गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
बुधबार बिहान करिब १०ः३० बजे भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जीप ब्रेक फेल भएर सडकको नालीमा खसेपछि भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ। जीपमा चालकसहित ९ जना सवार थिए।
दुर्घटनामा सिरानचोक गाउँपालिका–२ काँउलेकी ८१ वर्षीया लालमाया गुरुङ र सिरानचोक–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्। अन्य घाइतेहरूमा ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का, ७३ वर्षीय कुलबहादुर सार्की, सिरानचोक–६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ, सिरानचोक–७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपाली रहेका छन्।
घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको छ। उनीहरूको अवस्था गम्भीरदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जीप चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








