४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

आमावादी आमापथमा हिड्छन् ?

आमावादी आमापथमा हिड्छन् ?
अ+ अ-

आमा खुवाउने औँसीका दिन विहानदेखि फेसबुकहरु रङ्गिन्छन्, चर्चाहरु चुलिन्छन्, व्याख्यानहरु प्रसारण हुन्छन् तर आमाको अवस्था कस्तो छ कमैको ध्यान जान्छ । शब्दमा सजिने र व्यवहारमा देखिने आमाको ओझमा फरक पर्न सक्छ । जे होस् आमाको अगाडि शब्द होस् वा शिर, सम्मान होस् वा श्रद्धा अर्पण हुन्छ नै ।

यस दिन काठमाडौँस्थित मातातीर्थमा गएर स्वर्गवासी भईसकेकी आमाका नाममा पिण्डपानी दिने, विभिन्न माध्यमबाट आमाका नाममा दान आदि गर्ने होड चल्छ । बाध्यताले टाढिएका वा वाहनाले अलगिएकाहरुले पनि आमालाई संझन्छन् । पौरस्त्य परम्पराले आमासँग जोडिन, नजिकिन यस तिथिलाई जन्मायो भन्दा फरक पर्दैन ।

आमालाई शब्दमा व्याख्या गर्न सकिन्न । आमाको बोध आमा शब्दले नै गराउँछ, आमाको ओझ आमा शब्दले नै बताउँछ । प्राणको पहिलो सञ्चार आमाको गर्भमा हुन्छ । पृथ्वीको पहिलो दर्शन आमाको कोखबाट हुन्छ । भोजनको पहिलो गाँस आमाकै स्तनबाट हुन्छ । जीवनको पहिलो बसाई आमाकै काखमा हुन्छ । आवाजको पहिलो अनुभव आमाबाटै गरिन्छ ।

यसकारण हामी आमावादी हौँ अवसरवादी होइनौँ । सिकाईको हिँडाई, संस्कारको हिँडाई, बुझाईको हिँडाई सबै विषय आमाबाट मिल्ने हुँदा जो कोही आमापथमा हिँडेकै हुन्छ । आमालाई भुल्न खोज्दा पनि आमाकै पथमा पुग्छ, आमाकै मार्गमा दौडिन्छ, आमाकै बाटोमा तातेताते गर्छ । यसैले त आमासँग हरेक सन्तानको नाभी गाँसिएको हुन्छ अर्थात् जति टाढा हुन खोजे पनि, जति अलग बस्न चाहे पनि आमाबाट भिन्न हुनसक्दैन । यसैले हामी आमापथमा हिँड्छौँ आमावादी भएर ।

आवाजको पहिलो गुञ्जन, चेतनाको प्रथम सञ्चार, जड र चेतनको संयोजिका, जन्मको नर्सरी माँ (आमा) हुन् । आमालाई देवी, जन्मदाता, सृष्टिकर्ता, संरक्षिका आदि श्रद्धेय रुपमा पुजिन्छ, पुकारिन्छ, बुझिन्छ । धर्तीलाई माता मान्ने, पृथ्वीलाई देवी ठान्ने, जगत्लाई जननी भन्ने, प्रकृतिलाई प्राण संझने ज्ञान हामीलाई आमाले गर्भमा नै दिन्छिन् । हाम्रो चिन्तन र संस्कार, जन्म र जीवन आमाबाट एकरति अलग हुन सक्दैन । आमाले आत्मालाई शरीरमा, जीवलाई जीवनमा, प्राणलाई देहमा राखेर जन्माउँछिन् ।

आमाले कोखमा राखेर, कोक्रोमा हल्लाएर, काखमा खेलाएर हुर्काएकाले जीवनदाता हुन्, आश्रय र आधार हुन्, अमृत हुन् । देह दिएकाले आमालाई देवीस्वरुपमा, गर्भमा राखेकाले पृथ्वीका रुपमा, इतिहासलाई निरन्तरता दिएकाले ईश्वरीका रुपमा उपासना गरिन्छ । वेदको अध्ययन, आर्यावर्तको साधना, अजवर्षको ऊर्जाले हाम्रा पुर्खाहरूलाई आमाको आशीर्वाद लिएर ऋषि बन्ने सौभाग्य मिल्यो । ब्रह्माण्डका हरेक जीवको आमा हुनुहुन्छन् । आमा नहुने टुहुरोले दु:ख पोख्ने चौतारो पाउँदैन, हिँड्ने बाटो देख्दैन, टेक्ने लौरो भेट्दैन । विद्वान्, वीर, सेवक, शासक सबैका आमा छन्, आमाबाटै जन्मिएका हुन् । यसैले हामी आत्मावादी हौँ र आमापथमा हिँड्छौँ ।

