१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमसेन थापाको आत्महत्या !



अ+ अ-

संक्षिप्त परिचय
नाम : भीमसेन थापा
पद : जनरल कमाण्डर—इन्—चीफ/मुख्तियार/काजी
जन्म:   बि.सं. १८३२
योगदान: सैनिक सेवा/राष्ट्रको प्रमुख कार्यकारी
आत्महत्या  (?) :  बि.सं.१८९६
अभियोग : नाबालक राजकुमार देबेन्द्रलाई विष खुवाएको

जन्म, परिवार

भीमसेन थापा अमरसिंह थापाका छोरा थिए । अमरसिंह थापा बीरभद्र थापाका तीन छोरा : जीवन, बंशराज र अमरसिंह मध्ये कान्छा थिए । बीरभद्र थापाको बाबु बिक्रम थापा थिए । बिक्रम थापा तनहुंमा बस्दथे । गोर्खाका राजा पृथ्वीनारायण शाहको सेनामा सर्दार भएर एकीकरण युद्धमा लड्ने वीर सेनानायक शिबरामसिंह बस्न्यातकी श्रीमती सुरप्रभा बिक्रम थापाकी बहिनी थिइन् ।

त्यसबेला तनहुं राज्यभन्दा गोर्खाको उन्नति हुंदै गएकोले बीरभद्र थापाले बस्न्यात परिवारसंगको नाता सम्बन्धका आडमा तनहुंबाट गोर्खाको वोर्लाङ्ग, पीपलथोकमा बसोबास गर्न थालेका थिए ।

आत्रेय गोत्र भएका बगाले थापा बंशका अमरसिंह थापाका दुइ श्रीमती थिए । जेठीतर्फका भीमसेन थापा, नयनसिंह थापा, बख्तावरसिंह थापा, अमृतासिंह थापा र रणवीरसिंह थापा तथा कान्छितर्फ दुई छोरा रणबम थापा तथा भोटु थापा समेतका थिए । अमरसिंह थापाका सात छोरा मध्ये भीमसेन थापा जेठा थिए ।

भीमसेन थापाका बाजे बीरभद्र थापा गोर्खाली सेनामा जमादार पदमा थिए । उनका छोरा अमरसिंह थापा पनि जेठाबुढा सरह जमदार पदमा सेनामा प्रबेश गरी सेवारत थिए । बि.सं.१८४०/४१ मा नेपालले पाल्पामाथि गरेको सैनिक हस्तक्षेपमा अमरसिंह थापा जमदार पदमा रहेर सो सैनिक अभियानमा सहभागी भएको पाइन्छ । बि.सं.१८५६ मा अमरसिंह थापा सुबेदार पदबाट सर्दार पदमा बढुवा भएका थिए । अमरसिंह थापालाइ पछि नेपाल दरबारमा काजी पद दिइएको थियो । यिनी साना काजी कहलाउन्थे ।

माथिका तथ्यबाट थाहा हुन्छ : भीमसेन थापाको गोरखाको सैनिक परिवारमा जन्म भएको थियो ।

सुबेदार पदमा नियुक्त, सर्दार पदमा पदोन्नत

भीमसेन थापाको जन्म बि.सं.१८३२ मा गोर्खामा भएको थियो । उनले बाल्यकाल गोर्खाको वोर्लाङ्गमा नै बिताए । बि.सं.१८४२ बैशाखमा राजा रणबहादुर शाहको ११ वर्षको उमेरमा गोर्खा दरबारमा ब्रतबन्ध (उपनयन संस्कार) गरियो । गोर्खा दरबार जाने क्रममा बस्न्यात परिवारसंगको सम्पर्कका कारण बालक र सम उमेरका भीमसेन थापालाई राजा रणबहादुर शाहको नीजि सेवकका लागि साथमै काठमाडौंस्थित हनुमानढोका दरबारमा ल्याईएको थियो । त्यसपछि भीमसेन थापा राजा रणबहादुर शाहसंग नेपालको राजदरबारमा रहे । उमेर पुगेपछि यिनी बि.सं.१८५०/५१ तिर नेपाली सेनाको सुबेदार पदमा नियुक्त गरिए ।

