८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस महाधिवेशनः जिल्लामा सुदृढ देउवा



अ+ अ-

काठमाडौँ — कांग्रेसको ४० जिल्लामा नयाँ नेतृत्व चयन भइसक्दा पार्टी सभापति शेरबहादुर देउवा समूहको वर्चस्व देखिएको छ । १३ औं महाधिवेशनमा जिल्ला नेतृत्वमा कमजोर देखिएको देउवा समूहले प्रारम्भिक नतिजामा अग्रता लिएको हो । देउवा समूहका २३ जना र पौडेल–कोइराला समूहका १७ जना सभापति चुनिएका छन् । १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्ष (पौडेल–सिटौला) ले ५५ जिल्लामा नेतृत्व जित्दा देउवा समूह २२ जिल्लामा सीमित भएको थियो ।

प्रदेश १ का इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा देउवा समूह र भोजपुर, संखुवासभा, खोटाङ र तेह्रथुममा पौडेल–कोइराला समूहका नेता सभापति निर्वाचित भएका छन् । झापामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षीय देउमान थेबे र प्रवक्ता विश्वप्रकाश शर्मापक्षीय राम कट्टेलबीच प्रतिस्पर्धा भएको छ । झापा र उदयपुरमा मतगणना जारी छ । थेबेलाई पौडेल–कोइराला पक्षले पनि सहयोग गरेको छ । मोरङ र सुनसरीमा आइतबार तथा धनकुटा र सोलुखुम्बुमा बुधबार निर्वाचन तय भएको छ । वाग्मतीका नुवाकोट र दोलखामा पौडेल समूह र रामेछापमा देउवा समूहले जिल्ला नेतृत्व जितेको छ ।

नुवाकोटमा पौडेल समूहकै रमेश महत र जगदीशनरसिंह केसीबीच प्रतिस्पर्धा भएको थियो । देउवा समूहका प्रकाशशरण महतको सहयोगमा रमेश निर्वाचित भएका छन् । केन्द्रमा फरक समूहमा भए पनि नुवाकोटको राजनीतिमा महत दाजुभाइ (रामशरण–प्रकाशशरण) एक ठाउँ हुने गर्छन् । काभ्रेपाल्चोक र धादिङमा मतगणना भइरहेको छ । काठमाडौं र भक्तपुरमा आइतबार निर्वाचन हुँदै छ । ललितपुरमा सभापतिका लागि आइतबार पुनः मतदान हुँदै छ । चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र रसुवामा निर्वाचनको मिति तय भएको छैन ।

वरिष्ठ नेता पौडेलको गृहप्रदेश गण्डकीमा देउवा समूहले पाँच जिल्लामा नेतृत्व हत्याएको छ । स्याङ्जा, लमजुङ, मनाङ, म्याग्दी र पर्वतमा उक्त समूहका सभापति निर्वाचित भएका छन् । गोरखा र मुस्ताङमा पौडेल समूहले जितेको छ । बागलुङ र कास्कीमा पुनः मतदान भएको छ । तनहुँमा पौडेल समूहका वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा भएको छ ।

देउवापक्षीय नेता शंकर भण्डारीले आलेलाई समर्थन गरेका छन् । बागलुङमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने तय भएको छ । लुम्बिनीमा भने पौडेल समूह मजबुत देखिएको छ । सात जिल्लाको परिणाम आउँदा पाँच जिल्ला नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पामा पौडेल समूह र रूपन्देही तथा रुकुमपूर्वमा देउवा समूहबाट जिल्ला सभापति चुनिएका छन् । प्यूठानका सभापति विष्णुकुमार गिरी शेखर कोइरालानिकट मानिन्छन् । दाङमा मतगणना भइरहेको छ भने बाँके र बर्दियामा आइतबार निर्वाचन हुँदै छ । कपिलवस्तु र गुल्मीमा निर्वाचनको मिति तय भएको छैन ।

