लगातार १० दिनसम्म दिनरात नभनी अथक रूपमा खटिएर दुई जनाको सकुशल उद्धार गरेपछि म अपर त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट काठमाडौं फर्किएँ। मसँग गएका तीन जना भाइहरू तथा आवश्यक उपकरणहरू भने त्यहीँ छन्। उहाँहरूलाई तथा उपकरणहरूलाई काठमाडौं ल्याउन नेपाल विद्युत् प्राधिकरण (NEA) ले आवश्यक पहल गरिरहेको छ।
म काठमाडौं आइपुगे पनि चिलिमे जलविद्युत् क्षेत्रमा अझै मानिसहरू सुरुङभित्र फसेका छन् र नेपाल सेना, सशस्त्र प्रहरी तथा भारतीय सेनाको टोलीले निरन्तर उद्धार तथा राहत कार्य गरिरहेको, तर अवस्था निकै कठिन बन्दै गएको जानकारी पाएपछि मनले मानेन।
त्यसपछि माननीय सागर ढकालज्यूलाई फोन गरी आफू पनि स्ट्यान्डबाइमा रहेको र आवश्यक परे तुरुन्तै जान तयार रहेको जानकारी गराएँ। त्यतिबेला कृष्णभीरमा समेत धेरै दिनदेखि बाटो अवरुद्ध भएकाले सडक खुलाउने काम भइरहेको थियो। सडक विभागले वैकल्पिक बाटोको व्यवस्था गरेको थियो। तथापि, एम्बुलेन्स आउन ढिला हुँदा गम्भीर बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने अवस्था भएकाले पुनः कृष्णभीरतर्फ लाग्ने निर्णय गरें।

गल्छीदेखि त्रिशूली सडक जोडिने खण्डमा पर्ने रातमाटे क्षेत्रमा पनि सडक पूर्ण रूपमा बगेको अवस्था थियो। त्यहाँ सडक विभागका मुल्मी सर र कृष्ण सरले समेत स्थलगत अवलोकनका लागि जान आग्रह गर्नुभएको थियो। त्यसैले दीपेन्द्र भाइलाई ड्रोन सर्वेक्षण गर्न लगाएर साँझतिर आवश्यक Bentonite Powder लिएर कृष्णभीर पुगेँ।
त्यहाँ अर्जुन सर, सुरेश सर, सजना म्याम तथा सडक विभागका इन्जिनियरहरू, परामर्शदाता (Consultant), Contractor Team र Geotechnical Society को टोलीसँग छलफल गरियो। त्यसपछि साइटको माथिल्लो भागमा रहेका Tension Cracks सिल गर्ने काम गरियो र श्रमिक साथीहरूलाई समेत परिचालन गरियो।
त्यसपछि बिराज ओझा भाइ र म मिलेर श्रमिक दाइहरूलाई Tension Cracks पुर्ने तथा सिल गर्ने र Catch Drain खन्ने आवश्यक लाइन तथा दिशा निर्धारण गर्यौँ। आवश्यक काम सम्पन्न गरी हामी त्यहाँबाट निस्कियौँ र २७ गते आइतबार राति करिब ११ बजे काठमाडौं आइपुग्यौँ।
२८ गते साँझतिर माननीय सागर ढकालज्यू तथा चिलिमे टिमले भोलिपल्ट बिहान चिलिमे जलविद्युत् आयोजनाको साइटमा जाने आवश्यक व्यवस्था मिलाइएको जानकारी गराउनुभयो।

२९ गते सोमबार, तीजको दिन बिहान करिब १० बजेतिर त्यहाँ पुगेर साइटतर्फ लागिहालें। सबैसँग छलफल गरी वस्तुस्थिति बुझ्दा १०५ मिटरभन्दा अगाडिको भागमा चिप्लो Silty Clay को दलदलजस्तो अवस्था थियो भने करिब १६० मिटरको क्षेत्रमा पानीले बाटो नै लगभग बन्द गरेको अवस्था थियो।
स्काभेटर र लोडर प्रयोग गरेर अगाडि बढ्दा प्रगति हुन धेरै समय लाग्ने देखियो। त्यसैले छोटो बाटो अपनाउनुपर्छ भन्ने लाग्यो। त्रिशूली–३ एमा गरेजस्तै Water Jet प्रयोग गरेर हिलो तथा माटो सफा गर्दै अगाडि बढ्न सकिनेमा म विश्वस्त भएँ।
त्यसपछि पम्पमार्फत त्यहीँ जम्मा भएको पानीलाई पुनः प्रयोग हुने गरी व्यवस्थापन गर्ने र भित्रबाट निरन्तर आइरहेको पानीलाई निकास दिन ड्रेनलाई अझ गहिरो बनाउँदै लैजाने निर्णय गरियो।
त्यही दिन राति करिब १० बजेदेखि मोटर जडान गरेर नोजलका लागि आवश्यक जुगाड तयार पार्दै लगातार बिहान ६ बजेसम्म काम गरियो। त्यसपछि दुई–तीन घण्टा आराम गरेर फेरि साइटमा फर्कियौँ। कहिले पम्प बिग्रिने, कहिले अन्य समस्या आउने भइरह्यो, तर हामी काममा निरन्तर लागिरह्यौँ। चिलिमेका सरहरूले थप पम्पसमेत मगाइदिनुभयो।
नेपाल सेना, नेपाल विद्युत् प्राधिकरण, चिलिमे टिम, सशस्त्र प्रहरी, भारतीय सेना, भारतीय विपद् उद्धार टोली तथा स्थानीयवासी सबै मिलेर काम गरिरहेका थियौँ। नेपाल सेनाका टोलीहरू भन्नुहुन्थ्यो, “सर, हामीलाई मान्छे छिर्ने ठाउँ मात्र बनाइदिनुस्, हामी भित्र छिरिहाल्छौँ।” उहाँहरूको इच्छाशक्तिलाई मान्नैपर्छ।
त्यहाँको नक्सा, भित्रबाट आइरहेको सफा पानीको बहाव, चिलिमेका सरहरूले दिनुभएको भित्र पानीको मूल रहेको जानकारी तथा दलदल माटोको प्रकृतिका आधारमा भित्र अत्यधिक प्रेसर नभएको र सुरुङ उकालो लागेकाले भित्र ‘Void’ अर्थात् खाली ठाउँ हुने सम्भावना निकै ठूलो रहेको अनुमान गर्दै हामी अगाडि बढिरहेका थियौँ।