रणबहादुर शाह नाबालक हुंदा उनको नायब रणबहादुर शाहका काका बहादुर शाहले सम्हालेका थिए । उमेर पुगेपछि रणबहादुर शाहले बि.सं.१८५१ बाट राजकाजको अधिकार आफ्नो हातमा लिए । बिभिन्न बहानामा केहिपछि रणबहादुर शाहले १२ आरोप लगाएर काका बहादुर शाहलाई नजरबन्द राखे । नजरबन्द अवस्थामा बि.सं.१८५४ असारमा बहादुर शाहको हत्या भयो ।

राजा रणबहादुर शाहको पहिली श्रीमती राजराजेश्वरीबाट सन्तान भएनन् । दोस्रो श्रीमती सुवर्णप्रभाबाट राजकुमार रणोद्योत शाहको जन्म भएको थियो । उनीतर्फका जेठा छोरा हुंदाहुंदै रणबहादुर शाहले कान्छि श्रीमती कान्तिवतिका तर्फबाट जन्म भएका कान्छा छोरा गिर्वाणयुद्धबिक्रम शाहलाई १७ महिनाको उमेरमा बि.सं. १८५५ फागुन २८ गते राजा बनाएर आफु स्वामी निर्वाणानन्द कहलाए । यसबेला रणबहादुर शाहको उमेर २३ वर्षको थियो ।  रणबहादुर शाहको सिफारिशमा भीमसेन थापा बि.सं.१८५६ बैशाख १० गते सुबेदारबाट नेपाली सेनाको सर्दार पदमा पदोन्नत भएका थिए ।

रणबहादुर शाहसंग काशीतर्फ

त्यसबेला रणबहादुर शाहकी कान्छि श्रीमती कान्तिवति बिरामी थिइन । जतिसुकै उपचारको प्रयास भएतापनि कान्तिवतिको रोग कमी भएन । बि.सं.१८५६ साल कात्तिकमा कान्तिवतिको मृत्यु भयो । कान्छि श्रीमतीको मृत्युपछि रणबहादुर शाहको मानसिक अवस्था ठीक भएन । उनले श्रीमतीको उपचारमा संलग्न बैद्यहरुलाई यातना दिए । देव देवीहरुका मन्दिर र मुर्ति बिनास गर्नथाले । भारदार, सैनिक र सेवकमाथि अनाहकमा आक्रमण गर्ने, यातना दिने, राजकाजमा हस्तक्षेप गर्नथाले । सबै वाक्क दिक्क भएर नाबालक राजा गिर्वाणयुद्धबिक्रम शाहलाई भारदारले नुवाकोट लगेर त्यहींबाट शासन संचालन गर्नथाले ।

यसबेला रणबहादुर शाह पुल्चोकमा भीमसेन थापा र अरु केहि सहयोगीका साथ रहेका थिए । पुल्चोकबाट द्धैध शासनको अभ्यास गर्ने र सैनिकलाई आफैं आदेश दिने गर्न थालेपछि नुवाकोटका भारदारले सैनिक बलमा रणबहादुर शाहलाई नजरबन्द राख्ने र सो को नेतृत्व काजी दामोदर पांडेले गर्ने तयारी भएपछि रणबहादुर शाह भीमसेन थापा र अरु भारदार तथा सहयोगीसहित काशीतर्फ भागे ।

रणबहादुर शाह काशी लागेपछि राजालाई काठमाडौं ल्याई पुनः यथावत राज्य संचालन हुन थाल्यो । काशीमा रहदां रणबहादुर शाह काठमाडौं फर्केर पुनः सत्ता प्राप्त गर्ने प्रयासमा लागीरहे । उनले काशीबाट काठमाडौंमा हर्ता कर्ता रहेका भारदारलाई पत्र पठाएर आफ्नो पक्षमा पार्न प्रयास गरिरहे । रणबहादुर शाहले दामोदर पांडेलाई एक्ल्याएर अरुलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए । काशीमा रहदां तत्कालीन भारतस्थित इष्ट इण्डिया कम्पनी सरकारले प्रस्तावगरेझैं वाणिज्य सन्धि गरेमा रणबहादुर शाहलाई पुनः सत्ता हात पार्न सहयोग गर्ने बचन अंग्रेजले दियो र सहयोगका लागि तत्पर रहेको, सन्धिको मस्यौदा समेत पेश गरेकोमा भनिन्छ: भीमसेन थापाको पहलमा उक्त सन्धि हुन सकेन र भीमसेन थापाले रणबहादुर शाहलाई काठमाडौंका भारदारलाई हात लिएर पुनः सत्तासीन बनाउने प्रयास गरिरहे ।

