५ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीपथ: गोरखादेखि नेपालसम्म



अ+ अ-

आजभन्दा झण्डै ३०४ वर्षपूर्व पुष २७ गते रात्रि झण्डै ९ बजेतिर गोरखाको माझकोटमा सुडेनीसहित शाहपरिवारमा खल्लीबल्ली चलिरहेको थियो । कौशल्यावती गर्भवती भएको ७ महिना नपुग्दै सुत्केरी व्यथाले गस्त बनिन् ।

प्रविधि नभएको, विज्ञहरुको अभावमा महारानी कौशल्यावतीको जीवन के हुने हो सन्देहात्मक भयो । सिंह लग्न लागेपछि चन्द्रमाले मकर राशिमा प्रवेश गर्दा नवयुवराजले गोरखाराजगद्दीमा आफ्नो नाम दखल गराए । उनलाई पृथ्वीनारायण नाम दिइयो । पुषको चिसोमा लामो प्रतिक्षापछि गोरखाले उत्तराधिकारीको न्यानो भरोसा दियो ।

पृथ्वीनारायण शाह युवराज हुँदासम्म भारद्वाज गोत्रीय भइरहे, राजगद्दीमा बसेपछि काश्यप गोत्रमा बदलिए । २१ वर्षसम्म गोरखाली राजा भए, २२ वर्षमा राजधानी नुवाकोटमा सारे, ४६ वर्षको वयमा पुन: कान्तिपुरमा गोरखाको विरासद विसर्जन गरी नेपाल नरेश बने । जन्मले पृथ्वीनारायण, कर्मले गोरखानारायण हुँदै योगदानले नेपालनारायणसम्मको यात्रा पृथ्वीले पार गरे ।

पुगनपुग ५२ वर्ष ४ दिन जति बाँचेका पृथ्वीको चिन्तन, कर्म, रणनीतिमा सधैँ युवापन, माटोप्रतिको मोह, भविष्यप्रतिको सजगता देखियो । पृथ्वी कर्म र चिन्तनले राजा भए तथापि राजर्षि ठाँट देखिएन ठकुरी राजाको आँटमात्र भेटियो । गोरखाको माझकोटमा जन्मिहुर्केका पृथ्वीले लमजुङलाई निहाल्ने, नेपाललाई चिहाए, द्रव्य शाहको जीवनी पढे, राम शाहको उपदेशलाई अध्ययन गरे, वर्तमान परिस्थितिलाई निहालेर आफ्नै नाडी छामे ।

पृथ्वीलाई नेपालको चिन्ता थियो, नेपालीको गौरवमा सन्देह थियो, एकीकरणपछि गर्नुपर्ने कर्तव्य मनमा जागिरहेको थियो । जीवनभरको अनुभवलाई एक मूर्त सोचमा व्यक्त गरे जसलाई दिव्योपदेश भनिन्छ । दिव्योपदेश शासकका लागि पाठ हो, जनताका लागि ग्रन्थ हो, भविष्यका लागि आशीर्वाद हो, नेपालीका लागि बाटो हो । पृथ्वी सात महिनामा जन्मिएका, गोरखानाथबाट आशीर्वाद लिएका, सबै वर्ग र क्षमतालाई सदुपयोग गर्ने भएका उनलाई शाहवंशीय शासकभन्दा पनि एकताका प्रतिक ठान्दा न्याय हुन सक्छ । राजाले राज्य गर्छ, अन्य राज्यलाई आफ्नो मुलुकमा मिलाएर सम्राट् भनाउन खोज्छ, कीर्ति गाउन लगाउँछ ।

उनले आफ्नो राज्य विलय गरे, विजयी भएर पनि त्यसको फल स्वराज्यलाई होइन भविष्यका सन्ततिलाई मुलुक अर्पण गरे । पृथ्वीको नेतृत्वले नेपालको जग राखेको, पुरानो नेपालको विरासदलाई बचाएको पाठ पढ्नुपर्छ, मार्गदर्शन लिनुपर्छ  । पृथ्वीका सन्तानलाई हेरेर, वंशजका कर्मलाई देखेर, हकदारका जीवनलाई मापन गरेर सम्मान वा अपमान गर्नु हुँदैन ।

