आजभन्दा झण्डै ३०४ वर्षपूर्व पुष २७ गते रात्रि झण्डै ९ बजेतिर गोरखाको माझकोटमा सुडेनीसहित शाहपरिवारमा खल्लीबल्ली चलिरहेको थियो । कौशल्यावती गर्भवती भएको ७ महिना नपुग्दै सुत्केरी व्यथाले गस्त बनिन् ।
प्रविधि नभएको, विज्ञहरुको अभावमा महारानी कौशल्यावतीको जीवन के हुने हो सन्देहात्मक भयो । सिंह लग्न लागेपछि चन्द्रमाले मकर राशिमा प्रवेश गर्दा नवयुवराजले गोरखाराजगद्दीमा आफ्नो नाम दखल गराए । उनलाई पृथ्वीनारायण नाम दिइयो । पुषको चिसोमा लामो प्रतिक्षापछि गोरखाले उत्तराधिकारीको न्यानो भरोसा दियो ।
पृथ्वीनारायण शाह युवराज हुँदासम्म भारद्वाज गोत्रीय भइरहे, राजगद्दीमा बसेपछि काश्यप गोत्रमा बदलिए । २१ वर्षसम्म गोरखाली राजा भए, २२ वर्षमा राजधानी नुवाकोटमा सारे, ४६ वर्षको वयमा पुन: कान्तिपुरमा गोरखाको विरासद विसर्जन गरी नेपाल नरेश बने । जन्मले पृथ्वीनारायण, कर्मले गोरखानारायण हुँदै योगदानले नेपालनारायणसम्मको यात्रा पृथ्वीले पार गरे ।
पुगनपुग ५२ वर्ष ४ दिन जति बाँचेका पृथ्वीको चिन्तन, कर्म, रणनीतिमा सधैँ युवापन, माटोप्रतिको मोह, भविष्यप्रतिको सजगता देखियो । पृथ्वी कर्म र चिन्तनले राजा भए तथापि राजर्षि ठाँट देखिएन ठकुरी राजाको आँटमात्र भेटियो । गोरखाको माझकोटमा जन्मिहुर्केका पृथ्वीले लमजुङलाई निहाल्ने, नेपाललाई चिहाए, द्रव्य शाहको जीवनी पढे, राम शाहको उपदेशलाई अध्ययन गरे, वर्तमान परिस्थितिलाई निहालेर आफ्नै नाडी छामे ।
पृथ्वीलाई नेपालको चिन्ता थियो, नेपालीको गौरवमा सन्देह थियो, एकीकरणपछि गर्नुपर्ने कर्तव्य मनमा जागिरहेको थियो । जीवनभरको अनुभवलाई एक मूर्त सोचमा व्यक्त गरे जसलाई दिव्योपदेश भनिन्छ । दिव्योपदेश शासकका लागि पाठ हो, जनताका लागि ग्रन्थ हो, भविष्यका लागि आशीर्वाद हो, नेपालीका लागि बाटो हो । पृथ्वी सात महिनामा जन्मिएका, गोरखानाथबाट आशीर्वाद लिएका, सबै वर्ग र क्षमतालाई सदुपयोग गर्ने भएका उनलाई शाहवंशीय शासकभन्दा पनि एकताका प्रतिक ठान्दा न्याय हुन सक्छ । राजाले राज्य गर्छ, अन्य राज्यलाई आफ्नो मुलुकमा मिलाएर सम्राट् भनाउन खोज्छ, कीर्ति गाउन लगाउँछ ।
उनले आफ्नो राज्य विलय गरे, विजयी भएर पनि त्यसको फल स्वराज्यलाई होइन भविष्यका सन्ततिलाई मुलुक अर्पण गरे । पृथ्वीको नेतृत्वले नेपालको जग राखेको, पुरानो नेपालको विरासदलाई बचाएको पाठ पढ्नुपर्छ, मार्गदर्शन लिनुपर्छ । पृथ्वीका सन्तानलाई हेरेर, वंशजका कर्मलाई देखेर, हकदारका जीवनलाई मापन गरेर सम्मान वा अपमान गर्नु हुँदैन ।