काशीबाट फिर्ता

बि.सं.१८६० फागुनमा रणबहादुर शाह आफ्ना सहयोगीसहित काशीबाट काठमाडौंतर्फ लागे । रणबहादुर शाहलाई रोक्न दामोदर पांडे र महारानी राजराजेश्वरीले काजी नरसिंह गुरुङ्गको नेतृत्वमा एक सैनिक टोली चिसापानी गढीसम्म पठाए । काजी नरसिंह गुरुङ्ग नेतृत्वको सेनाको टोलीलाई भीमसेन थापाले आफ्नो पक्षमा पारे र सो सेनाको टुकडीले रणबहादुर शाहलाई साथ दियो ।

रणबहादुर शाहलाई रोक्न काजी दामोदर पांडे स्वयं अर्काे सैनिक टोलीका साथ थानकोटसम्म पुगेका थिए । तर सेनाले रणबहादुर शाहलाई समर्थन गरेको हुंदा त्यहींबाट दामोदर पांडे छोरा र सहयोगीसहित पक्राउ गरीए र लुमडीस्थानमा कैद गरिए । फागुन २१ गते रणबहादुर शाह काठमाडौं आइ २७ गते राजदरबार प्रबेश गरे ।

उनले कचहरी बसाएर चैत ३ गते दामोदर पांडे र उनका सहयोगी सहितलाई मृत्युदण्ड दिए । अब रणबहादुर शाह स्वयं आफैं छोरा राजा गिर्वाणयुद्ध बिक्रम शाहको मुख्तियार एवं नायब भै शासन गर्न थाले ।

मुख्तियार 

बि.सं.१९६३ बैशाख १४ गते हाल न्युरोड नजिकको रणमुक्तेश्वर मन्दिर नजिक काजी त्रिभुवन प्रधानको घरमा राती कचहरी भएको समय रणबहादुर शाहका सौतेनी भाई शेरबहादुर शाहले रणबहादुर शाहलाई तरवार प्रहार गरी हत्या प्रयास गरे । केहि क्षणमा रणबहादुर शाहको मृत्यु भयो । सोहीक्षण काजी वालनरसिंह कुंवरले शेरबहादुर शाहको हत्या गरे । सोही रात सैनिकको सहयोगमा शेरबहादुर शाह पक्षका र भीमसेन थापा बिरोधी बिदुर शाही, काजी नरसिंह गुरुङ्ग सहितका भारदारहरुको हत्या गरियो । कैदमा रहेका पाल्पाका राजा, उनका भाई र अंगरक्षक सैनिकको समेत हत्या भयो ।

अब भीमसेन थापा मुख्तियार भए । नाबालक राजा गिर्वाणयुद्धबिक्रम शाहको नायब रणबहादुर शाहकी कान्छि श्रीमती ललितत्रिपुरासुन्दरी भइन् । नेपालको सर्वेसर्वा शक्तिशाली व्यक्तिका रुपमा भीमसेन थापा उदाए । भीमसेन थापाले शक्तिमा आएपछि त्यसबेलासम्म स्वतन्त्र रहेको पाल्पा राज्यलाई नेपालमा मिलाए ।

पश्चिम नेपालको कुमाउं, गढवाल, कांगडा लगायतका महाकाली पारिका भू-भागतर्फ सीमा बिस्तार अभियान सुरु गरे । नेपालको प्रशासनिक सुधारका अलावा सैनिक सङ्गठनमा सुधारहरु गरे । काठमाडौंमा धरहरा बनाए । काठमाडौं र ललितपुर जोड्ने वागमतीमा पुल बनाए । नेपाली सेनामा सिंहनाथका अलावा अरु धेरै पल्टनहरु स्थापना गरे । पल्टनलाई आधुनिक फ्रैन्च ढांचामा तालिम दिने व्यबस्था गरे । छाउनीहरु निर्माण गरे । सैनिकलाई व्यारेकमा बस्ने र अन्य सुबिधाहरुको व्यबस्था गरे ।

भीमसेन थापाको मुख्तियारीकालमा नेपाल र भारतस्थित अंग्रेजबीच युद्ध भयो । बि.सं.१८७१/७२ मा भएको उक्त युद्धमा नेपालले दक्षिणतर्फ तराइको धेरै भु-भाग गुमाएर सुगौली सन्धि गर्न वाध्य भयो । अब नेपालको बिस्तार अभियान बन्द भयो । भीमसेन थापा गुप्तरुपमा अंग्रेज बिरोधि मोर्चा बनाएर अंग्रेजलाई भारतबाट धपाउने अभियानमा लागीरहेका थिए । तर उनलाई यस काममा सफलता मिल्न सकेको थिएन । आबश्यक परे अंग्रेजसंग युद्ध गर्ने बिचारले उनले सैनिक सुदृढीकरण पनि गर्दै रहेका थिए ।

