१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘खोटेहाङ साहित्य महोत्सव– २०८२’ सुरु

‘खोटेहाङ साहित्य महोत्सव– २०८२’ सुरु
अ अ+ अ-

खोटाङ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव– २०८२’ सुरु भएको छ ।

साहित्यको माध्यमबाट सामाजिक रूपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोटाङबजारमा दुईदिने साहित्यिक महोत्सव आयोजना गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा आयोजना गरिएको महोत्सवको उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले कविता वाचन गरेर गर्नुभयो ।

खोटेहाङ गाउँपालिकाको सभाहलमा आयोजित महोत्सवमा माध्यमिक तहका विद्यार्थीका लागि कविता प्रतियोगिता, बाल साहित्य तथा बाल मनोविज्ञानका बारेमा विचार विमर्श, ‘मुन्दुम र जोसमनी दर्शन, कति नजिक कति टाढा’ विषयक विचारगोष्ठी, ‘अर्थ राजनीतिक दृष्टिकोणबाट बसाइँसराइको कारण न्यूनीकरणको उपाय’ विषयक विचारगोष्ठी तथा बृहत् कविता गोष्ठीको आयोजना गरिएको छ ।

महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी, अर्थ राजनीतिक विश्लेषक हरि रोका, नेपाल प्रज्ञा प्रतिष्ठानका समालोचना तथा साहित्य इतिहास विभाग प्रमुख डा मधुसूदन गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभाग प्रमुख डा कृष्णराज अधिकारी, मुन्दुम अध्यता भोगिराज चाम्लिङ, कवि एवं लेखक कविता राईलगायतको सहभागिता रहेको छ ।

महोत्सवको पहिलो दिन गाउँपालिकाभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि कविता प्रतियोगिता आयोजना गरिएको खोटेहाङ प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष इन्द्र नारथुङ्गेले जानकारी दिनुभयो ।

नेपालमा बाल साहित्यको अवस्थाका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य सचिव डा धनप्रसाद सुवेदी, प्राज्ञ डा मधुसुदन गिरीले प्रवचन दिनुहुनेछ ।

यस्तै, बसाइँसराइँका कारण र न्यूनीकरणको उपाय शीर्षकमा अर्थ राजनीतिक विश्लेषक हरि रोकाले प्रस्तुत गर्नुहुने कार्यपत्रमा सामाजिक अध्येता टङ्क थापा र शैक्षिक अभियान्ता सूर्यबहादुर राईले टिप्पणी गर्नुहुने जनाइएको छ ।

महोत्सवमा मुन्दुम अध्येता भोगिराज चाम्लिङले प्रस्तुत गर्नुहुने ‘मुन्दुमको विश्व दृष्टिकोण’ शीर्षकको कार्यपत्रमा कवि एवं शैक्षिक अभियान्ता नरेन्द्र निर्विकारले टिप्पणी गर्नुहुनेछ । नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभाग प्रमुख डा कृष्णराज अधिकारीको जोसमनी दर्शनसम्बन्धी विचार प्रस्तुत गर्नुहुने जनाइएको छ ।

महोत्सवमा किरात मुन्दुम र जोसमनी दर्शनको निकटताका बारेमा समेत विमर्श गरिने आयोजकले जनाएको छ । खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित महोत्सवमा कवि नरेन्द्र निर्विकार, केशव कार्की, कविता राई, आस्था कोपिला, भोगेन एक्ले, जीवन आरोही, भीम राई, भूमिराज मरुभूमि, ज्ञानदीप चाम्लिङ राई, नीरस एसके पीडित, निराजन भण्डारी, भगवती शर्मा, कृष्णश्री राई, रोशन पौडेल, भुवन गाउँलेलगायतले आ–आफ्नो कविता वाचन गर्नुहुने आयोजकले जनाएको छ ।

महोत्सवमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जरा, जिल्लास्थित साहित्यकारलगायतको उपस्थिति थियो ।

जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारमा आयोजना गरिएको महोत्सवमा साहित्यिक क्षेत्रका मूर्धन्यहरूको सृजना वाचनले गुञ्जयमान भएको छ ।