पृथ्वी पृथ्वीकै युगमा जन्मिए, पृथ्वीकै नामले काम गरे, उनले वंशजलाई नै नेपालीका लागि कर्म गरेका हुँदा त्यही तुलोमा जोख्नुपर्छ । उनले जीवनलाई दाउ लगाएर, जवानीलाई गुमाए, इच्छालाई त्यागेर नेपाल एकीकरण गरेका हुँदा राष्ट्रनिर्माता हुन् । नेपालको माटोलाई, गोरखाको पाटोलाई, कीर्तिपुरको पाखोलाई सोध्ने हो भने पनि उनी राष्ट्रनिर्माता नै हुन् । उनी गोरखाबाट हिँडेर नेपाल आइपुगेको पथ शाहवंशीय पथ होइन पृथ्वीपथ थियो भन्ने सन्देशलाई सन्देहात्मक बनाउने काम कुनै पनि जीवित नेपालीले गर्न सक्दैन ।
सौतानेआमा भए पनि चन्द्रप्रभावती पृथ्वीको भाग्यदाता हुन भन्दा फरक पर्दैन । नरभूपालकी जेठीमहारानी चन्द्रप्रभाले सौता तथा सौताका सन्तानलाई कहिल्यै विमातृको व्यवहार देखाइनन् । उनीको त्यही व्यवहारलाई दिव्योपदेशमा पृथ्वीले भने हामी तीन गुडका पाञ्चपाण्डव थियौँ । पृथ्वीले बनारस जाँदा राज्यभार चन्द्रप्रभावतीलाई नै सुम्पेका थिए । चन्द्रप्रभामा राजनीतिक चेत, माटोप्रति सचेत, छिमेकीहरुको ज्ञान थियो ।
लमजुङसँगको चीर शत्रुताले दीर्घकालसम्म कति नकारात्मक असर गर्छ भन्ने तथ्य पृथ्वीलाई सिकाउने काम उनैले गरेकी थिइन् । घरको कुरा सुन्नुपर्छ, परिवारलाई बुझ्नुपर्छ, अग्रजबाट सिक्नुपर्छ, माटोलाई ढोग्नुपर्छ भन्ने विषयमा पृथ्वी बाल्यकालदेखि विश्वसस्थ थिए । नरभूपाल शाहको अन्तिम अवस्था स्वस्थका दृष्टिले कमजोर थिए, राजनीतिक चिन्तनमा नाजुक बने तथापि बुबालाई अपदस्थ गर्ने वा दखल दिने काम पृथ्वीले कहिल्यै गरेनन् । गोरखालाई पूर्वतर्फ बढाउन नसक्नु, लमजुङबाट सधैँ तर्सनुपर्ने अवस्थामा नरभूपालले देहत्याग गरे ।
यही अवस्थामा पृथ्वीले सत्ता सम्हाले जतिबेला उनी २१ वर्षका मात्र थिए । त्यो युवाजोशमा पुगिरहँदा मकवानपुरकी युवराज्ञी इन्द्रकुमारीसँग भएको विवाहले पृथ्वीलाई झस्काइसकेको थियो । ससुरालीबाट अपमानित, नुवाकोटमा पराजित, आर्थिक अवस्थाले गलित हुँदा पनि पृथ्वीमा केही गर्नुपर्छ भन्ने जोश, जाँगर र चिन्तन भने झाँगिदै गइरहेको थियो । शासकले हरेश होइन हिम्मतसहित काम गर्नुपर्छ, अभावले आत्तिने होइन आभासहित अघि बढ्नुपर्छ भन्ने चेत उनीमा थियो ।
युवावस्थामा नै पृथ्वीले देखाएको भारदारको छनौटले उनको निर्णय क्षमतालाई दर्साउँछ । उनको शासनकालसम्म आइपुग्दा विराज बखेतीले दरबारमा मात्र होइन पृथ्वीकै हृदयमा राम्रो पकड जमाइसकेका थिए । गोरखालाई विशाल नेपालमा विलय गराई शासनको बागडोर आफूले सम्हाल्ने योजनाका लागि विराज नै उपयुक्त पात्र हुन सक्नेमा उनी विचार गर्दै थिए ।