जनरल र कमाण्डर-इन्-चिफ्

भीमसेन थापाले नेपाली सेनामा सुधारहरु धेरै गरे । सेनालाई पश्चिमी शैलीमा ढालेर आधुनीकीकरण गरे । परम्परागत पदहरु काजी, बख्सि, सर्दार, कपर्दार लगायतका पद खारेज गरी जनरल, कर्णेल र लप्टन आदि पदहरु सृजना गरी लागु गरे । नेपालको सैनिक इतिहासमा जनरल र जनरल कमाण्डर-इन्-चिफ् पद ग्रहण गर्ने पहिलो व्यक्ति भीमसेन थापा नै थिए । उनले बि.सं.१८६८ मा नेपाली सेनाको जनरल पद र बि.सं.१८९२ मा सेनाको जनरल कमाण्डर-इन्-चिफ पद ग्रहण गरेका थिए ।

पतन 

एक्लो सर्वेसर्वा भएर बिगत ३१ वर्षदेखि शासन संचालन गरीरहेका भीमसेन थापाका पतनका दिनहरु बि.सं.१८८८ बाट सुरु हुन थाल्यो । रणबहादुर शाहकी कान्छि बिधवा ललितत्रिपुरासुन्दरीको बि.सं.१८८८ मा मृत्यु भयो । बि.सं.१८७३ मा राजा गिर्वाणयुद्धबिक्रम शाहको मृत्युपछि उनका छोरा राजेन्द्रबिक्रम शाह राजा भएका थिए । राजा राजेन्द्र नाबालक छंदा त ठिकै थियो तर बिस्तारै उमेर बढ्दै जादां उनकी जेठी श्रीमती साम्राज्यलक्ष्मीदेवी शाह भीमसेन थापासंग असन्तुष्ट बन्दै गइन् ।

उनले स्व.दामोदर पांडेका छोरा रणजंग पांडेका कुरा सुनेर भीमसेन थापाको कमी कमजोरी खोज्न थालिन । राजालाई उकासेर भीमसेन थापाले गर्दै आएको पजनीको अधिकार आफ्नो हातमा लिइन र पांडे परिवारका सदस्यलाई काजी लगायतका उच्च पदमा नियुक्त गर्न दबाब दिइन् । यसैबीच बि.सं.१८९४ साउनमा जेठी महारानी साम्राज्यलक्ष्मीदेबी शाहको कान्छा छोरा ६ महिना उमेरको देबेन्द्रको मृत्यु भयो । राजकुमारको मृत्यु भीमसेन थापाले बैद्यहरुसंग मिलेर बिष प्रयोगबाट भएको आरोप लगाइ भीमसेन थापालाई बर्खास्त गरी पक्राउ गरियो । राजकुमारको उपचारमा संलग्न बैद्यहरुमाथि यातना दिन थालियो । भीमसेन थापाका आफन्त र भाइ भतिजलाई बर्खास्त गरी कैद गरियो । उनीहरुको सम्पत्ति सर्वश्व गरियो ।

भीमसेन थापालाई पन्छाएर दामोदर पांडेका छोरा रणजंग पांडेलाई मुख्तियार पदमा नियुक्त गरिएको थियो । केहि समयमै रणजंग पांडेलाई मुख्तियार पदबाट हटाउन राजा बाध्य भए । रणजंग पांडेपछि मुख्तियार बनेका पं.रंगनाथको प्रयासमा भीमसेन थापामाथिको बिष मुद्धा खारेज गरियो र भीमसेन थापालाई मुक्त गरियो । भीमसेन थापा अब गोर्खाको बोर्लाङ्गमा गएर बस्न थालेका थिए । तर जेठी महारानी र रणजंग पांडेले भीमसेन थापालाई सदाका लागि पन्छाउन योजना बनाएर पुनः बिष मुद्धा उल्टाए । जेठी महारानीको दबाबमा पुन रणजंग पांडे मुख्तियार बनाइए ।

