मोडेलहरू पनि दुरुपयोग हुन सक्छन्, र केही खुला–स्रोत एआई मोडेलहरूमा त कुनै नियन्त्रण नै हुँदैन। जो कोहीका लागि उपलब्ध यस्ता मोडेलहरूलाई उच्च गुणस्तर (सावधानीपूर्वक तथ्य जाँच गरिएको) सामग्रीदेखि विकृतसम्म, जुनसुकै प्रकारको पाठ वा भिडियो उत्पादन गर्न train गर्न सकिन्छ।

यहीबीच एआईले कम्तिमा चासो राखेर खोज्नेहरूका लागि समाचार र सूचनाको गुणस्तर पनि अत्यन्त सुधार गरेको छ । प्रमुख मोडेलहरू (मुख्यतया OpenAI, Anthropic र Google) र तिनका सःशुल्क वा किन्नुपर्ने सेवाहरू अहिले आश्चर्यजनक रूपमा उत्कृष्ट छन्। भ्रम (hallucination) अझै समस्या हो, तर एकवर्ष अघिसम्मको तुलनामा धेरै कम । यी मोडेलहरूले केही गम्भीर समाचार प्रदायकहरूसँग—धेरैजसो गोप्य, तर केही सार्वजनिक रूपमा ज्ञात—सम्झौता पनि गरेका छन् । Financial Times को OpenAI सँग सम्झौता छ, New York Times को Amazon सँग, र AP समाचार एजेन्सीको OpenAI र Google दुवैसँग सम्झौता छ।

पहिले नै, एआई मोडेलहरूले एक अर्बभन्दा बढी प्रयोगकर्ताका लागि ज्ञानको चमत्कारी ढोका खोलिसकेका छन्। म Perplexity दिनमा कम्तीमा दर्जनौँ पटक प्रयोग गर्छु, र यो लेख लेख्दा पनि मैले यसलाई पटक–पटक प्रयोग गरेँ—पुराना प्रकाशनहरू (वा Google Search) भन्दा धेरै।

त्यसैगरी, विशिष्टीकृत एआई सेवाहरूको अहिले बाढी छ— वकिल, वैज्ञानिक, डाक्टर र बिरामीहरूका लागि यो सेवा सन्दर्भ स्रोतहरू बनेका छन् । तपाईं यसलाई हल्का रूपमा लिन सक्नुहुन्छ, तर मेरा धेरै साथीहरूले Ash, Lovon, र यहाँसम्म कि ChatGPT ले पनि कठिन समयमा आश्चर्यजनक रूपमा सहयोगी भूमिका खेलेको बताएका छन्—धेरैजसो मानव थेरापिस्टहरूसँग अनुकूल तुलना गर्न मिल्ने गरी।

अखबारको अँध्यारो पक्ष

तर यसको एउटा अँध्यारो पक्ष पनि छ। एआई मोडेलहरूले ज्ञान सिर्जना गर्दैनन्। तिनीहरूले ज्ञानलाई उत्कृष्ट रूपमा संकलन र वितरण गर्छन्, तर तिनीहरू पूर्ण रूपमा अरूले सिर्जना गरेको सूचनामाथि निर्भर हुन्छन्। हामीलाई (र मोडेलहरूलाई) अझै पनि Politico, New York Times, Financial Times, Kyiv Independent, eKathimerini, Guardian, Le Monde, Asahi Shimbun, El País, Der Spiegel, AP, Reuters, ProPublica जस्ता विश्वभरिका समाचार संस्थाहरू चाहिन्छ। यी संस्थाहरूमा सम्पादक, पूर्णकालीन पत्रकार, तथ्य–जाँचकर्ता, र फिल्डमा काम गर्ने स्ट्रिङर, फिक्सर र स्रोतहरूको सञ्जाल हुन्छ। एआई मोडेलहरूले खोजी पत्रकार वा युद्ध संवाददाता भाडामा लिँदैनन्, न त सत्य पत्ता लगाउन कठोर परिश्रम नै गर्छन्।

यति हुँदाहुँदै पनि, एआई मोडेलहरू पुरानो पत्रकारितामाथि निर्भर भएजति नै, कम्तीमा दुई तरिकाले त्यसलाई गम्भीर रूपमा खतरा पनि पुर्‍याइरहेका छन्। हलिउडको हकमा जस्तै, यी खतरा अझ बढेका छन्, किनकि पुरानो उद्योगले यसतर्फ खासै ध्यान दिइरहेको छैन।