पृथ्वी पृथ्वीकै युगमा जन्मिए, पृथ्वीकै नामले काम गरे, उनले वंशजलाई नै नेपालीका लागि कर्म गरेका हुँदा त्यही तुलोमा जोख्नुपर्छ । उनले जीवनलाई दाउ लगाएर, जवानीलाई गुमाए, इच्छालाई त्यागेर नेपाल एकीकरण गरेका हुँदा राष्ट्रनिर्माता हुन् । नेपालको माटोलाई, गोरखाको पाटोलाई, कीर्तिपुरको पाखोलाई सोध्ने हो भने पनि उनी राष्ट्रनिर्माता नै हुन् । उनी गोरखाबाट हिँडेर नेपाल आइपुगेको पथ शाहवंशीय पथ होइन पृथ्वीपथ थियो भन्ने सन्देशलाई सन्देहात्मक बनाउने काम कुनै पनि जीवित नेपालीले गर्न सक्दैन ।

सौतानेआमा भए पनि चन्द्रप्रभावती पृथ्वीको भाग्यदाता हुन भन्दा फरक पर्दैन । नरभूपालकी जेठीमहारानी चन्द्रप्रभाले सौता तथा सौताका सन्तानलाई कहिल्यै विमातृको व्यवहार देखाइनन् । उनीको त्यही व्यवहारलाई दिव्योपदेशमा पृथ्वीले भने हामी तीन गुडका पाञ्चपाण्डव थियौँ । पृथ्वीले बनारस जाँदा राज्यभार चन्द्रप्रभावतीलाई नै सुम्पेका थिए । चन्द्रप्रभामा राजनीतिक चेत, माटोप्रति सचेत, छिमेकीहरुको ज्ञान थियो ।

लमजुङसँगको चीर शत्रुताले दीर्घकालसम्म कति नकारात्मक असर गर्छ भन्ने तथ्य पृथ्वीलाई सिकाउने काम उनैले गरेकी थिइन् । घरको कुरा सुन्नुपर्छ, परिवारलाई बुझ्नुपर्छ, अग्रजबाट सिक्नुपर्छ, माटोलाई ढोग्नुपर्छ भन्ने विषयमा पृथ्वी बाल्यकालदेखि विश्वसस्थ थिए । नरभूपाल शाहको अन्तिम अवस्था स्वस्थका दृष्टिले कमजोर थिए, राजनीतिक चिन्तनमा नाजुक बने तथापि बुबालाई अपदस्थ गर्ने वा दखल दिने काम पृथ्वीले कहिल्यै गरेनन् । गोरखालाई पूर्वतर्फ बढाउन नसक्नु, लमजुङबाट सधैँ तर्सनुपर्ने अवस्थामा नरभूपालले देहत्याग गरे ।

यही अवस्थामा पृथ्वीले सत्ता सम्हाले जतिबेला उनी २१ वर्षका मात्र थिए । त्यो युवाजोशमा पुगिरहँदा मकवानपुरकी युवराज्ञी इन्द्रकुमारीसँग भएको विवाहले पृथ्वीलाई झस्काइसकेको थियो । ससुरालीबाट अपमानित, नुवाकोटमा पराजित, आर्थिक अवस्थाले गलित हुँदा पनि पृथ्वीमा केही गर्नुपर्छ भन्ने जोश, जाँगर र चिन्तन भने झाँगिदै गइरहेको थियो । शासकले हरेश होइन हिम्मतसहित काम गर्नुपर्छ, अभावले आत्तिने होइन आभासहित अघि बढ्नुपर्छ भन्ने चेत उनीमा थियो ।