सन्तानहरूले अन्तस्करणबाट पूज्ने देवीलाई आमा भनिन्छ । स्वरुप मानिसको भए पनि योग्दान देवीभन्दा अधिक हुन्छ । ‘माङ् माने’ धातुमा ‘आङ्’ उपसर्ग लगाएर आमा शब्द बन्दछ । यसकारण आमा पनि संस्कृतभाषाकै शब्द हो । हाम्रो इतिहासमा, शास्त्रमा, संस्कारमा, समाजमा, दिनचर्यामा आमाको भूमिका महत्वपूर्ण छ । यसैले आमालाई पहिलो विद्यालय भनिन्छ, पहिलो गुरु मानिन्छ ।

आमा शब्द झिकिदिने हो सृष्टि सकिन्छ, जन्म रोकिन्छ, अस्तिŒव अस्ताउँछ, जगत् जान्छ, प्राणीको प्राण पखेरु पत्तासाफ हुन्छ । यसकारण आमाको स्थान पूजनीय, दर्शनीय, प्रात:स्मरणीय र श्रद्धेय छ । आमाको कोखमा जन्मले बास लिन्छ, गर्भले आश्रय लिन्छ, सृष्टिले श्वास फेर्छ, भविष्यले भरोसा गर्छ । इतिहास आमाको गर्भमा हुर्कन्छ, काखमा खेल्छ, आशीर्वादले बढ्छ अनि सन्तानको सुरक्षाकवच भई युगनिर्माणको ढोका खुलाउँछ । आमाको साथ हुँदासम्म हरेक सन्तानले सुरक्षित हुन्छ । यसैले त जन्मभूमिलाई आमाको रुपमा पुजिन्छ ।

सृष्टिलाई हेर्ने हो भने प्रकृति पहिली आमा हुन् । दोस्री जन्म दिने आमा हुन् । अबोध बच्चालाई निस्वार्थ दुध खुवाउने आमालाई धाईआमा (बच्चाबच्चीलाई दुध खुवाउने) भनिन्छ । यसकारण जन्मदिन र विवाह व्रत आदिमा आमासरहकै सम्मान धाईआमालाई दिइन्छ । जीवनरक्षामा सहयोग गर्ने हुँदा प्रकृतिलाई, परम्परासँग जोडिएकाले संस्कृतिलाई, ऊर्जासँग गाँसिएकाले देवीलाई, परम्परासँग टाँसिएकाले संस्कृतिलाई, पर्वसँग अभिन्न हुनाले पार्वतीलाई, ज्ञानमयी भएकीले सरस्वतीलाई, अर्थमयी हुनाले लक्ष्मीलाई आमाका नामले पुकारिन्छ । त्यसैले आमाशब्दको लम्बाई, चौडाई र उचाई नाप्न सक्ने यन्त्र विज्ञानले बनाउन सक्दैन ।

आसा र आस्थाकी केन्द्र आमा नै भएकाले उनीसँगको झगडामा पनि प्रेम हुन्छ, मनमुटावमा पनि ममता हुन्छ, रिसमा पनि रस हुन्छ । जीवनको वाद आमाबाट शुरु हुने हुँदा हरेक प्राणी आमावादी हुन्छन् । भविष्यको पथ आमाले नै देखाउने हुँदा सबै आमापथमा हिँड्छन् । यी मर्महरुलाई नेपालको अस्थिर राजनीतिले धरापमा पारेको छ । आमाका चरणमा नातिनातिना खेल्न पाउँदैनन्, बुहारीहरुलाई सिक्ने अवसर छैन । यसैले संस्कार दुब्लाएको छ, परिवार कमजोर बन्दै गएको छ ।

