काठमाडौँ । नेपाल प्रहरीले आगामी चाडपर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ ।
सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा प्रहरीले चाडपर्वका बेला यात्रु ठगिन नदिन र सवारी दुर्घटना न्यूनीकरण गर्न सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिएको हो ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाहले चाडपर्वका बेला हुने टिकटको कालोबजारी, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा एउटै सिटको टिकट दुई–तीन जनालाई बिक्री गर्ने जस्ता गतिविधि नियन्त्रण गर्न विशेष निगरानी बढाइने बताउनुभयो ।
उहाँका अनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ । भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत सहभागी गराउने प्रस्ताव गरिएको छ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिने भएकाले यात्रु र यातायात व्यवसायीबीच हुने विवाद कम हुने अपेक्षा गरिएको छ ।
डीएसपी शाहले टिकट बुकिङलाई व्यवस्थित र विश्वसनीय बनाउन टिकट काउन्टरमा खटिने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । परिचयपत्र र सम्बन्धित यातायात समितिको विवरण स्पष्ट भएमा समस्या उत्पन्न हुँदा अनुगमन तथा कारबाही गर्न सहज हुने उहाँको भनाइ छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणालीमा समेत सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । सम्बन्धित गन्तव्यको सडकबारे राम्रो जानकारी भएका र सोही मार्गमा नियमित रूपमा चल्ने चालकलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ ।
अपरिचित मार्गमा नयाँ चालक पठाउँदा सडकको अवस्था, खाल्डाखुल्डी, घुम्ती तथा जोखिमयुक्त स्थानबारे पर्याप्त जानकारी नहुँदा दुर्घटनाको जोखिम बढ्न सक्ने उहाँले बताउनुभयो ।
दशैँका बेला सबैभन्दा बढी सवारी चाप हुने कलङ्की–नागढुङ्गा सडकखण्डलाई लक्षित गरी प्रहरीले विशेष ट्राफिक व्यवस्थापन रणनीति तयार पारेको छ । दशैँको चार दिनअघिदेखि हुने अत्यधिक सवारी चापलाई व्यवस्थापन गर्न उपलब्ध जनशक्तिलाई अधिकतम रूपमा परिचालन गरिने डीएसपी शाहले बताउनुभयो ।