युवावस्थामा नै पृथ्वीले देखाएको भारदारको छनौटले उनको निर्णय क्षमतालाई दर्साउँछ । उनको शासनकालसम्म आइपुग्दा विराज बखेतीले दरबारमा मात्र होइन पृथ्वीकै हृदयमा राम्रो पकड जमाइसकेका थिए । गोरखालाई विशाल नेपालमा विलय गराई शासनको बागडोर आफूले सम्हाल्ने योजनाका लागि विराज नै उपयुक्त पात्र हुन सक्नेमा उनी विचार गर्दै थिए ।

प्रजालाई नबुझेको प्रशासन लङ्गडो हुन्छ, जनतामा नजँचेको नेतृत्व नउठ्ने गरी ढल्छ, भारदारमा जन र राज्यको भार थाम्ने तागत हुनुपर्छ भन्ने बुझेका पृथ्वीले छिमेकी राज्य र जनमतलाई हेरे । सबैको राय र इच्छालाई मापन गर्दा कालु पाण्डेकै कद र भार बढी देखिएपछि मुलकाजीको पथबाट विराज अलग हुन पुगे ।

जनमत नै राज्यको जग हो भन्ने पृथ्वीको प्रजातान्त्रिक सोचलाई नेपालको वर्तमान राजनीतिले ग्रहण गर्न सकेको छैन । पृथ्वीले शासनमा मात्र होइन एकीकरणमा पनि युवाकै चरु हाल्न चुकेनन् । राज्यसञ्चालन मनको लहड होइन जनलहरमा भरपर्छ । अधिकांश युवाको रगतलाई, जवानको जवानीलाई, सक्षमको सर्वश्वलाई हवन गरी नेपाल एकीकरण गरे । अहिलेका जेनजीले गोरखाको माझकोट, नुवाकोटको साततलेदरबार, कान्तिपुरको तलेजुमन्दिरबाट यही कुराको दीक्षा लिन आवश्यक छ ।

पृथ्वी चिन्तनको एक जीवन्त सन्देश हो साझाफूलबारी । अनेक फूलहरुको बीजारोपण, अंकुरण, उम्रन, फूल पाएमा मात्र त्यो साझा फूलबारी देखिन्छ र हुन्छ । साझाफूलबारीमा सबै फूलको सुगन्ध आउँछ, स्वरुपगत रुपले सुन्दर देखिन्छ, एउटाबाट अर्कोलाई ओस लाग्दैन बरु आँट मिल्छ । पृथ्वीको फूलबारीका एक पुष्प हुन् विशे नगर्ची । विशे नामको फूलले पृथ्वीलाई नेपाल एकीकरण एवं गोरखा विर्सजनका लागि अर्थ संकलन गर्ने उपदेश दिए । गोरखादरबारभन्दा केही तल बस्ने विशेको यही सुगन्धले बीस हजार घरघुरी भएको गोरखाले नेपाल हान्ने र नेपालीलाई एकजुट गराउने योजनालाई सकारा गरायो ।

पृथ्वीले दरौँदीमा पौडी खेल्न जाँदा जनतालाई नसोधी उखु खाएको आरोप खेपे । त्यो खबर दिने केशव द्वारेलाई पृथ्वीले भौतिक कारवाही गरेनन् बरु एक फूलको रुपमा गोरखाकै साझाफूलबारीमा सजाए । असल र आवश्यक सल्लाह दिनेहरु साझा फूलबारीमा राख्नुपर्छ भन्ने ज्ञान नेपालका पार्टीहरुले नसिकेकाले नेपालीलाई पाटीकै बास बनाउन लागे । युवाहरुको हृदय कस्तो हुनुपर्छ ? पदमा बसेकाले अपमानलाई कसरी सहनुपर्छ ? तल्लोतहका मानिसहरुको विचारलाई कस्तो स्थान दिनुपर्छ भन्ने ज्ञान पृथ्वीबाटै सिक्नुपर्छ । त्यस कार्यले मात्र फूलबारीको सौन्दर्य बढ्छ, बारीको गरिमा बढ्छ, मालीको मनोबल बढ्छ ।