हाम्रो इतिहास आमासँग गाँसिएको छ, आमाको भरोसासँग टाँसिएको छ । हाम्रा पुर्खा एवंं महापुरुषहरूले आमाको नामबाट प्रसिद्धि पाएका छन् । गणेशले पार्वतीनन्दनको पगरी गुथे, भीष्मपितामहले गंगापुत्र (गांगेय)मा आफूलाई सीमित राखे, कृष्ण देवकीनन्दनको सम्बोधन मन पराउँथे, अर्जुनलाई पार्थ र कौन्तेयका नामले पुकारियो, कर्णलाई राधेय भनियो, दुर्योधन गान्धारीनन्दन भएर जिए । शासकहरू पनि आमारूपी जन्मभूमि (मातृभूमि)का सुनामले चिनिन चाहन्थे– गान्धारनरेश शकुनि, अङ्गराज कर्ण, हस्तिनापुरनरेश धृतराष्ट्र, गोरखानरेश राम शाह, नेपाल नरेश महेन्द्र, हिमालीराज्यका शासक हिमाल (पार्वतीको बुबा) आदि । यसकारण जन्मभूमि वा राष्ट्रलाई आमा भनियो ।

नेपालआमालाई हित नगर्नेहरुले भदौ २३ र २४ गते भोगे, चुनावसँगै कतिपय पाटीले दुर्गति भोगे, कतिपयले राजनीतिबाट सन्यास लिनुपरेको छ । राष्ट्ररुपी आमालाई माया गर्नेहरु पृथ्वीनारायण र कालु पाँडको नामले चिनिन्छन्, विसे नगर्ची र वंशी गुरुङझैँ कालजयी हुन्छन् ।

आमाको ऋणबाट उऋण हुन सकिँदैन भन्ने सम्बन्धमा रोचक कथा छ । एक सन्तानले तीर्थाटन गराएर आमाबुबाको ऋण तिर्ने प्रयास गरे । अहिलेको जस्तो यातायातको सुविधा नभएकाले आमाबुबालाई डोकामा राखेर, बर्षै लगाएर सेवासहित तीर्थाटन गराए । अब त दूधको ऋणबाट मुक्त भएँ होला भनी योगबलबाट हेर्दा त एक थोपा दूधको आधा भागको मूल्यमात्र चुक्ता भएको देखेका छन् ।

दूधको मूल्य, गर्भको पीडा, पालनपोषणको कष्ट, जीवन समर्पणको दु:खलाई कुनै पनि विधिबाट चुक्ता गर्न नसकेपछि बुबाआमाको सेवा गरी आशीर्वाद लिन थालेका छन् । आमाबुबाको ऋण कहिल्यै भुक्तान हुन सक्दैन । तिरेर तिर्न नसकिने ऋण नै मातृऋण हो । यसकारण मातृभूमि, मातृसंस्कृति, मातृभाषा र माताप्रति हरेक प्राणी सधैँ ऋणी हुन्छन् ।

राजनीतिले नेपालआमालाई कठपुतली बनाएर वीर र शहिदको चिरहरण गरेको छ, अस्मिता मेटाउन भाषा, धर्म, इतिहास आदिलाई सर्वत्रबाट आक्रमण गर्न थालिएको छ । आमालाई बलियो बनाउन शिक्षा, संस्कार र उपासनाको प्रशिक्षण गराउनुपर्छ । धर्मो रक्षति रक्षित: धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्दछ । आमा नै धर्मकी धरोहर हुन् । कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति अर्थात् सन्तान कुपुत्र हुन सक्ला आमा कहिल्यै कुमाता हुँदिनन् । त्यसैले त सुखदु:खमा वा आश्यर्चजनक विषयलाई प्रस्तुत गर्दा हे आमा भन्ने चलन छ ।

‘मातृदेवो भव, पितृदेवो भव……’ मा सबैभन्दा पहिलो देवताको स्थान आमालाई दिइएको छ । प्रार्थना र नामकरणमा देवताभन्दा पहिले देवीको, पुरुषभन्दा पहिले स्त्रीको नाम आउँछ । देवताभन्दा देवीका मन्त्र, देवीको साधनाले छिट्टै फल दिन्छन् । यसैले आमाको परिभाषा छैन, व्याख्या सम्भव छैन, अर्थ बुझाउने शब्द छैन, तौलने तुलो छैन ।

हामीले विदेशीवादमा होइन आमावादमा उभिनुपर्छ, पराईको पथमा होइन आमाको पथमा हिँड्नुपर्छ । आमालाई नपुज्ने, आमालाई नबुझ्नेले नेपाललाई न्याय कसरी गर्न सक्छ ? आमावाद बोकेर, आमापथमा हिँडेर नेपालआमाको सेवामा जुट्न र जुटाउन लाग्यौँ भने मात्र आमाखुवाउने औँसीमाथि न्याय हुने थियो कि ?