त्रिशुली नदी पुग्दा घाम हुर्किसकेको थियो ।
बिहान ६ बजे हामी तीन वटा गाडीमा एक सय १० जना बिद्यार्थी र शिक्षक यता आएका । आज हामी पोखरा पुगेर बास बस्नेछौं ।
यतिखेर चरौंदीमा हामी ओर्लिएका छौं । त्रिशुलीको किनारमा पुगेर र्याफ्टिङ लागि तम्तयार भएका छौं । त्रिशुली नदीमा र्याफ्टिङ गर्नु भनेको जलसँगको जम्काभेटमा भूदृश्यको विविधता हेर्नु हो । प्राकृतिक भौगोलिक विविधतालाई पानीमा बहेर महशुश गर्नु हो । अझ जलीय वन्यजन्तु र वनस्पतिको अनुभव गर्ने उत्कृष्ट अवसर रुपमा पनि त्रिशुलीको र्याफ्टिङलाई लिन सकिन्छ ।
चिसो मौसममा पनि चिसोको प्रवाह नगरी नदीको तटमा सुरक्षा सम्बन्धी निर्देशन सुनेसँगै हेल्मेट, लाइफज्याकेट लगाएर डुङ्गामा बस्दा केही विद्यार्थीको मनमा हल्का डर र रोमाञ्च दुवै देख्न सकिन्थ्यो ।
पानीका छालले डुङ्गालाई यताउती तान्दा हामी सबै एकै स्वरमा ‘फरवार्ड पेडल’ भनेर गाइडको आदेशलाई पालना गर्दै बगिरहन्थ्यौं । कति पटक त डुङ्गा उल्टिन्छ की जस्तो डर लाग्थ्यो । तर त्यसकै मज्जामा विद्यार्थीहरू छालतिर हानिन्थे, रमाउँथेँ । आज त विद्यार्थीभन्दा बढ्ता केटाकेटी हामी शिक्षकहरु भएका थियौं र पानीमा रमाएका थियौं ।
एक सय दश जनाको जम्बो टोली भएकाले हाम्रा डुङ्गाहरुले त्रिशुली नदी भरीभराउ देखिन्थ्यो। सिंगो त्रिशुली नदी अपीमय भएको थियो । जताततै हाम्रै विद्यार्थीहरु । हाम्रै शिक्षकहरु । हाम्रै साथीहरु । त्रिशुली नै अपी भएजस्तो । एउटा डुङ्गाबाट अर्को डुङ्गामा पेडलले पानी छ्याप्दै हामी मज्जा लिइरहेका थियौं । अपीका शिक्षक र विद्यार्थीहरुको यो जलयात्रा अविस्मरणीय बन्न पुग्छ ।

हामीले त्रिशुलीमा चरौंदीबाट र्याफ्टिङ सुरु गरेका हौं ।
‘आहा कति रमाइलो ।’ संगै रहेका एक विद्यार्थीले भने । म नदीपारि आँखा दौडाउँछु ।
हाम्रासामु त्रिशुलीको प्रवाह मात्र होइन, घाम टल्किएको हरियो जंगल र उमङ्गको वातावरण छ। हामी देख्छौं मनकामना मन्दिर जाने केबलकार ।
खुशीले विद्यार्थीहरु चिच्याउँछन् । म पनि के कम । र्याफ्टिङ बोटमा मज्जाले खुट्टा अड्याएर नाच्न थाल्छु । जानी नजानी जिउ र हात हल्लाएर नाच्छु । मनमा उम्लिएको खुशी र आनन्दका सामु नाच्न जान्नु नजान्नुको के अर्थ ?