जनबल र जगत्बललाई जनार्दनको बलसँग जोड्नपर्छ भन्ने चिन्तन पृथ्वीको थियो । गोरखनाथको दधीबर पाएको उनले योद्धालाई सक्षम बनाउन बनारससम्म हतियार लिन पुगे । राजपाठ सम्हालेकै बर्ष उनी बनारसमा पुगेर अंग्रेजलाई चिहाए, जाजरकोटका राजासँग एकानी शत्रु, एकानी मित्रुको सन्धि गरे, तीन जना प्रशिक्षकसहित हतियार लिएर गोरखा फर्के ।

तात्कालिक गोरखाराज्यबाट वनारससम्मको दुरी पार गर्नका लागि तीन सय वर्ष पूर्व निकै मिहिनेत गर्नुपर्दथ्यो । बाटोको विकटतामात्र होइन नदी, जंगलले निकै चुनौती दिन्थे । जहाजमा चढेर मुग्लान पसेजस्तो सहजता थिएन । छुवाछुतको जरो गाडेको तात्कालिक गोरखामा मुसलमानहरुलाई राख्नका लागि खानचोकलाई छनौट गरियो । खानचोक र ज्यादुलखोलालाई सोधे पृथ्वीको समभावको योजनालाई सजिलै बुझ्न सकिन्छ ।

पृथ्वीलाई युगान्ताकारी आन्दोलकका रुपमा हेर्नुपर्छ । २२ वर्ष पुगेका पृथ्वीले वि. सं. १८०१ मा नुवाकोट जितेपछि अघोषित राजधानी यहीँ भयो । साततले दरबार बनाए, शेरादरबारको निर्माण गराए अनि गोरखालाई विशाल नेपालमा मिसाउने योजनामा लागे । अंग्रेजले भारतलाई निल्दै गरेको, शिख र मुसलमानहरुले अंग्रेजलाई एकजुट भएर प्रतिकार गर्नुको सट्टामा आफैँभित्र विभक्त भएको पृथ्वीले देखेका थिए । शास्त्रभन्दा माथि उठेर, शस्त्रबललाई युगानुकूल प्रयोग गरेर, सबै प्रकारका शक्तिलाई परिचालन नगरे गोरखालाई लमजुङ्गले निल्छ, अंग्रेजले पचाउँछ भन्ने ज्ञान पृथ्वीलाई वनारस यात्राले दिलाएको थियो ।

गोरखा वरिपरि रहेका आठ राज्यमा शाहवंशका सन्ततिले राज्य गरिरहेका थिए । तिनीहरुलाई गोरखाले नेपालमा गाभ्नु थियो । गोत्र हत्याको पापबाट मुक्ति पाउनका लागि उनले भइरहेको भारद्वाज गोत्रलाई त्यागी काश्यप गोत्रमा रुपान्तरण गरे । शाहवंशको इतिहासमा मात्र होइन कुनै पनि शासकले राष्ट्रका लागि गोत्र त्यागेको छ भने त्यो पृथ्वीनारायण नै हो । उनले गोरखकाली र गोरखनाथसरह नै नुवाकोटभैरवी, कीर्तिपुरका बाघभैरवलाई स्थान दिए । आफ्नो राज्य भिन्न बस्दै आएका भवन्तनाथलाई गोसाइँको स्थान दिइ एकीकरणमा साथ लिए । विशाल नेपाल निर्माणको प्यासमा गोरखा, गोत्र, इष्टदेवसमेतलाई दाउमा लगाउने पृथ्वीचिन्तनमा परिवर्तनकारीपन र युगान्तकारी योगदान देखिन्छ ।

नेपाल नै आर्यावर्तको मुटु हो, संस्कृतिको जननि हो, धर्मको जरा हो, साधनाको श्वास हो भन्ने तथ्यलाई पृथ्वीले बुझेको थिए । कुनै पनि काम साइतमा गर्थे, पूजापाठपछि योजना बनाउथे, काम सम्पन्न भएपछि मठमन्दिरमा गुठी थपिदिन्थे । गोरखादरबारको दाहिनेतर्फ रहेको गोरखगुफा र देब्रेतर्फ रहेकी कालीमन्दिरको बिचमा जन्मिहुर्केका पृथ्वीलाई आशीर्वादको महत्व राम्रोसँग थाहा थियो ।