प्रजालाई नबुझेको प्रशासन लङ्गडो हुन्छ, जनतामा नजँचेको नेतृत्व नउठ्ने गरी ढल्छ, भारदारमा जन र राज्यको भार थाम्ने तागत हुनुपर्छ भन्ने बुझेका पृथ्वीले छिमेकी राज्य र जनमतलाई हेरे । सबैको राय र इच्छालाई मापन गर्दा कालु पाण्डेकै कद र भार बढी देखिएपछि मुलकाजीको पथबाट विराज अलग हुन पुगे ।
जनमत नै राज्यको जग हो भन्ने पृथ्वीको प्रजातान्त्रिक सोचलाई नेपालको वर्तमान राजनीतिले ग्रहण गर्न सकेको छैन । पृथ्वीले शासनमा मात्र होइन एकीकरणमा पनि युवाकै चरु हाल्न चुकेनन् । राज्यसञ्चालन मनको लहड होइन जनलहरमा भरपर्छ । अधिकांश युवाको रगतलाई, जवानको जवानीलाई, सक्षमको सर्वश्वलाई हवन गरी नेपाल एकीकरण गरे । अहिलेका जेनजीले गोरखाको माझकोट, नुवाकोटको साततलेदरबार, कान्तिपुरको तलेजुमन्दिरबाट यही कुराको दीक्षा लिन आवश्यक छ ।
पृथ्वी चिन्तनको एक जीवन्त सन्देश हो साझाफूलबारी । अनेक फूलहरुको बीजारोपण, अंकुरण, उम्रन, फूल पाएमा मात्र त्यो साझा फूलबारी देखिन्छ र हुन्छ । साझाफूलबारीमा सबै फूलको सुगन्ध आउँछ, स्वरुपगत रुपले सुन्दर देखिन्छ, एउटाबाट अर्कोलाई ओस लाग्दैन बरु आँट मिल्छ । पृथ्वीको फूलबारीका एक पुष्प हुन् विशे नगर्ची । विशे नामको फूलले पृथ्वीलाई नेपाल एकीकरण एवं गोरखा विर्सजनका लागि अर्थ संकलन गर्ने उपदेश दिए । गोरखादरबारभन्दा केही तल बस्ने विशेको यही सुगन्धले बीस हजार घरघुरी भएको गोरखाले नेपाल हान्ने र नेपालीलाई एकजुट गराउने योजनालाई सकारा गरायो ।
पृथ्वीले दरौँदीमा पौडी खेल्न जाँदा जनतालाई नसोधी उखु खाएको आरोप खेपे । त्यो खबर दिने केशव द्वारेलाई पृथ्वीले भौतिक कारवाही गरेनन् बरु एक फूलको रुपमा गोरखाकै साझाफूलबारीमा सजाए । असल र आवश्यक सल्लाह दिनेहरु साझा फूलबारीमा राख्नुपर्छ भन्ने ज्ञान नेपालका पार्टीहरुले नसिकेकाले नेपालीलाई पाटीकै बास बनाउन लागे । युवाहरुको हृदय कस्तो हुनुपर्छ ? पदमा बसेकाले अपमानलाई कसरी सहनुपर्छ ? तल्लोतहका मानिसहरुको विचारलाई कस्तो स्थान दिनुपर्छ भन्ने ज्ञान पृथ्वीबाटै सिक्नुपर्छ । त्यस कार्यले मात्र फूलबारीको सौन्दर्य बढ्छ, बारीको गरिमा बढ्छ, मालीको मनोबल बढ्छ ।