आत्महत्या गर्न बिबस 

भीमसेन थापा गोर्खाबाट बोलाइए र पुनः पक्राउ गरिए । उनीमाथि झुठा कागजात तयार पारी गलत आरोप लगाएर बिष मुद्धालाई पुन: उल्टाइयो । उनका धर्मपुत्र शेरजंग थापा र कान्छि श्रीमतीलाई पनि कडा नजरबन्द राखियो । कान्छि श्रीमतीलाई जेठी महारानीमाथि मुख चलाएको आरोपमा यातना दिइयो । रणजंग पांडे र जेठी महारानी पक्षका केहि मानिसले कैदमा रहेको अवस्थामा भीमसेन थापालाई उनकी श्रीमतीका बारेमा अनेकन् कुरा सुनाउन थाले । शहरमा नांगै घुमाइने र भीमसेन थापाकी श्रीमतीको हुर्मत लिइने बारेमा गलत कुरा सुनाएर भीमसेन थापालाई दिनानुदिन मानसिक यातना दिन थालियो ।

बिना गल्ति, ६४ वर्षको कमजोर र बृद्ध उमेरमा, राज्यको शक्तिशाली र उच्चपदमा रहिसकेको व्यक्तिले, अपमानजनक कुरा सुन्न र देख्न भन्दा आत्महत्या गर्न उत्तम ठानेर भीमसेन थापाले बि.सं.१८९६ साउन ८ गतेका दिन आफैंले भिरेको खुकुरीले कैदमा रहेको अवस्थामा घांटी सेरिने असफल प्रयास गरे ।

आधा सेरिएपछि उनी असक्त भएर ढले । रगतको आहालमा डुबेका भीमसेन थापालाई हेर्न राजा राजेन्द्र स्वयं नजरबन्दस्थलमा आए र उनलाई उपचारको बदला पीडा थपगर्दै घिसारेर बिष्णुमति नदी किनारमा फाल्न लगाए । त्यसबेलासम्म भीमसेन थापाको मृत्यु भएको थिएन । उनी चरम पीडामा तड्पीइरहेका थिए । नदी किनारमा फालिएको पांच वा छ दिनपछि उनको प्राण गयो । भीमसेन थापाको शरीरका अंगहरु स्याल र कुकुर तथा काग र गिद्धले खाए । परिवारका सदस्यलाई काजक्रिया र सद्गद् गर्न दिइएन ।

भीमसेन थापा नेपाली सेनाको सर्वाेच्च पद

जनरल कमाण्डर-इन्-चीफ पदमा कार्यरत रहेकै अवस्थामा, झुठो विष मुद्धा लगाएर पदबाट वर्खास्त गरी कैद गरिएको थियो । बदलाको भावनाले, पन्छाउने नियतले उनलाई वर्वर यातना दिइयो । परिवार र आफन्त समेतलाई दुःख दिइयो । तत्कालीन नेपालको राजकीय सत्ता राजाको हातमा थियो । राजा कमजोर र जोइटिग्रें हुंदा रानी र भारदार शक्तिशाली हुन्थे ।

तिनले राजा वा तिनका नायबकोे सहयोगमा आफुजस्तै अरु सैनिक तथा भारदारलाई पन्छाउन र आफु अगाडी आउन बिभिन्न षडयन्त्र गरिरहन्थे । हत्या गर्दथे । हिंसालाई सहारा लिन्थे । प्राणदण्ड दिन्थे । आत्महत्या गर्न बाध्य पार्दथे । लगभग ३१ वर्ष नेपालको शक्तिशाली रहेका भीमसेन थापा पनि यही बेथिति, बिकृति र बिकृत अवस्थाको शिकार बनेका थिए ।

राष्ट्रका विभूती

नेपालको राष्ट्रियताको पक्षमा दृढ अडान राखेको र अटल देशभक्ति प्रदर्शन गरेको दृष्टान्तलाइ आधार मानेर भीमसेन थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गरिएको छ ।

 उपसंहार

भीमसेन थापामाथि, आफुले शक्ति हात पार्न, आफ्ना बिरोधि र सम्भावित दुष्मन पन्छाउन, हत्या हिंसाको बाटो अपनाएको आरोप लगाउनेको कमी छैन । बि.सं.१८६० को दामोदर पांडे लगायतको हत्यामा रणबहादुर शाहलाई उक्साएको र बि.सं.१८६३ मा रणबहादुर शाहको हत्या घटनामा नरसिंह गुरुङ्ग, पाल्पाली राजा, राजाका भाइ, राजाका अंगरक्षक सैनिक आदिको संहार गरेको घटनामा भीमसेन थापा स्वयं इतिहासमा आलोचित छन् ।