गोरखाको उपल्लोकोटमा रहेका वज्रभैरवभट्टारकलाई उनले राम्रैसँग पुज्थे । राम शाहको चौतारोले उनलाई न्याय गर्न सिकाएको थियो । गोरखादरबारभन्दा केही तल अर्थात् हनुमान्भञ्ज्याङमा हातमा तरबार लिएकी सरस्वतीको दर्शन र आशीर्वादबाट पृथ्वी एकीकरणमा ओतप्रोत थिए । राम शाहकी आमा मानिने सल्ल्यानभगवती, राम शाहकी श्रीमती मनकामनाप्रति उनको अगाढ श्रद्धा थियो ।

पृथ्वीलाई शास्त्र र संविधानको बारेमा राम्रो ज्ञान थियो । उनले जयस्थिति मल्लको थिति, महेन्द्र मल्लको थिति, राम शाहको थिति पढी सकेको र समयले साथ दिएमा आफूले पनि थिति बाध्ने अर्थात् संविधान लेख्ने योजना गरेको बारेमा दिव्योपदेशले जानकारी दिन्छ । पृथ्वीले माटो बुझेका थिए, एकीकरणको महत्व देखेको थिए, युद्धबाट होइन जनभाव जित्नुपर्छ भन्ने याद गरेका थिए । भविष्यमा कुनै विखण्डन नहोस्, जनताले माटोसँग मुटु साट्नुपर्छ भन्ने हेतुले दिव्योपदेश दिए ।

पृथ्वीनारायणले जनतालाई राजावादी हिन्दूवादी बनाएनन् । पृथ्वीले नेपाललाई असली हिन्दूस्थान भने । हिन्दू अन्य मुलुकमा पनि होलान् तथापि शुद्ध हिन्दू यहीँ भएकाले नेपाललाई असली हिन्दूस्थान भने । उनले मानिस हिन्दू बनाउनुभन्दा पहिले माटोलाई हिन्दूस्थान बनाउने सन्देश दिए । हिमालले हिन्दूलाई जन्माउँछ, पर्वतले पार्वती जन्माउँछ, तराईले तपस्वी जन्माउँछ अनि पो हिन्दूस्थान हुन्छ । गाई, माई, भाइमाथिको विश्वास  र श्रद्धाले मात्र नेपाल वास्तवमा हिन्दूस्थान हुन्छ भन्ने विश्वास पृथ्वीलाई थियो । यहाँ शालग्राम छ, महादेवको बासस्थान छ, देवीको निबास स्थान छ, तुलसी र पीपल जहाँ उम्रन्छन्, दुबो जहाँ पलाउँछ त्यो भूमि हिन्दूस्थान हो ।

नेपाल नै असलीहिन्दू राष्ट्र हो, नेपाली नै असली हिन्दू हुन भन्ने तथ्य गोरखाका गोरखनाथ, नेपालका पशुपति र स्वयम्भूनाथले दिइरहेको तथ्यलाई पृथ्वीले सूचित गरिदिए । यही चिन्तनलाई बुझेर गोरखाराज्यलाई नेपालमा मिसाएर नेपाल राष्ट्र बनाए । राज्यलाई राष्ट्रमा बदल्ने पथ नै पृथ्वीपथ हो । राजालाई सेवक बनाउने जनतालाई राष्ट्रसँग जोड्ने चिन्तन नै पृथ्वीचिन्तन हो । जाति, धर्म, लिङ्गमा विभाजित हामीले राजावादी, हिन्दूवादी, गणतन्त्रवादीको बाटो हिड्ने होइन पृथ्वीपथका पथिक बन्नुपर्छ । पृथ्वीपथले रजौटालाई नेपालमा गाभ्छ र गोरखालाई विशाल नेपालमा विलय गराई हामीलाई नेपाली बनाउँछ । नेपाल बचाउने, नेपाली हुने पथ नै पृथ्वीपथ हो ।