नैरोबी। दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका उहाँको पारिवारिक श्रोतले जनाएको छ ।
उहाँको परिवारले एएफपीलाई यसबारे पुष्टि गर्दै उहाँको बेपत्ता भएको जानकारी विभिन्न अधिकारीलाई दिइएको छ ।
बेलायती नागरिकता पनि प्राप्त गरिसकेका माइका रेड्डी बिहीबार तोकिएको जिम्मेवारीका लागि जिबुटी जानुभएको थियो ।
शनिबार स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म उहाँ सहकर्मीसँग घण्टैपिच्छे सम्पर्कमा रहनुभएको थियो तर पछि उहाँसँगको सञ्चार विच्छेद भएको उहाँकी पत्नी निकोल बेअड्र्सवथले बताउनुभएको छ ।
“उहाँको फोन उहाँ जिबुटी पुगेको चार घण्टापछि बन्द भयो”, उहाँकी पत्नी बेअड्र्सवर्थले एएफपीसँग भन्नुभयो, “म धेरै चिन्तित छु ।” उहाँ आफ्ना स्थानीय सहयोगी फिक्सर कुकी महमुदसँगै बेपत्ता हुनुभएको बताइएको छ । रेड्डी ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’का अफ्रिकी समन्वयक हुनुहुन्छ ।
बेपत्ता हुनुअघि उहाँ राजधानीको एउटा होटलमा बस्नुभएको थियो । “उहाँले चर्को गर्मीको मौसमबारे कुरा गर्दै आफ्नो अन्तिम सन्देश हिजो बिहान छोडुनुभएको थियो,” रेड्डीकी आमाले एएफपीसँग भन्नुभयो । “उहाँले कुनै डर व्यक्त गर्नु भएन । त्यसैले हामी आशा गर्दैछौँ कि यो जिबुटी सरकारको कुनै निकायले सोधपुछका लागि रोकेको हो र पछि छोडिने छ,” उहाँले भन्नुभयो ।
परिवारले बताएअनुसार इन्टरपोल, बेलायती उच्च आयोग र दक्षिण अफ्रिकाको परराष्ट्र विभागसहित विभिन्न अधिकारीलाई यसबारे जानकारी जारी गरिएको छ । ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स ९सीपीजे०’ ले जिबुटी अधिकारीलाई ‘तत्काल उनीहरूको अवस्था स्पष्ट गर्न र सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको छ । एएफपीले सम्पर्क गर्दा सरकारी अधिकारीले यस मुद्दाबारे आफूहरू अनभिज्ञ रहेको बताएका छन् भने सत्तारूढ दलका एक वरिष्ठ सदस्यले यो ‘सत्य होइन’ भन्नुभयो । ‘रिपोर्टरर्स विदाउट बोर्डर्स’को सन् २०२६ प्रेस स्वतन्त्रता सूचकाङ्कमा जिबुटी १८० देशमध्ये १६७ औँ स्थानमा छ । रासस/एएफपी