पहिलो समस्या प्रतिस्पर्धा हो। तपाईंलाई कुनै विशेष कुरा जान्नु छ, वा कुनै विषयमा अद्यावधिक रहनु छ भने, अब प्रकाशित समाचार खोजिरहन आवश्यक छैन । तपाईं सिधै एआई मोडेललाई सोध्न सक्नुहुन्छ। तपाईंले चाहेको प्रश्न, चाहेको जति गहिराइमा सोध्न सक्नुहुन्छ। यहाँसम्म कि पत्रिकाको समाचार खण्ड वा मुखपृष्ठको बराबरी सामग्री पनि माग्न सक्नुहुन्छ।

यसका अतिरिक्त, अहिले उपलब्ध मोडेलहरूले धेरै यस्ता प्रश्नहरूको उत्तर दिन सक्छन्, जुन समाचार संस्थाहरूले दिन सक्दैनन्—घरायसी उपकरण मर्मतदेखि मनोचिकित्सा र चिकित्सकीय सल्लाहसम्मका विषयमा। सायद सबैभन्दा खराब कुरा के भने यी धेरै नै सस्ता छन्। व्यक्तिगत प्रयोगकर्ताका लागि सामान्यतया मासिक १० डलर मात्र लाग्छ, जबकि New York Times को सदस्यता करिब २५ डलर पर्छ, र Financial Times तथा Bloomberg News त झन् महँगा छन्।

एआई मोडेलहरूको लागत–फाइदा आंशिक रूपमा यसकारण हो कि तिनीहरूले आफ्नो स्थिर लागतलाई विशाल प्रयोगकर्ताबिच बाँड्न सक्छन्। तर तिनीहरूले प्रयोग गर्ने धेरैजसो सूचनाको मूल्य नतिर्नु पनि ठूलो कारण हो। प्रमुख एआई विक्रेताहरूले पुस्तक र समाचार पत्रिका सहितका मूल्यवान् प्रकाशनहरूलाई नैतिकताहीन तरिकाले प्रयोग गरेका छन्—प्रायः लेखक वा प्रकाशकलाई थोरै वा कुनै पनि क्षतिपूर्ति नदिई।

मुख्य मोडेलहरूमध्ये सबैभन्दा जिम्मेवार मानिने Anthropic ले हालै अथर्स गिल्डद्वारा समर्थित मुद्दा डेढ अर्ब डलरमा मिलापत्र गरेको छ। New York Times ले सन् २०२३ मा OpenAI र Microsoft विरुद्ध मुद्दा दायर गरेको थियो (दुवै प्रतिवादी अझै लडिरहेका छन्), र मैले यो लेख Perplexity को सहयोगमा लेखेर सक्ने बेलामा, New York Times र Chicago Tribune दुवैले त्यस कम्पनीविरुद्ध पनि मुद्दा हाले।

सर्जकहरूलाई मोडेल विक्रेताहरूले क्षतिपूर्ति दिन बाध्य पार्ने पक्षमा बलियो नैतिक र व्यावहारिक तर्क छ। यसको लागि सम्भवतः नयाँ अदालती निर्णय वा नयाँ कानुन आवश्यक पर्नेछ। त्यतिन्जेलसम्म, यदि समाचार संस्था, पत्रकार, लेखक र वृत्तचित्र निर्माता पर्याप्त रूपमा क्षतिपूर्ति नपाए भने, एआई उद्योगले अन्ततः आफैंले सही परिणाम दिन निर्भर गरेका स्रोतहरू नै नष्ट गर्ने वास्तविक जोखिम छ।

यसले हामीलाई एआईले निम्त्याएको दोस्रो समस्यातर्फ ल्याउँछः एआई फोहोर र ठगीको भारी प्रदूषणका कारण विश्वासयोग्य समाचार स्रोतहरू नष्ट हुने सम्भावना। असंख्य एआई सेवाहरू उदाउनेछन्, र सबैभन्दा ठूला आधारभूत मोडेलहरू तथा सबैभन्दा सावधानीपूर्वक काम गर्ने समाचार संस्थाहरू पनि वास्तविकतासँग छुट्याउन नसकिने कुशल एआई नक्कली सामग्रीबाट कमजोर बन्न सक्छन्। अहिलेसम्म मोडेलहरू वास्तविकतामा आधारित सामग्रीमा तालिम दिइएका छन्; तर चाँडै नै, अधिकांश तालिम “कन्टेन्ट” एआईद्वारा सिर्जित नै हुनेछ।

ज्ञानका क्षेत्रमा कार्यरत परम्परागत उद्योगहरू के गर्दैछन् ?

