१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित
अ अ+ अ-

काठमाडौँ। सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको रपोर्टिङका क्रममा घाइते पत्रकारलाई सम्मान गरेको हो ।

मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चार जना घाइते पत्रकारलाई सम्मान गर्नुभयो । कार्यक्रममा स्वतन्त्र पत्रकार शम्भु दाहाललाई रु एक लाख नगद तथा सम्मान, श्याम श्रेष्ठ कान्तिपुर टेलिभिजन, उमेश कार्की नेपाल प्रेस तथा दीपेन्द्र ढुङ्गाना नयाँ पत्रिकालाई जनही रु २५ हजारसहित सम्मान गरिएको थियो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले देश र जनताको पक्षमा जोखिम उठाएर काम गर्ने पत्रकारको योगदानको उच्च कदर गर्दै राज्यकोतर्फबाट सम्मान गरिएको उल्लेख गर्नुभयो । उहाँले विभिन्न आन्दोलनलगायत कार्यक्रममा अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारको सुरक्षाका लागि सरकार, आन्दोलनरत पक्ष वा आयोजक तथा सञ्चारगृह जिम्मेवार र उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री खरेलले आन्दोलनका क्रममा गम्भीर घाइते भएका पत्रकारको उपचार खर्च राज्यले बेहोर्ने बताउँदै घाइते पत्रकारलाई निरन्तर सम्पर्कमा रहन आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “राज्यले तपाईँहरूको उपचार खर्च व्यहोर्नुपर्छ, व्यहोर्छ । मैले त्यतिबेला पनि भनेको थिएँ । आज पनि भन्छु । यत्रो दुनियाँको खर्च व्यहोरिरहेको सरकारले तपाईँको किन नव्यहोर्ने ? तर यसमा मिसइन्फरमेसनचाहिँ नहोस् । सरकारले वास्ता गरेन हैन, गर्छ । तर सम्पर्क त हुनुपर्यो ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा सञ्चार क्षेत्रमा करिब रु ७८ करोडको क्षति भएको उल्लेख गर्दै त्यसको पुनस्र्थापना कसरी गर्ने भन्नेमा आफू चिन्तित रहेको बताउनुभयो ।

बिहीबारदेखि सरकारले गोरखापत्र संस्थानका पत्रकारहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सुरु भएको जानकारी दिँदै मन्त्री खरेलले छिट्टै रेडियो नेपाल नेपाल, नेपाल टेलिभिजन तथा राससलगायत निकायका पत्रकारलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बताउनुभयो ।

मन्त्री खरेलले निजी क्षेत्रका सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षाको योजनामा समेट्नेगरी अभियान नै सञ्चालन गर्न तथा बेरोजगार घाइते पत्रकारको रोजगारीको व्यवस्था गर्नेगरी क्रियाशील हुन नेपाल पत्रकार महासङ्घलाई आग्रह गर्नुभयो । सञ्चारमन्त्री खरेलले घाइते पत्रकारले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासङ्घले गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले सरकारले पत्रकारहरूको कामको सम्मान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । सम्मानितमध्येबाट पत्रकार शम्भु दङ्गालले अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारको सुरक्षाका लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने, पत्रकार सुरक्षा कोषको प्रबन्ध गर्नुपर्ने, पत्रकारहरूलाई सामाजिक सुरक्षाको योजनामा आबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार दीपेन्द्र ढुङ्गानाले घाइते पत्रकारलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने तथा आगामी दिनमा अग्रपङ्क्तिमा खटिने पत्रकारको सुरक्षाका लागि नीतिगत सुधार गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका उच्च पदाधिकारी तथा नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा सञ्चार क्षेत्रका विभिन्न निकायका पदाधिकारीको उपस्थिति थियो । रासस