१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम लागतमा फोर जी सेवा विस्तार गर्न निर्देशन



अ+ अ-

काठमाडौँ : प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोर जी) सेवालाई एक वर्षभित्र देशव्यापी रुपमा विस्तार गर्न निर्देशन दिएको छ । 

समितिको मंगलबार बसेको बैठकले न्यून लागतमा फोर जी सेवा विस्तार गर्न, व्यावसायिक कार्ययोजना बनाउन र लागू गर्न तथा प्रविधिको भरपुर प्रयोग गर्न समेत निर्देशन दिएको हो ।

समितिले फोर जी सेवा विस्तारबाट आगामी पाँच वर्षमा नेपाल टेलिकमको वित्तीय अवस्था सुदृढ भई सरकारलाई प्राप्त हुने राजश्व र लाभांश दोब्बर हुने आधारसहितको विश्वसनीय व्यावसायिक योजना बनाई लागू गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । 

नेपाल टेलिकमको फोर जी सेवा विस्तार गर्ने निर्णय लिँदा हाल प्रक्रियामा रहेको ठेक्कालाई निरन्तरता दिने वा प्रविधिको स्तर वृद्धि गरी फोर जी सेवा उपलब्ध गराउने वा कानूनबमोजिमको सबैभन्दा छोटो प्रक्रिया अवलम्बन गरी नयाँ बोलपत्र आह्वान गर्ने विकल्पको लाभ लागत विश्लेषण गर्नसमेत भनेको छ । 

लागतको दृष्टिकोणले सबैभन्दा कम र लाभको दृष्टिकोणले सबैभन्दा बढी लाभ प्राप्त हुने विकल्प छनोट गर्न निर्देशन दिँदै समितिले उक्त निर्णयले पार्ने असर र प्रभावप्रतिको जिम्मेवारी तथा जवाफदेहिता निर्णय प्रक्रियामा संलग्न हुने सबैले बहन गर्नुपर्ने व्यवस्था गर्नसमेत ध्यानाकर्षण गराएको छ । 

समितिको बैठकमा सांसदहरुले टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिनुभएको थियो । 

उहाँहरुले समय सुहाउँदो प्रविधिका रुपमा रहेको फोर जी सेवाको विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै पनि प्रकारको अनियमितता हुन नहुने बताउनुभयो । पछिल्लो पटक नेपाल टेलिकमले एक चिनियाँ कम्पनीलाई फोर जी सेवा विस्तारको जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रको माध्यमबाट सो कम्पनीले फोर जी सेवा विस्तारको जिम्मा पाएको सन्दर्भमा त्यसको लागत बढी भएको उहाँहरुले गुनासो गर्नुभयो । 

समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक वर्षभित्र फोर जी सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । मन्त्रालयले कार्ययोजना बनाएर फोर जी सेवा विस्तारलाई अगाडि बढाउन निर्देशन दिइसकेको र तोकिएको समयमै काम सम्पन्न हुनेमा आफू आशावादी रहेको उहाँले उल्लेख गर्नुभयो । 

टेलिकमले देशव्यापी रुपमा फोर जी सेवा विस्तारका लागि रु १८ अर्ब लगानी गर्न लागेको छ । टेलिकमले आगामी एक वर्षभित्र प्रमुख काम पूरा गर्ने गरी फोर जी सेवा विस्तार गर्न लागेको जनाएको छ । नेपाल टेलिकमले हाल काठमाडौँ र पोखराका छ लाख ९२ हजारलाई फोर जी सेवा उपलब्ध गराएको छ ।