२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब अवकाश हुनुअघि नै मुद्दाका फैसला लेखिसक्नु पर्ने



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अनिवार्य अवकाश हुनुअघि नै मुद्दाका फैसला लेखिसक्न न्यायाधीशलाई निर्देशन दिएका छन्। अवकाश हुनुअघिको अन्तिम एक महिना इजलासमा बसेर न्याय सम्पादन गर्न पनि राणाले निर्देशन दिए। यस्तो निर्देशनसहितको सर्कुलर बिहीबार मुलुकभरका अदालतमा पठाइनेछ।

उच्च अदालत, विशेष, जिल्ला र न्यायाधीकरणमा अवकाश भएको महिनौंसम्म पनि न्यायाधीशले मुद्दामा पूर्ण फैसला नदिने बेथिति छ। सर्वोच्च तहमा झन् दुईतीन वर्षसम्म फैसला नलेखिँदा न्याय सम्पादनमा ढिलाइ भइरहेको छ। प्रधानन्यायाधीश राणाले छिटो, प्रभावकारी र न्यायमा पहुँच वृद्धि हुने अपेक्षासहित निर्देशन दिएको अन्नपूर्णलाई बताए। प्रधानन्यायाधीशको यो निर्णयलाई स्वागतयोग्य भन्दै न्याय क्षेत्रमा प्रशंसा भएको छ।

‘उमेर हदका कारणबाट अवकाश हुने कुनै पनि न्यायाधीशलाई संविधान र कानुनले अवकाश प्राप्त गर्ने अन्तिम अवधिसम्म इजलासमा बसी मुद्दाको सुनुवाइ र फैसला गर्न कुनै किसिमको बन्देज लगाएको छैन’, निर्देशनामा भनिएको छ, ‘तथापि अवकाश हुने अन्तिम दिनसम्म न्यायाधीशले इजलासमा बसी मुद्दाको नियमित सुनुवाइ र फैसला गर्नुभन्दा आफूले गरेका फैसला वा आदेश तयार गर्ने र अवकाशको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य कार्य गर्नु व्यावहारिक र उपयुक्त हुन्छ।’

फैसला चाँडै लेखेर न्याय सम्पादननका काम थप प्रभावकारी होस् भन्ने उद्देश्य हो। परिणाम कस्तो आउँछ, त्यो त कुर्नैपर्ने हुन्छ। – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

अवकाशपूर्व नै फैसला लेखिँदा न्यायका उपभोक्ताले समयमा फैसला वा आदेश प्राप्त गर्ने अवस्था सिर्जना हुने निर्देशनमा उल्लेख छ। ‘न्यायाधीश अवकाश हुँदाकै अवस्थामा न्यायिक कामकारबाहीको दायित्वबाट अलग हुन पाउने अवस्था सिर्जना हुनेछ,’ निर्देशनमा भनिएको छ, ‘अनिवार्य अवकाश हुने मितिभन्दा सामान्यतया एक महिनाअगाडिदेखि मुद्दाको नियमित सुनुवाइ गर्ने कार्यबाट अलग रहने गरी त्यहाँ र मातहत अदालतमा समेत आवश्यक व्यवस्थापन गर्नुहोला।’

प्रधानन्यायाधीश राणाले स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादनको जनअपेक्षा पूरा गर्न लगन, मेहनत, क्षमता, इमानदारी र जबाफदेहिताका साथ काम गर्न निर्देशन दिएका छन्। न्यायपालिकाप्रतिको जनआस्था वृद्धि गर्न र साख कायम गर्न संवेदनशीलताका साथ भूमिका निर्वाह गर्न पनि न्यायाधीशलाई निर्देशन दिइएको छ। बिचौलिया पहिचान गरी अदालतमा प्रवेश रोक लगाउन र न्यायिक सुशासन कायम गर्न राणाले निर्देशन दिएका छन्।

प्रधानन्यायाधीश राणाले न्यायिक कामकारबाहीमा अनियमितता भएनभएको विषयमा निरन्तर अनुगमन, मूल्यांकन र निगरानी गरी अनियमितता वा विचलनजन्य कार्य गरेको पाइएमा कारबाही चलाउन उच्च अदालतका मुख्य न्यायाधीशलाई निर्देशन दिएका छन्।