मंसिरको मध्यमा हामी त्रिशुलीको छातीमा छालसँगै बहकिरहेका छौं । पानीसँगको बिन्दास यात्रा । डर नलाग्ने होइन । पानीले नभिजाउने पनि होइन । तर स्वच्छन्द जलसँगको अन्तरंग सम्वन्ध स्थापित गर्ने यो अवसरले खुशी मात्र दिन्छ । रमाइलो र मज्जा मात्र दिन्छ ।
“र्याफ्टिङ सबै उमेर समूहका लागि हो”, बिद्यार्थीहरु रमाएको देखेर हाम्रा र्याफ्टिङ गाइड विजय खत्री सर भन्नु हुन्छ । उहाँका अनुसार त्रिशूलीमा खासगरी काठमाडौँ, चितवन, पोखरालगायतका सहरबाट मानिसहरु आउने गरेका छन् । “कतिपय मानिसहरु काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा पनि र्याफ्टिङ गरेर जानेहरुपनि छन् ।’ उहाँले नै बताउनुभएको हो मलाई – त्रिशूली नदी आफैँमा र्याफ्टिङकालागि प्रमुख गन्तव्य हो ।

राशी र रेश्मा म्याम, अन्य शिक्षक साथीहरु र आफ्ना प्यारा विद्यार्थीहरुसँग नदीमा र्याफ्टिङ गर्दा पानीको भङ्गालोमा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक बन्छ । कुरिनटार पुगेर हाम्रो जलयात्रा सकिन्छ । पानीसँगको यात्रा छिट्टै सकिएजस्तो लाग्छ ।
मंसिरको पन्ध्र गतेको चिसो समय र्याफटिङ् पछि जब किनारमा पुगेपछि घाममा सुकेको थियो । नेपालमा नदीको सौन्दर्यसँगै जीवनपनि उस्तै उतारचरावले भरिएकोजस्तो लाग्यो।
हामी कपडा फेर्छौं । र खानाका लागि तयार हुन्छौं ।
कुरिनटारमा बिहानको खाना खाएर हाम्रो यात्रा पोखरातिर मोडियो ।
अहिले सडक राम्रा र चिल्ला छन् । गाडीमा गीत गुन्जिन्छ विद्यार्थीहरुको चिरपरिचित स्वरमा । हामी पोखरा पुग्दा बिहान त्रिशुलीमा हुर्किएको घाम निकै पौढ भइसकेको थियो । पोखराको माउन्ट कैलास होटलमा हामी पुग्नु र घाम अस्ताउनु एकैसाथ भयो ।

एक सय दश जनाका लागि कोठाको व्यवस्था भइसकेपछि लगेज र व्यागहरु राखेर हामीले केहीबेर आराम गर्यौं । तर पोखरा पुगेर पनि के आराम गरिरहनु ? त्यसो त स्याङ्जामा जन्मिएकी मेरा लागि पोखरा नयाँ होइन । तर साँझको फेवातार मलाई हरेक पटक नयाँ लाग्छ ।
साँझमा दिनभरको असिनपसिन र भागदोडबाट फेवाताल शान्त हुन्छ । तर फेवातालको किनार रातभरि गुल्जार रहन्छ । त्यही रातभरि ब्युँझिने फेवाताल किनारमा हामी केहीबेर रमाउँछौं । फेवाताल वरिपरिको झिलिमिली बत्ती, तालमा परिवर्तित शान्त चित्र र हिमालको परावर्तन मन आफै प्रफुल्लित र शान्त बन्छ ।
अघिल्लो वर्ष पनि यहो होटलमा बसेकाले कैलाश होटल हाम्रा लागि चिरपरिचित छ । झ्यालबाट देखिने पोखराको रात्रिकालीन दृश्य हेर्दै म आराम गर्छु ।
भोलिपल्ट राशीम्यामको निर्देशनसँगै हामी तयार हुन्छौ ।