पानीको बहावलाई पछ्याउँदै खोतल्दै अगाडि बढ्ने काम जारी थियो। Water Jet भनेजस्तो प्रभावकारी रूपमा प्रयोग गर्न सकिने अवस्था थिएन, तापनि नेपाली सेना, भारतीय सेना तथा भारतीय Disaster Team का साथीहरूले निकै साथ दिनुभयो।
रातिको सिफ्टमा चिलिमेबाट बिमल सर र म बस्ने योजना थियो। म अघिल्लो रातभर सुत्न नपाएकाले राति १२ बजेतिर जाने सल्लाह थियो। तर फेरि आकाशबाट पानी पर्न थाल्यो। बस्ने ठाउँसम्म पुग्न करिब एक किलोमिटर हिँड्नुपर्ने थियो। Safety Boot भित्र पानी छिरेर चिसो भइरहेको थियो, बाटोमा पहिरो निकै थियो र पानी पर्दा ढुंगा खस्ने डरसमेत थियो। त्यसैले म आराम गर्न गइनँ।
फेरि त्यहीँ हिलो सफा गर्ने काममा एकोहोरो भएर निरन्तर लागिरह्यौँ।
त्यत्तिकैमा माननीयज्यूसहित बिहानको सिफ्ट बिहान ६ बजे आइपुग्यो। भित्र छिरेर अवस्था हेरेपछि खुसी हुँदै उहाँले भन्नुभयो, “Amazing progress भएको रहेछ।”
त्यसपछि निकै खुसी लाग्यो। उहाँहरूलाई कामको जिम्मेवारी हस्तान्तरण गरेर हामी आराम गर्न निस्कियौँ।
त्यसै क्रममा बिहान करिब १० बजेतिर फोन आयो— “Breakthrough भयो।”
हत्तपत्त खाना खाएर साइटतर्फ दौडिहाल्यौँ र बाहिर बसेर कुरिरह्यौँ। कर्साप विकास अधिकारीसहितको Force Rescue टोली भित्र छिर्नुभयो। केही समयपछि खबर आयो, तर राम्रो थिएन। मन साह्रै खिन्न हुँदै गइरहेको थियो। तीन, चार हुँदै पाँच जना पुगेपछि सबै आशा मरेजस्तै भयो।
उहाँहरूलाई बाहिर ल्याएपछि अवस्था हेर्दा शरीर ढाडिएको र गह्रौँ भएको देखिन्थ्यो। सामान्यतया पानी खाएपछि शरीर ढाडिन्छ, फुल्छ भन्ने कुरा मेडिकल साइन्सले नै बताउला। बाहिरको सुरुङको Crown Level भन्दा झन्डै ५० मिटर माथिबाट बगेको Debris ले अत्यन्त ठूलो वेग र दबाब दिएको अनुमान गर्न सकिन्छ। त्यो शक्तिलाई कोमल मानव शरीरले थेग्न नसकेको जस्तो लाग्यो।
उहाँहरू सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँहरूका आफन्तजनमा यो दुःख सहन सक्ने धैर्य र शक्ति मिलोस्।
माटोबाट निस्केका हामी अन्ततः माटोमै मिल्ने हो—कुरा यति मात्र हो, ढिलो–चाँडोको।
दुई दिनको कामपछि आज घर फर्किएको छु। यस्तो घटना फेरि यो जगतमा कसैले भोग्न नपरोस्। हुन त यस्ता घटना पूर्ण रूपमा रोक्न सधैँ सम्भव नहोला, तर मानवीय जीवनसँगै अन्य जीवजन्तुको समेत क्षति हुन नदिने गरी सावधानी अपनाउने, सुरक्षित बस्ती तथा संरचना निर्माण गर्ने र आवश्यक शिक्षा तथा चेतना दिने काममा अझ गम्भीर हुनुपर्ने देखिन्छ।
यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण हातहरूलाई हार्दिक धन्यवाद। उहाँहरूको काम र समर्पणले अरूलाई पनि सहयोग गर्ने प्रेरणा मिलोस्।
जय देश! जय पृथ्वीवासी!