जनबल र जगत्बललाई जनार्दनको बलसँग जोड्नपर्छ भन्ने चिन्तन पृथ्वीको थियो । गोरखनाथको दधीबर पाएको उनले योद्धालाई सक्षम बनाउन बनारससम्म हतियार लिन पुगे । राजपाठ सम्हालेकै बर्ष उनी बनारसमा पुगेर अंग्रेजलाई चिहाए, जाजरकोटका राजासँग एकानी शत्रु, एकानी मित्रुको सन्धि गरे, तीन जना प्रशिक्षकसहित हतियार लिएर गोरखा फर्के ।
तात्कालिक गोरखाराज्यबाट वनारससम्मको दुरी पार गर्नका लागि तीन सय वर्ष पूर्व निकै मिहिनेत गर्नुपर्दथ्यो । बाटोको विकटतामात्र होइन नदी, जंगलले निकै चुनौती दिन्थे । जहाजमा चढेर मुग्लान पसेजस्तो सहजता थिएन । छुवाछुतको जरो गाडेको तात्कालिक गोरखामा मुसलमानहरुलाई राख्नका लागि खानचोकलाई छनौट गरियो । खानचोक र ज्यादुलखोलालाई सोधे पृथ्वीको समभावको योजनालाई सजिलै बुझ्न सकिन्छ ।
पृथ्वीलाई युगान्ताकारी आन्दोलकका रुपमा हेर्नुपर्छ । २२ वर्ष पुगेका पृथ्वीले वि. सं. १८०१ मा नुवाकोट जितेपछि अघोषित राजधानी यहीँ भयो । साततले दरबार बनाए, शेरादरबारको निर्माण गराए अनि गोरखालाई विशाल नेपालमा मिसाउने योजनामा लागे । अंग्रेजले भारतलाई निल्दै गरेको, शिख र मुसलमानहरुले अंग्रेजलाई एकजुट भएर प्रतिकार गर्नुको सट्टामा आफैँभित्र विभक्त भएको पृथ्वीले देखेका थिए । शास्त्रभन्दा माथि उठेर, शस्त्रबललाई युगानुकूल प्रयोग गरेर, सबै प्रकारका शक्तिलाई परिचालन नगरे गोरखालाई लमजुङ्गले निल्छ, अंग्रेजले पचाउँछ भन्ने ज्ञान पृथ्वीलाई वनारस यात्राले दिलाएको थियो ।
गोरखा वरिपरि रहेका आठ राज्यमा शाहवंशका सन्ततिले राज्य गरिरहेका थिए । तिनीहरुलाई गोरखाले नेपालमा गाभ्नु थियो । गोत्र हत्याको पापबाट मुक्ति पाउनका लागि उनले भइरहेको भारद्वाज गोत्रलाई त्यागी काश्यप गोत्रमा रुपान्तरण गरे । शाहवंशको इतिहासमा मात्र होइन कुनै पनि शासकले राष्ट्रका लागि गोत्र त्यागेको छ भने त्यो पृथ्वीनारायण नै हो । उनले गोरखकाली र गोरखनाथसरह नै नुवाकोटभैरवी, कीर्तिपुरका बाघभैरवलाई स्थान दिए । आफ्नो राज्य भिन्न बस्दै आएका भवन्तनाथलाई गोसाइँको स्थान दिइ एकीकरणमा साथ लिए । विशाल नेपाल निर्माणको प्यासमा गोरखा, गोत्र, इष्टदेवसमेतलाई दाउमा लगाउने पृथ्वीचिन्तनमा परिवर्तनकारीपन र युगान्तकारी योगदान देखिन्छ ।
नेपाल नै आर्यावर्तको मुटु हो, संस्कृतिको जननि हो, धर्मको जरा हो, साधनाको श्वास हो भन्ने तथ्यलाई पृथ्वीले बुझेको थिए । कुनै पनि काम साइतमा गर्थे, पूजापाठपछि योजना बनाउथे, काम सम्पन्न भएपछि मठमन्दिरमा गुठी थपिदिन्थे । गोरखादरबारको दाहिनेतर्फ रहेको गोरखगुफा र देब्रेतर्फ रहेकी कालीमन्दिरको बिचमा जन्मिहुर्केका पृथ्वीलाई आशीर्वादको महत्व राम्रोसँग थाहा थियो ।