टुरिष्ट गाइड बिजय खत्री सरको जानकारीमूलक टिप्सहरु सुनेर हाम्रो आजको यात्रा सुरु भयो । हामी आज राति घोडेपानी पुगेर बास बस्ने योजना छ।
सारङ्कोटबाट लस्करै परेका हिमालहरुलाई मन, मस्तिस्क र क्यामेरामा कैद गरेर हामी केही समयमा बाग्लुङ् हाइवेतर्फ लाग्यौं । उल्लेरी पुग्नेबेलामा कच्ची र साँघुरोबाटोले मनमा बेला -बेलामा डर लागिरहेको थियो त्यस्तै भय विद्यार्थीहरुको अनुहारमा पनि छर्लङ्ग देखिन्थ्यो ।
हामीलाई डर लाग्छ भनेर नै गाडीको क्याबिनमा बस्न नदिने रहेछन् । झन्डै दुई तीन घन्टाको बस यात्रा पछि हामी उल्लेरी गाँउमा पुग्छौँ।
त्यहाँबाट हाम्रो टोली घोडेपानीतिर लाग्छ । बाटोबाट देखिने माछापुच्छे, गुराँसले ढाकिएका जङ्ल, सफा र कञ्चन खोला, साथीहरुको आत्मिय माया र हाँसो । हामी खाँदै, हिँड्दै र हाँस्दै गर्दा क्यामरा निकालेर फोटो र भिडियो बनाइ हाल्ने जीवन सरको बानी, बिचबिचमा बनाइएका भिडियो र टिकटकले पनि बाटो काट्न निकै सहज भएको थियो । बेलाबेलामा सञ्जय सरले हँसाएर मुर्छै पार्नु हुन्थ्यो ।
स्कुलमा हुँदै काम र विद्यार्थीहरुको भविष्यप्रति गम्भीर हामी आज निर्धक्क रमाइरहेका थियौं । बिद्यार्थीभन्दा साना बनेर रमाइलो गरिरहेका थियौं । हाँस्न र हँसाउन कुनै कसर बाँकी राखेनौं ।
हामी मरीमरी हार्थ्यौँ र फेरि भरपुर उर्जा लिएर बाटो लाग्थ्यौँ। हिँड्दै गर्दा झमक्क साँझ पर्यो। घरमा रहेकी छोरी मनुश्रीको याद आयो। बाबासँग छोडेकी छोरीलाई फोनबाटै आफू बाटो मै रहेको र घोडेपानी पुगेपछि फेरि कल गर्ने कुरा गरेँ । ‘खासमा सविता म्यामले छोरीको बहानामा बाबालाई कल गरेको हो ।’ साथीहरु जिस्काउँदै हाँस्छन् ।
‘आफ्नै बुढालाई कल गर्न पनि के को बहाना ?’ म पनि हाँस्छु ।
जून टह टह लागेको थियो । जुनेली – रातको उज्यालोमा यात्रा गर्नु आफैँमा रमाइलो । चन्द्रमाको धीमा प्रकाशले बाटो देखाइरहेको थियो । आँत्तिएको र कठिन बेला आफ्नो नजिकको मानिसले समस्या सुझाएझैं यतिखेर यही धीमा प्रकाशले हामीलाई सहज बनाइरहेको थियो ।

‘मैले यहाँ पहिले फुटबल खेल्दा गोल हानेर त्यहाँ पुर्याएको ।’ विजय सरले देखाएतिर हामीले हेर्यौं । उहाँले त जून पो देखाउनु भएको रहेछ । हामी सबै गलल हाँस्यौँ । हाँस्दै र रमाउँदै हामी घोडेपानी पुग्यौँ ।
जब घोडेपानी पुग्यौँ त्यस ठाउँका स्थानीयहरूको सरल जीवनशैली, मृदु मुस्कान र पाहुनाप्रति गरेको सम्मानले मन छोयो ।
अर्को दिन पुनहिलको सुर्योदय हेर्नु थियो ।
विद्यार्थीहरु सबैलाई सहज व्यवस्थापन गरेपछि हामीले पनि आराम गर्यौं । आराम त के भन्नु लगभग मध्यरातसम्मै नाचगान र रमाइलो भयो । थकाइ त कता भाग्यो कता ?
