८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रका चुनौती: साढे ४ महिनामा वैदेशिक अनुदान शून्य



अ+ अ-

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो चैमासिक बितिसक्दा पनि सरकारले वैदेशिक अनुदान रकम ल्याउन सकेको छैन । वैदेशिक अनुदानबाट स्रोत बेहोरिने भनी बजेटमा राखिएका विकास आयोजनाको काम प्रभावकारी नहुँदा यस्तो अवस्था देखिएको हो । यस वर्ष ५९ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक अनुदान भित्र्याउने सरकारी लक्ष्य छ । तर मंसिर दोस्रो सातासम्म वैदेशिक अनुदान शून्य छ ।

सरकारले प्रत्येक वर्षको बजेटमा आफ्नो राजस्व स्रोतका रूपमा वैदेशिक अनुदानलाई पनि देखाउने गर्छ । चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि कुल विनियोजित रकमको ३ दशमलव ६६ प्रतिशत रकमलाई वैदेशिक अनुदानबाट प्राप्त हुने स्रोतका रूपमा देखाएको छ । तर अहिलेसम्म वैदेशिक अनुदानको रकम बजेट प्रणालीमा आइनसकेको महालेखा नियन्त्रक कार्यालयको भनाइ छ ।

विकास निर्माणका काममा भएको ढिलाइ र पुँजीगत खर्चमा देखिएको सुस्तताका कारण वैदेशिक अनुदान आउन नसकेको हो । यसको सम्बन्ध सरकारको पुँजीगत खर्चसँग रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउँछन् । ‘विकास निर्माणका काम भटाभट भएको भए पहिलो, दोस्रो किस्ता गरेर अनुदान आइसक्थ्यो,’ उनले भने, ‘अनुदानबाट स्रोत बेहोर्ने आयोजनामा पहिले हामी आफैंले खर्च गर्ने र पछि शोधभर्ना लिने हो । तर काम नसकिँदा शोधभर्ना लिन सकेनौं ।’

अनुदानबाट सञ्चालित विकास आयोजनामा कामको प्रगति हेरेर दातृ निकायहरूले शोधभर्ना दिने गर्छन् । तर यस वर्ष विकासका काममा मात्र नभई मन्त्रालयहरूले शोधभर्ना माग्न पनि ढिलाइ गरेका कारण अनुदान शून्य देखिएको श्रेष्ठले बताए । ‘अनुदानका आयोजनाहरूमा शतप्रतिशत खर्च भयो भने मात्रै शतप्रतिशत शोधभर्ना पाउने हो । गएको वर्ष नै काम सकिइसकेका आयोजनामा पनि पैसा पाउन बाँकी छ । यस वर्ष त झन् कामै भएको छैन,’ उनले भने । अनुदान रकम नआएकै कारण त्यसको असर नेपालको भुक्तानी प्रणालीमा देखिएको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएर भुक्तानी सन्तुलनमा चाप देखिन थालेपछि सरकारले एक्सटेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) ल्याउने तयारी गरेको छ । त्यसैका लागि अर्थमन्त्री जनार्दन शर्माले बुधबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का मिसन प्रमुख रोबर्ट ग्रेगरीसहितको टोलीलाई अर्थ मन्त्रालयमा भेटेका थिए ।

ईसीएफ ल्याउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रक्रिया थालिसकेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले पुष्टि गरे । ‘आईएमएफसँग छलफलकै क्रममा छौं । ईसीएफ आवश्यक छ भनेर मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ,’ उनले भने । आईएमएफबाट कुन सर्तमा कति रकम लिन लागिएको भन्ने जानकारी भने आफूलाई नरहेको उनको भनाइ छ । राष्ट्र बैंक स्रोतका अनुसार भने ४० करोड अमेरिकी डलर (करिब ४८ अर्ब रुपैयाँ) बराबर ईसीएफ ल्याइँदै छ । आईएमएफमार्फत स्पेसल ड्रइङ राइट (एसडीआर) मा नेपालले पाउने वार्षिक कोटाको १ सय ८० प्रतिशतसम्म ईसीएफ लिन लागिएको राष्ट्र बैंक स्रोतले बतायो । भुक्तानी प्रणालीमा सन्तुलन मिलाउन लिइने यो रकम राष्ट्र बैंकको कोषमा राखिन्छ । तर नेपालले भने ईसीएफबाट लिएको रकम बजेटरी प्रणालीबाट समेत खर्च गर्ने गरेको छ । आईएमएफसँगको प्रारम्भिक छलफलमा यस्तो ऋण रकम १ प्रतिशतभन्दा कम ब्याजदरमा २० वर्षका लागि लिन लागिएको बताइएको छ । यसमा ५ वर्ष ग्रेस अवधि रहन्छ । दुई चरणमा आउने ईसीएफ रकम नेपालले ५ वर्षपछि तिर्न थाल्नेछ ।

घट्दो रेमिट्यान्स, पर्यटन आवागमनमा कमी आउनु, आयात बढ्नु, वैदेशिक लगानी पर्याप्त नभित्रनु, अनुदानको रकम लिन नसक्नुलगायतका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । त्यसैले मुद्रा सञ्चिति बढाउन राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत वाणिज्य बैंकहरूको ग्यारेन्टीमा कुनै पनि व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन सक्ने नीति कार्यान्वयनमा ल्याएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा रेमिट्यान्स ७ दशमलव ६ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ । कोभिड महामारीका बाबजुद पनि अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १२ दशमलव ७ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा भित्रिएको रेमिट्यान्स मात्र हेर्ने हो भने गत असोज मसान्तसम्ममा ७ दशमलव ७ प्रतिशत घटेको छ । गत असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ दशमलव ७ प्रतिशत घटेर १२ खर्ब ४४ अर्बमा खुम्चिएको छ । नेपाल राष्ट्र बैंकसँग मात्र भएको विदेशी विनिमय सञ्चिति भने गत असारको तुलनामा ८ प्रतिशत घटेर ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबर मात्रै देखिन्छ, जसले करिब ७ महिना बराबरको वस्तु तथा सेवाको आयात मात्रै धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष सुरु भएको साढे ४ महिना बितिसक्दा पनि नेपालले अनुदान रकम भित्र्याउन नसक्नुलाई अहिले बजारमा लगानीयोग्य रकम अभाव देखिनुको एउटा मुख्य कारणका रुपमा समेत हेरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिकोत्सव कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभाव हुनुमा अनुदान रकम नआउनु पनि कारण रहेको बताएका थिए । एकातिर पुँजीगत खर्च बढ्न नसकेको र अर्कोतिर विनिमय सञ्चितिमा चाप देखिएकाले तरलता व्यवस्थापनमा चुनौती देखिएको उनको भनाइ थियो ।

(कान्तिपुर दैनिकमा समाचार छ)




भर्खरै