काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नुवाकोट, टिमुरे र रसुवाका बाढीपीडित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडाले उपलब्ध गराएको विभिन्न प्रकारका राहत सामग्री असोज ३ गते नुवाकोट जिल्ला समन्वय समितिको कार्यालयलाई हस्तान्तरण गरेको हो ।
नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा राहत सामग्री जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरेको नाडाले जनाएको छ ।
यसअघि भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोगसमेत उपलब्ध गराएको थियो ।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ।








