काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन क्षेत्रगत विज्ञहरूको राष्ट्रिय रोस्टर तयार गर्ने भएको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकलाई रोस्टरमा सूचीकृत हुन आवेदन दिन आह्वान गरेको छ। आवेदन दिने अन्तिम मिति २०८३ असोज ८ गते तोकिएको छ।
मन्त्रालयका अनुसार नीति तथा कानून निर्माण तथा समीक्षा, योजना तथा कार्यक्रम तर्जुमा, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन, तालिम तथा क्षमता विकास र प्राविधिक तथा विषयगत परामर्शलगायतका कामलाई थप प्रभावकारी, तथ्यमा आधारित र विशेषज्ञतामुखी बनाउन विज्ञहरूको सूची तयार गर्न लागिएको हो।
मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सामाजिक सुरक्षा, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम तथा सामाजिक समावेशीकरणलगायतका क्षेत्रमा विशेषज्ञता र अनुभव भएका व्यक्तिबाट आवेदन मागेको छ। मन्त्रालयले आवश्यक ठानेका अन्य सम्बन्धित क्षेत्रका विज्ञले समेत आवेदन दिन सक्ने जनाएको छ।
रोस्टरमा सूचीकृत हुन इच्छुक आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै, प्रचलित कानूनबमोजिम कुनै पद वा जिम्मेवारीका लागि अयोग्य नठहरिएको हुनुपर्ने मन्त्रालयले जनाएको छ।
आवेदनसँग नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, अद्यावधिक वैयक्तिक विवरण (सीभी), अध्ययन, अनुसन्धान वा प्रकाशनसम्बन्धी विवरण तथा आफ्नो विज्ञता पुष्टि हुने आवश्यक कागजात पेश गर्नुपर्नेछ।
प्राप्त आवेदन तथा कागजात अध्ययन र परीक्षणपछि न्यूनतम योग्यता तथा आवश्यक अनुभव पूरा गरेका व्यक्तिलाई सम्बन्धित विज्ञताको क्षेत्रअनुसार रोस्टरमा समावेश गरिने मन्त्रालयले जनाएको छ। आवेदकको शैक्षिक योग्यता, कार्यानुभव र विशेषज्ञतालगायतका विवरण आवश्यकता अनुसार सम्बन्धित निकायमार्फत सत्यापनसमेत गर्न सकिनेछ।
मन्त्रालयले रोस्टरमा सूचीकृत हुनु मात्र नियुक्ति वा रोजगारीको सुनिश्चितता नभएको स्पष्ट पारेको छ। सूचीमा नाम समावेश हुँदैमा विज्ञले मन्त्रालयबाट स्वतः काम, जिम्मेवारी वा पारिश्रमिक पाउने अधिकार सिर्जना नहुने जनाइएको छ।
मन्त्रालयको आवश्यकता, सम्बन्धित विषयमा विज्ञको उपयुक्तता तथा प्रचलित कानून र स्वीकृत प्रक्रियाका आधारमा रोस्टरमा रहेका विज्ञबाट सेवा लिन सकिनेछ।
मन्त्रालयले नीति तथा कार्यक्रम निर्माणदेखि अध्ययन–अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन, तालिम तथा क्षमता विकास र विषयगत परामर्शसम्मका क्षेत्रमा विशेषज्ञ सेवा लिन रोस्टर उपयोग गर्ने जनाएको छ।
मन्त्रालयका अनुसार व्यवस्थित रोस्टरले आवश्यक परेको समयमा सम्बन्धित क्षेत्रका उपयुक्त विज्ञ पहिचान गरी विशेषज्ञ सेवा परिचालन गर्न सहज हुनेछ। मन्त्रालयले योग्यता र अनुभव पुगेका सम्बन्धित क्षेत्रका विज्ञ तथा पेशाकर्मीलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ।
आवेदनको अन्तिम मिति २०८३ असोज ८ गते रहेको छ। थप जानकारीका लागि मन्त्रालयको सिंहदरबारस्थित कार्यालयमा सम्पर्क गर्न वा ०१–४२०००८२ मा फोन तथा info@mowcgss.gov.np मा इमेल गर्न सकिनेछ।