यो आउँदै गरेको सङ्कटका लागि पुरानो (लेगेसी) उद्योग आफैं पनि केही हदसम्म जिम्मेवार छ। एआईको आसन्न खतरा सामना गर्दा, प्रमुख समाचार संस्थाहरूले पनि—हलिउडझैँ—लगभग केही पनि गरेका छैनन्। New York Times र Financial Times ले एआई उद्योगबारे तुलनात्मक रूपमा राम्रो कभरेज गर्छन्, र त्यहाँ के भइरहेको छ भन्ने बुझ्ने पत्रकारहरू राखेका छन्। तर के यीमध्ये कुनैसँग पनि ग्राहकहरूले प्रश्न सोध्न सक्ने च्याट इन्टरफेस छ? छैन। New York Times (वा Financial Times, Guardian, वा Politico) को खोज सुविधा प्रयोग गरेर हेर्नुस् र त्यसलाई ChatGPT वा सामान्य Google Search सँग तुलना गर्नुस्। तुलना नै हुँदैन—त्यो पनि एउटै प्रकाशनभित्रको सामग्री खोज्दा।

धेरै समाचार संस्थाहरूले एआईलाई व्यापक रूपमा प्रयोग पनि गरेका छैनन्। तिनका पत्रकारहरूले च्याट सेवाहरू प्रयोग गर्लान्, तर उनीहरूले गर्न सक्ने काम धेरै छ। उनीहरूले विश्वसनीय स्रोतहरू निरन्तर स्क्यान गरेर समाचार तयार गर्न एआई प्रणाली प्रयोग गर्न सक्थे, पहिलो ड्राफ्ट स्वचालित रूपमा तयार गर्न सक्थे । लेखहरूसँगै उद्धरण र फुटनोट उपलब्ध गराउन सक्थे (जुन Perplexity ले गर्छ), तथ्य–जाँच सहज बनाउन र कपी–एडिटिङ गर्न सक्थे।

पुराना प्रकाशनहरूले अझै पनि आधारभूत एआई मोडेलहरूलाई आफ्ना सामग्रीमा पहुँच दिन प्रायः अस्वीकार गरिरहेका छन्। डिजिटल ब्रह्माण्ड कुनै एकल प्रकाशनभन्दा कैयौँ गुणा ठूलो छ, र एआई मोडेलहरू तथा तिनका उपकरणहरू आफूलाई चाहिने सबै कुरा फेला पार्न झन्–झन् दक्ष बन्दैछन्।

यो अन्तिम बुँदा पर्याप्त रूपमा बुझिएको छैन। २०२४ मा New York Times को आम्दानी तीन अर्ब डलरभन्दा अलिकति कम थियो; Financial Times, Guardian र Economist को संयुक्त आम्दानी २ अर्ब डलरभन्दा कम छ। केवल Bloomberg सँग मात्रै वास्तविक वित्तीय शक्ति छ। यहाँसम्म कि सम्पूर्ण विश्वव्यापी पुस्तक र वैज्ञानिक प्रकाशन उद्योग (Bertelsmann, Springer, र Elsevier द्वारा प्रभुत्व जमाइएको) को कुल आम्दानी पनि ५० अर्ब डलरभन्दा कम छ।

यसको विपरीत, Google को वार्षिक आम्दानी करिब ४०० अर्ब डलर छ; Microsoft को ३०० अर्ब; Meta को २०० अर्ब; Amazon को ७०० अर्ब; र Apple को ४०० अर्ब। Google को नाफा मात्र वार्षिक रूपमा १०० अर्ब डलर नाघ्छ। यहाँसम्म कि OpenAI र Anthropic को आम्दानी पनि Bloomberg बाहेक कुनै पनि समाचार प्रदायकभन्दा पहिले नै ठूलो छ। New York Times को आम्दानी वार्षिक करिब १०% ले बढ्दैछ, जसको अर्थ यो छिटो–छिटो बजार हिस्सा गुमाउँदैछ। यो लडाइँमा, विशेष गरी समाचार संस्थाहरू एआई प्रविधि प्रयोगमा झन् पछाडि पर्दै गएका बेला, तपाईंलाई के लाग्छ—को जित्नेछ?

आशा गर्न सकिन्छ कि समाचार संस्थाहरू ब्युँझिनेछन्, अदालत, संसद र जनदबाबले एआई कम्पनीहरूलाई पत्रकार र अनुसन्धानकर्तालाई निष्पक्ष क्षतिपूर्ति दिन बाध्य पार्नेछन्, र एआईबाट उच्च–गुणस्तरको पत्रकारिताको नयाँ उद्योग जन्मिनेछ। तर यो त्यति सहज देखिन्न ।

चार्ल्स फर्ग्युसन एक लगानीकर्ता हुन् र छ वटा एआई भेन्चर क्यापिटल कोषका साझेदार हुन्। उनका लगानीहरूमा प्रविधि क्षेत्रका धेरै एआई स्टार्टअपहरूमा केन्द्रित छ । उनी Project Syndicate का एआई सम्पादक, नीति विश्लेषक र Inside Job (अस्कर–विजेता) सहित धेरै वृत्तचित्र चलचित्रका निर्देशक हुन्।

© Project Syndicate, 2026