बि.सं.१८६३ बाट बि.सं.१८९४ तक् ३१ वर्षको मुख्तियारीकालमा भीमसेन थापाले देशमा केहि सकारात्मक कार्य गर्ने प्रयास गरेको पाइन्छ । बि.संं.१८७१-७२ को नेपाल अंग्रेज युद्ध र सुगौली सन्धिमा नेपालले गुमाउनु परेको भू-भागको कारणलाई भीमसेन थापाको कमजोरीसंग जोडेर हेरिन्छ । नेतृत्वमा रहेकाले सो को जिम्मेवारी उनीमाथि नै जान्छ ।

तरपनि नेपालको सैनिक सङ्गठनको आधुनीकीकरण, सुधार, बिस्तार र व्यावसायिक बनाउन उनले खेलेको भूमिका सकारात्मक थियो । भीमसेन थापाको पतनपछि नेपालका तत्कालीन राजाको कमजोरीका कारण धेरै देशभक्त सैनिक र भारदारको हत्या भयो । कोतपर्वमा कैयौं सैनिक र भारदारको हत्या भयो ।

भण्डारखाल र अलौ पर्वमा नरसंहार पुनः दोहोरियो । अस्थिरता बढ्यो । यहीबीच बि.सं.१९०३ को कोतपर्वपछि जंगबहादुर कुंवरले प्रधानमन्त्री तथा प्रधानसेनापति पद हत्याए र राजारानीलाई काशी पठाएर आफैं सर्वेसर्वा बने । राजामा निहीत राजकीय सत्ता आफुमा लिए । श्री ३ महाराज बने, राणा शासनको स्थापना गरे र राणाहरुले १०४ वर्षसम्म निरंकुस जहांनिया शासन चलाए ।

भीमसेन थापामाथि लगाइएको विषमुद्धा खासमा कपोलकल्पित र बनावटी थियो । राजा राजेन्द्रकी जेठी महारानी साम्राज्यलक्ष्मी रणजंग पांडे लगायत भीमसेन थापाका बिरोधिहरुको प्रभावमा थिइन् । रणजंग पांडे भीमसेन थापासंग आफ्ना पीता दामोदर पांडेको हत्याको बदला लिन चाहन्थे । यो सबै यथार्थ राजा राजेन्द्रलाई अवगत थियो । तर राजा ‘जोकर’ प्रतीत भइरहेका थिए । जेठी महारानीका जस्तोसुकै गलत प्रस्तावमा पनि राजा सहमत भइदिन्थे ।

राजाका सामु देशभक्त भारदार अन्यायमा परेर न्यायको भीख माग्दा राजा, ‘ढोड’ को लठ्ठी बनेर षडयन्त्रकारीका आदेशपालकझैं बनिदिदां भीमसेन थापाले त्यतिवेलै वांच्ने आशा मारिसकेका थिए । उनले वाध्यतावश राजा र भारदारका सामु भनेका थिए : “ मैले मार्न चाहेको भए उसैबेला सरकारलाई नै मार्न सक्दथें । यस्तो भुसुने बच्चालाई मारेर मलाई के फाइदा ? यदि यस्तै बुद्धि लिएर हिंड्यो भने सरकारले मानामा भरि खोपामा राखिदिएको खाना खाएर निर्वाह गर्नुपर्ने हुनेछ ।”

भीमसेन थापाले राजा राजेन्द्रलाई भनेको शन्द अन्ततः पुरा भयो । राजा राजेन्द्रको असक्षमताका कारण उनी जिवित छंदै बि.सं.१९०४ बाट भक्तपुर दरबारमा कैद गरिए र छोरा सुरेन्द्र राजा बनाइए । छोराको मृत्युपछि करिब ३४ बर्ष कैदमा रहेर राजेन्द्रको बि.सं.१९३८ मा कैद अवस्थामा नै मृत्यु भयो ।

समय बिगतको श्रापबाट मुक्त थिएन, बरु श्रापीत मार्गतर्फ उन्मुख थियो । तसर्थ देशभक्त सैनिक अपमानजनक ढंगले आफैं आफ्नो गला, खुकुरीले रेट्न विवश बनेका थिए । जिवित मानिसहरु, अरु, केवल मुकदर्शक थिए ।

स्रोत : ती सैनिक(मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न बाध्य नेपालका सैनिक), पृ. १०८–११६ ।