काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले यातायात व्यवस्था कार्यालय र विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सडक सुरक्षा र यातायात सेवा सुधारका लागि कडा कदम चाल्न आग्रह गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यातायात क्षेत्रमा देखिएका भ्रष्टाचार, अव्यवस्थित बसपार्क तथा मापदण्डविपरीत सञ्चालन भइरहेका ओभरलोड सवारीका कारण सर्वसाधारण जोखिममा परेको बताउनुभयो ।
उहाँले लामो दूरीका सवारीसाधनलाई रोड परमिट दिने प्रक्रियामा देखिएका समस्याप्रति प्रश्न उठाउँदै पटक–पटक गुनासो आए पनि सुधार हुन नसकेको बताउनुभयो । कोटेश्वरलगायतका स्थानबाट सञ्चालन हुने सवारीसाधनमा बारम्बार अनियमितता देखिनुको कारणबारे सम्बन्धित अधिकारीसँग स्पष्ट जवाफ माग गर्नुभयो ।

काठमाडौंमा लागू गर्ने भनिएको ‘एक बसपार्क नीति’ प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोप्रति पनि सांसद पाण्डेले असन्तुष्टि जनाउनुभयो । काठमाडौंका विभिन्न गल्ली तथा रिङरोडका जथाभावी स्थानबाट यात्रु चढाउने–ओराल्ने र टिकट काट्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको उहाँको भनाइ थियो ।
उहाँले ‘एक बसपार्क नीति’ दसैँ, तिहार र छठजस्ता चाडपर्वमा मात्रै नभई वर्षभरि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा ट्राफिक प्रहरीले यस विषयमा सकारात्मक पहल गरे पनि अन्य निकायको असहयोगका कारण नीति प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो ।
त्यस्तै, क्षमताभन्दा बढी यात्रु बोक्ने, ढालाभन्दा माथिसम्म असुरक्षित रूपमा सामान लोड गर्ने तथा मापदण्डविपरीत ओभरलोड भएका सवारीसाधनमाथि कडाइका साथ अनुगमन र कारबाही गर्न उहाँले माग गर्नुभयो । बाह्य मुलुकबाट आउने ओभरलोड सवारीसाधनको समेत प्रभावकारी जाँच आवश्यक रहेको उहाँले बताउनुभयो ।
सांसद पाण्डेले बैठकमा विषय उठाउने मात्र नभई निर्णय कार्यान्वयन भएको देखिनुपर्ने बताउनुभयो । समस्या समाधान नभए संसदीय उपसमिति आफैँ अनुगमनमा जाने र जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउने चेतावनी पनि उहाँले दिनुभयो ।
बैठकमा जिम्मेवार पदाधिकारीको अनुपस्थितिले समितिको कार्यसम्पादनमा असर परेको भन्दै उहाँले आगामी दिनमा सम्बन्धित अधिकारीहरू जिम्मेवारीपूर्वक उपस्थित भएर विषयको समाधानमा गम्भीर हुनुपर्ने बताउनुभयो ।