बिहान हिड्न सुरु गर्दा अँध्यारै थियो ।
हिमालसँग पहिलो पटक साक्षात्कार गर्ने अवसर मिलेको थियो । त्यसैले लाग्यो हाम्रो टोली बिहानको चिसो सिरेटोलाई पन्छाउँदै पुन हिलको ठाडो उकालोतर्फ । सुरुमै एउटा खिन्नता थपियो । पुनहिलसम्म प्रविन सर नजाने हुनुभयो । घोडेपानीसम्मको त्यति लामो यात्रा पार गरेर पनि प्रविनसर आफ्नो स्वास्थ अवस्थाका कारण पुनहिलसम्म जाने आँट गर्नु भएन । भर्खरै दुर्घटनाबाट स्वास्थ्यलाभ गर्नुभएका कारण पनि हामीले उहाँलाई कर गर्न सकेनौं ।
हामी भने बिहान साढे चार बजे नै लाग्यौं घोडेपानीबाट पुनहिलको ठाडो उकालोतिर ।
सबैका हातमा टर्चलाइट । चिसोमा टर्चलाइट समाउन पनि हम्मे हम्मे । जमिनतर्फ अँध्यारो भएपनि आकाश छर्लङ्ग थियो । टहटह लागेको जूनमा पनि हिमालको कालो छाँयामात्र देखिन्थ्यो ।
शैलेन्द्र सरसहितको हाम्रो टोली विद्यार्थीसँगै अगाडि बढिरहेको थियो भने अन्तिममा राशी म्यामसहितको विद्यार्थीको टोली थियो । अघिल्लो वर्ष प्रशस्त फोटो र भिडियो खिच्न नमिलेका कारण यसपाली हामीले विद्यार्थीसँगको टोलीलाई बिभाजित गरेका हौं ।
अझ लालीगुराँस फुल्ने समय चैत बैशाखमा जाने हो भने त जो केाहीलाई पनि पुनहिलमा लालीगुराँसले स्वागत गर्छ । अहिले त गुराँसका बोट मात्रै । हामीलाई गुराँसका त्यही बोटले मुस्कुराएर हेरे झैं लाग्यो । लालीगुराँसको हाँसो हेर्न त फागुन चैत बैशाखमा आउनु पर्ने रहेछ ।
विश्वका उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमा पर्छ पुनहिल/घोडेपानी । पछिल्ला दिनमा विदेशीभन्दा बढी नेपालीहरूको आकर्षक गन्तव्य बन्न थालेको छ । घोरपानीदेखि आधा/ एक घण्टाको उकालो हिँडाइपछि पुग्न सकिन्छ–पुनहिल । धौलागिरी हिमाल हेर्नलाई सबैभन्दा उपयुक्त स्थान यही पुनहिल हो । पुनहिल पुग्नेहरूका लागि लेक लाग्ने सम्भावना पनि कम हुन्छ । पहाडी क्षेत्रमा धेरै पदयात्रा नगरेकाहरूका लागि मौसम र स्वास्थ्यका दृष्टिकोणले पनि पुनहिल उपयुक्त गन्तव्य हो ।

हामी पुनहिलको चुचुरोमा पुग्दा नपुग्दै उज्यालो फैलियो । र आँखामै थपियो धौलागिरी, अन्नपूर्ण, माछापूच्छे, निलगिरी र अन्य हिमालहरू । सूर्य सुनौलो हुँदै गर्दा मन अझै आनन्दले भरियो । सूर्योदय र सुनौला ती हिमालहरूलाई मन, मस्तिस्क र क्यामेरामा कैद गर्दा आफ्नो दैनिकीलाई पूर्णरूपमा बिर्सिएर आनन्द लिएको महसुस भयो । यो दृश्य र अनुभूति शब्दमा कसरी वर्णन गर्नु ? लाग्थ्यो – प्रकृतिले आफै चित्र कोरिरहेको छ ।
सुनीता म्याम जब पुनहिलको टावर पुग्नुभयो, उहाँ निकै खुशी देखिनुभयो। उहाँ पनि मजस्तै पहिलोचोटी पुनहिल आउनुभएको हो ।
अन्नपूर्ण र धौलागिरी हिमाल आफ्ना आँखै अगाडि हेर्न पाउँदा को रोमाञ्चित नहोला ? को दंग नपर्ला ?
पुनहिलमा हामीमात्र थिएनौं । अरुहरु पनि थिए । सबै झुल्किदो घामसँगै रमाइरहेका थिए ।
समुन्द्री सतहबाट २९ सय मिटर उचाइमा अवस्थित घोरेपानीबाट एक घण्टाको उकालो हिडेर हामी यहाँ आइपुगेका । समुन्द्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलबाट धौलागिरी, अन्नपुर्ण माछापुच्छे, नीलगिरी लगायत १५ वटा हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिदो रहेछ ।पुनहिलबाट आकर्षक देखिदो रहेछ सूर्योदय ।
पर्यटकहरू सूर्योदय हेर्नकै लागि मिर्मिरेमै पुनहिल पुग्ने गरेका छन् ।
हामी पनि बिहान सबेरै पुगेको । सूर्योदयको बेलामा देखिने हिमाल झन आकर्षक । घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले सबैको मन लोभ्यायो । पुनहिलमा उभिएर हेर्दा आफूजत्रै देखिदा रहेछन् – अन्नपूर्ण, धौलागिरी र अरु हिमालहरु ।










