८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल



अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले मानव–वन्यजन्तु द्वन्द्वबाट सिर्जित समस्या न्यूनीकरणका लागि स्थानीयस्तरबाटै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिनुभएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले वन्यजन्तुको आक्रमणबाट हुने क्षतिबापत सरकारले प्रदान गर्दै आएको राहत रकममा उल्लेख्य वृद्धि गरिएको जानकारी दिँदै राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

डा. ढकालका अनुसार वि.सं. २०६७ देखि वन्यजन्तुबाट हुने क्षतिका लागि राहत उपलब्ध गराउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो । मानव अधिकार र नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिँदै सुरु गरिएको उक्त कार्यक्रममा प्रारम्भमा सातवटा वन्यजन्तुलाई समेटिएको थियो । हाल राहतको दायरा विस्तार भई १७ वटा वन्यजन्तु पुगेको उहाँले जानकारी दिनुभयो ।

यद्यपि बाँदरबाट हुने क्षतिलाई भने अझै राहतको सूचीमा समावेश गर्न नसकिएको उहाँले बताउनुभयो । पछिल्लो समय मौरी र सर्पका कारण हुने क्षतिलाई समेत राहतको दायरामा ल्याउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

राहत रकमको विकासक्रमबारे जानकारी दिँदै डा. ढकालले वि.सं. २०६७ मा १ लाख रुपैयाँबाट सुरु गरिएको राहत रकम क्रमशः वृद्धि गर्दै वि.सं. २०७३ सम्ममा १० लाख रुपैयाँ पुर्‍याइएको बताउनुभयो । सडक दुर्घटना वा अन्य विपद्मा गृह मन्त्रालयले उपलब्ध गराउने राहतको तुलनामा वन्यजन्तुबाट हुने क्षतिबापतको राहतलाई विशिष्टीकृत रूपमा सरकारले प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

वन्यजन्तुहरू बदलिँदो वातावरणअनुसार आफूलाई छिटो अनुकूलन गर्न सक्ने भएकाले मानव–वन्यजन्तु द्वन्द्वको समाधान पनि स्थानीय परिवेशअनुसार खोजिनुपर्ने उहाँले बताउनुभयो । विशेषगरी बाँदर र हात्तीको व्यवहार छिटो परिवर्तन हुने भएकाले समस्यालाई स्थानीयकरण गर्न सके समाधान प्रभावकारी हुने उहाँको भनाइ थियो ।

वन्यजन्तु राहतसम्बन्धी कानुन छोटो अवधिमै परिमार्जन गरी गतिशीलता प्रदान गर्ने मुलुकहरूमध्ये नेपाल अग्रपंक्तिमा रहेको दाबी गर्दै डा. ढकालले वन्यजन्तुको स्वभाव अकल्पनीय हुने भएकाले त्यसअनुसार समाधानका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

नीतिगत सुधार भए पनि राहत वितरणको झन्झटिलो प्रक्रिया र बाँदरबाट हुने क्षति अझै चुनौतीका रूपमा रहेको उहाँले स्वीकार गर्नुभयो । यस्ता समस्या क्रमिक रूपमा समाधान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु सहअस्तित्वका लागि बीमा कार्यक्रमलाई समेत उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

वन्यजन्तु द्वन्द्वसम्बन्धी प्रतिवेदनहरूमा बीमाको विषय पर्याप्त रूपमा नसमेटिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा बीमा कार्यक्रमलाई थप स्पष्ट, व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।




भर्खरै