१३औं महाधिवेशनमा एक मात्र जिल्ला (हुम्ला) मा सभापति जितेको कर्णालीमा यसपटक देउवा समूहले पकड जमाएको छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा, सल्यान, जाजरकोट र सुर्खेतमा देउवापक्षीय नेता सभापतिमा चयन भएका छन् । कालीकोटमा भने पौडेल पक्षबाट सभापति चुनिएका छन् । दैलेखमा मतगणना भइरहेको छ । सुर्खेतका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा देउवा समूहले एकलौटी जित हात पारेको छ । जिल्ला सभापति कमलराज रेग्मीसहित पूर्वमन्त्रीहरू शिवराज जोशी, खड्कबहादुर बस्याल र विद्यार्थी नेता साधना घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सुर्खेतमा पौडेल समूहबाट उम्मेदवारी दिने मान्छे नहुँदा सभापतिमा देउवा समूहका उम्मेदवार निर्विरोध भएका हुन् । देउवाको गृहप्रदेश सुदूरपश्चिमका ४ जिल्ला अछाम, डोटी, बझाङ र डडेलधुरामा देउवा समूह र ३ जिल्ला बाजुरा, बैतडी र दार्चुलामा पौडेल समूहले सभापति जितेको छ । कैलालीमा अधिवेशन स्थगित भएको छ भने कञ्चनपुरमा मतगणना भइरहेको छ ।

प्रदेश २ का आठवटै जिल्लामा अधिवेशन अनिश्चित छ । सर्लाहीमा वडा अधिवेशनसमेत हुन सकेको छैन । अन्य जिल्लामा पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइरहेको छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले आफ्नो पक्षमा अधिकतम महाधिवेशन प्रतिनिधि ल्याउने प्रयास गर्दा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएको एक नेताले बताए । निधिको घर रहेको प्रदेश २ मा उनको बलियो प्रभाव छ ।

काठमाडौंमा सिंह–थापा भर्सेस देउवा–सिटौला

काठमाडौं जिल्ला अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाबीच गठबन्धन बनेको छ । अर्कातिर सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन छ । सिंह–थापा समूहले वर्तमान सभापति सबुजकृष्ण बानियाँलाई अघि सारेको छ । देउवा–सिटौला समूहले भने उपेन्द्र कार्कीलाई जिल्ला सभापतिको उम्मेदवार बनाएको छ । कार्की क्षेत्र नं। २ का निवर्तमान सभापति हुन् । दुवै समूहले शनिबार टिम घोषणा गरेका छन् । काठमाडौं जिल्ला अधिवेशनका लागि नेता सिंह र थापा आफैं मैदानमा उत्रिएका छन् भने देउवा–सिटौला समूहमा देउवाको प्रतिनिधित्व सहमहामन्त्री प्रकाशशरण महतले र सिटौलाको प्रतिनिधित्व भीमसेनदास प्रधानले गरेका छन् ।

देउवा–सिटौला समूहले उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागर रञ्जित र कुमारराज सुवेदी तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानलाई उम्मेदवार बनाएको छ । सिंह–थापा समूहले उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी, सचिवमा इन्द्र थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा अमिता प्रधान र रोमेल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । काठमाडौंमा करिब ३ हजार २ सय क्षेत्रीय प्रतिनिधि छन् ।

१५ जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने सम्भावना बढेको छ । प्रदेश २ का ८ र अन्य १० जिल्लामा कतै अधिवेशन स्थगन गरिएको छ भने कतै क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि जिल्ला अधिवेशनका लागि समय अपुग हुने अवस्था छ । प्रदेश २ मा जिल्ला अधिवेशनको मिति तय भएको छैन । चितवन, मकवानपुर, रसुवा, सिन्धुली, नवलपुर, गुल्मी र कैलालीमा जिल्ला अधिवेशन स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले रसुवा र सर्लाहीबाहेक अन्य जिल्लामा निर्वाचन प्रक्रिया अघि बढेको बताए । ‘प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइसकेपछि जिल्ला अधिवेशन नहुँदा पनि महाधिवेशनलाई खासै प्रभाव पार्दैन,’ उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा प्रदेश अधिवेशनअघिसम्म सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छानिइसक्नेछन् ।’

(कान्तिपुर दैनिकमा समाचार छ)




भर्खरै