४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट
अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न दुई महानगरपालिकासहित नौ स्थानीय तह एकै ठाउँमा आएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गर्दै संविधान दिवसको अवसरमा ६ वटा रुटमा ३० वटा रात्रीकालीन बस सञ्चालनमा ल्याइएको हो।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय तह र साझा यातायातबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतामा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका सहभागी छन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले सम्झौतामा हस्ताक्षर गरेका छन्।

संविधान दिवसका अवसरमा साझा यातायातको कार्यालयमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रीकालीन बस सेवालाई विस्तार गर्दै अब नियमित र दिगो रूपमा सञ्चालन गर्ने बताइन्। उनका अनुसार यसअघि दुई रुटमा सातवटा बसबाट सञ्चालन गरिएको सेवा अहिले ६ रुटमा ३० वटा बसमा विस्तार गरिएको हो।

उनले स्थानीय तहको प्रशासनिक सीमाभन्दा नागरिकको आवश्यकता महत्वपूर्ण भएकाले आपसी सहकार्यमा सार्वजनिक सेवा विस्तार गरिएको बताइन्। संविधान र कानुनले स्थानीय तहलाई दिएको यातायात व्यवस्थापनसम्बन्धी अधिकारलाई व्यवहारमै नागरिकले अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संघीय सरकारले उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि मेट्रो वा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) जस्ता योजना अघि नबढाएको अवस्थामा स्थानीय तहले आफ्नो स्तरबाट गर्न सकिने काम अघि बढाएको बताए। रातको समयमा सुरक्षित आवतजावतका लागि सुरु गरिएको सेवा विस्तारलाई निरन्तरता दिने उनले बताए।

साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले स्थानीय तहसँगको सहकार्यमा रात्रीकालीन सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताए।

विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, लगनखेल–बुढानीलकण्ठ रुटलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन हुनेछन्।

यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुंगा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत परीक्षण सेवा सञ्चालन गरिएको थियो। परीक्षणपछि गरिएको मूल्याङ्कन तथा लाभ–लागत विश्लेषणमा नाफाभन्दा नागरिकलाई सेवा दिनु महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको थियो।

सम्झौताअनुसार यात्रुबाट प्राप्त टिकट आम्दानीले रात्रीकालीन सेवा सञ्चालनको खर्च नपुगेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्नेछन्। बाँकी ५० प्रतिशत रकम जनसंख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत र अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको छ।

रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन्। ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्डसहित डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ।

यस्तै, निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्नेछ। चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी भने सम्बन्धित स्थानीय तहले लिनेछन्।

रात्रीकालीन सेवा प्रभावकारी बनाउन स्थानीय तहले नियमित अनुगमन गर्ने, आवश्यक सुझाव दिने तथा सम्झौताको कार्यान्वयनबारे कम्तीमा त्रैमासिक रूपमा प्रगति समीक्षा गर्ने व्यवस्था गरिएको छ। साझा यातायातले समीक्षा बैठकमा वित्तीय प्रतिवेदनसमेत प्रस्तुत गर्नेछ।

यात्रुको चाप र आवश्यकता बढ्दै गए भविष्यमा उपत्यकाका अन्य क्षेत्रमा समेत रात्रीकालीन बस सेवा विस्तार गर्ने बाटो सम्झौताले खुला गरेको छ। रातको समयमा अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक सेवामा आवतजावत गर्ने नागरिकका लागि सार्वजनिक यातायातको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

चक्रपथमा सेवा विस्तार भएपछि एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्नेछ।

साझा यातायातले टिकटबाट हुने आर्थिक चुहावट नियन्त्रण गर्न असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत सञ्चालनमा ल्याएको छ। क्यूआर कोडमार्फत वा नगद भुक्तानी गरेर टिकट लिन सकिने व्यवस्था गरिएको छ। आर्थिक चुहावट नियन्त्रण भएपछि साझा यातायातको सञ्चालन घाटा घट्ने अपेक्षा गरिएको छ।

साझा यातायातमा नेपाल सरकारको तीन अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ शेयर लगानी रहेको छ। हाल साझा यातायातसँग १११ वटा बस सञ्चालनमा छन्।