निर्देशनअनुसार अनुगमनपछि कारबाही गर्नुपर्ने देखिएमा सिफारिससहितको प्रतिवेदन प्रधानन्यायाधीशसमक्ष पेस गर्नुपर्ने छ। नयाँ फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ९ ले कुनै मुद्दामा कसुरदार ठहर भइसकेपछि सजाय निर्धारण गर्नुपर्ने र कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारण गरिसक्नुपर्ने जिम्मेवारी न्यायाधीशलाई तोकेको छ। उक्त प्रावधानअनुसार सजाय निर्धारण गर्न छुट्टै सुनुवाइ गर्नुपर्ने र न्यायाधीशको मृत्यु भएको, अवकाश भएको वा कडा रोग लागेर कार्य सम्पादन गर्न नसक्ने भएकोमा बाहेक अन्य जुनसुकै अवस्थामा उही न्यायाधीशले सुनुवाइ गरी सजाय निर्धारण गर्नुपर्ने हुन्छ।

अन्तिम एक महिना इजलासमा नबस्दा सबै विषयको अध्ययन र खोजी गर्न सकिन्छ। अवकाश भएपछि घरघरमा कर्मचारी गएर न्यायाधीश खोज्नु राम्रो होइन। ९ पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्याय

यसरी सामान्यतः कसुरदार ठहर गर्ने न्यायाधीशबाटै सजाय निर्धारण हुनुपर्ने हुन्छ। ‘उमेर हदका कारण न्यायाधीशले अवकाश प्राप्त गर्ने विषय स्वाभाविक अनुमान र व्यवस्थापन गर्न सकिने विषय भएकाले मुद्दामा कसुरदार ठहर गर्ने न्यायाधीशबाटै निजको अवकाश हुनुपूर्वको सजायको निर्धारणसमेत गर्न सकिने गरी व्यवस्थापन गर्न उपयुक्त हुन्छ,’ निर्देशनमा भनिएको छ।

यस्तै न्यायाधीश तथा कर्मचारीले सामाजिक सञ्जालमा अदालतसम्बन्धी विषय राख्दा न्यायपालिकाको साख, न्यायपालिकाप्रतिको आस्था तथा न्यायसम्पादनमा पर्ने प्रभावबारे ध्यान दिन पनि सजग गराइएको छ। ‘फैसला चाँडै लेखेर न्याय सम्पादननका काम थप प्रभावकारी होस् भन्ने उद्देश्य हो। परिणाम कस्तो आउँछ, त्यो त कुर्नैपर्ने हुन्छ,’ प्रधानन्यायाधीश राणाले अन्नपूर्णसँग भने, ‘यस विषयमा न्यायाधीशको आगामी राष्ट्रिय सम्मेलनमा पनि बृहत् छलफल हुन्छ। न्यायाधीशको आचारसंहिताभित्र पर्ने विषय पनि हो।’

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले अवकाशपूर्व फैसला लेखिसक्नुपर्ने निर्देशन छिटो न्यायका लागि सकारात्मक कदम रहेको बताए। ‘न्यायाधीशले अवकाश हुनुअघि नै फैसला ‘कम्प्लिट’ गर्नुपर्ने कुरा राम्रो हो। किनकि अवकाशपछि त न्यायाधीशले फैसला लेख्न फुर्सद छैन पनि भन्न सक्छ,’ राष्ट्रिय मानवअधिकार आयोगका पूर्वअध्यक्षसमेत रहेका उपाध्यायले भने, ‘अन्तिम एक महिना इजलासमा नबस्दा सबै विषयको अध्ययन र खोजी गर्न सकिन्छ। अवकाश भएपछि घरघरमा कर्मचारी गएर न्यायाधीश खोज्ने कुरा राम्रो होइन।’

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले फैसला सुनाएकै दिन फैसला हातमा दिने विश्वव्यापी अभ्यास रहेको बताए। ‘अवकाशपछि फैसला दिनु राम्रो होइन। जुन दिन निर्णय सुनाइयो त्यही दिन फैसला लेखेर दिनुपर्छ। अवकाशपछि न्यायाधीश नै तलमाथि हुन गए के गर्ने रु प्रधानन्यायाधीशको यो कदम स्वागतयोग्य छ,’ वरिष्ठ अधिवक्ता अधिकारीले भने। अन्नपूर्ण पोष्टमा खबर छ ।