गोरखाको उपल्लोकोटमा रहेका वज्रभैरवभट्टारकलाई उनले राम्रैसँग पुज्थे । राम शाहको चौतारोले उनलाई न्याय गर्न सिकाएको थियो । गोरखादरबारभन्दा केही तल अर्थात् हनुमान्भञ्ज्याङमा हातमा तरबार लिएकी सरस्वतीको दर्शन र आशीर्वादबाट पृथ्वी एकीकरणमा ओतप्रोत थिए । राम शाहकी आमा मानिने सल्ल्यानभगवती, राम शाहकी श्रीमती मनकामनाप्रति उनको अगाढ श्रद्धा थियो ।
पृथ्वीलाई शास्त्र र संविधानको बारेमा राम्रो ज्ञान थियो । उनले जयस्थिति मल्लको थिति, महेन्द्र मल्लको थिति, राम शाहको थिति पढी सकेको र समयले साथ दिएमा आफूले पनि थिति बाध्ने अर्थात् संविधान लेख्ने योजना गरेको बारेमा दिव्योपदेशले जानकारी दिन्छ । पृथ्वीले माटो बुझेका थिए, एकीकरणको महत्व देखेको थिए, युद्धबाट होइन जनभाव जित्नुपर्छ भन्ने याद गरेका थिए । भविष्यमा कुनै विखण्डन नहोस्, जनताले माटोसँग मुटु साट्नुपर्छ भन्ने हेतुले दिव्योपदेश दिए ।
पृथ्वीनारायणले जनतालाई राजावादी हिन्दूवादी बनाएनन् । पृथ्वीले नेपाललाई असली हिन्दूस्थान भने । हिन्दू अन्य मुलुकमा पनि होलान् तथापि शुद्ध हिन्दू यहीँ भएकाले नेपाललाई असली हिन्दूस्थान भने । उनले मानिस हिन्दू बनाउनुभन्दा पहिले माटोलाई हिन्दूस्थान बनाउने सन्देश दिए । हिमालले हिन्दूलाई जन्माउँछ, पर्वतले पार्वती जन्माउँछ, तराईले तपस्वी जन्माउँछ अनि पो हिन्दूस्थान हुन्छ । गाई, माई, भाइमाथिको विश्वास र श्रद्धाले मात्र नेपाल वास्तवमा हिन्दूस्थान हुन्छ भन्ने विश्वास पृथ्वीलाई थियो । यहाँ शालग्राम छ, महादेवको बासस्थान छ, देवीको निबास स्थान छ, तुलसी र पीपल जहाँ उम्रन्छन्, दुबो जहाँ पलाउँछ त्यो भूमि हिन्दूस्थान हो ।
नेपाल नै असलीहिन्दू राष्ट्र हो, नेपाली नै असली हिन्दू हुन भन्ने तथ्य गोरखाका गोरखनाथ, नेपालका पशुपति र स्वयम्भूनाथले दिइरहेको तथ्यलाई पृथ्वीले सूचित गरिदिए । यही चिन्तनलाई बुझेर गोरखाराज्यलाई नेपालमा मिसाएर नेपाल राष्ट्र बनाए । राज्यलाई राष्ट्रमा बदल्ने पथ नै पृथ्वीपथ हो । राजालाई सेवक बनाउने जनतालाई राष्ट्रसँग जोड्ने चिन्तन नै पृथ्वीचिन्तन हो । जाति, धर्म, लिङ्गमा विभाजित हामीले राजावादी, हिन्दूवादी, गणतन्त्रवादीको बाटो हिड्ने होइन पृथ्वीपथका पथिक बन्नुपर्छ । पृथ्वीपथले रजौटालाई नेपालमा गाभ्छ र गोरखालाई विशाल नेपालमा विलय गराई हामीलाई नेपाली बनाउँछ । नेपाल बचाउने, नेपाली हुने पथ नै पृथ्वीपथ हो ।











