१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’
अ अ+ अ-

काठमाडाैँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ । फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै लामो समयदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेका पोखराका पर्यटन व्यवसायी तथा स्थानीयमा उत्साह बढेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएयता नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडानको प्रयास गरे पनि यात्रु अभावका कारण सेवा निरन्तर हुन सकेन । त्यसपछि विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनबारे प्रश्न उठ्दै आएको थियो ।

फ्लाई दुबईको जहाज पोखरा अवतरण गरेपछि भने पर्यटन व्यवसायीहरूले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको सम्भावना बढेको बताएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई विश्वका प्रमुख पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष जोड्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

उहाँले फ्लाई दुबईको आगमनलाई पोखराको पर्यटन विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताउँदै उडानलाई नियमित र दिगो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । फ्लाई दुबईमार्फत पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिने आधार बनेको उहाँको भनाइ छ ।

भुजेलले अन्तर्राष्ट्रिय उडान सुरु हुनु जत्तिकै त्यसको निरन्तरता र दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो । स्थानीय, प्रदेश र संघीय सरकार, राजनीतिक दल, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच साझा सहकार्य भए मात्र अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पोखराबाट अन्तर्राष्ट्रिय उडानको सम्भावनालाई मूर्त रूप दिन विदेशमा लक्षित प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले ‘जाऊँ है पोखरा’ अभियानलाई अन्तर्राष्ट्रियकरण गर्दै पर्यटन व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीले समेत सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमता र दिगो रूपमा सञ्चालन गर्न विश्वभर रहेका नेपाली तथा सरोकारवालाले केही समय निरन्तर अभियान चलाउनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय उडानले विदेशी पर्यटकको आगमन बढाउनुका साथै उनीहरूको पोखरा बसाइ अवधि लम्ब्याउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

पर्यटन व्यवसायी गोपी भट्टराईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु भए होटल, यातायातलगायत समग्र पर्यटन व्यवसायमा नयाँ उत्साह आउने बताउनुभयो । उहाँका अनुसार दुबई प्रमुख अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट केन्द्र भएकाले पोखराबाट हुने उडानले विश्वका विभिन्न गन्तव्यसँग जोडिने अवसर सिर्जना गरेको छ ।

फ्लाई दुबईको जहाज पूर्ण यात्रु भारसहित पोखरामा अवतरण र उडान गरेको उल्लेख गर्दै भट्टराईले यसबाट विमानस्थल अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि सक्षम रहेको पुष्टि भएको दाबी गर्नुभयो ।

दशैँ, तिहार र नयाँ वर्षजस्ता प्रमुख चाडपर्वको पूर्वसन्ध्यामा उडान सुरु भएकाले यात्रुको चाप व्यवस्थापनमा समेत यसले सहयोग पुग्ने व्यवसायीहरूको अपेक्षा छ । काठमाडौंको तुलनामा पोखराबाट करिब पाँच हजार रुपैयाँ सस्तोमा उडान सुविधा उपलब्ध हुने भएकाले यात्रु आकर्षित हुने उनीहरूको विश्वास छ ।

भट्टराईका अनुसार फ्लाई दुबईको उडानका लागि विगत एक वर्षदेखि निरन्तर गृहकार्य हुँदै आएको थियो । अब श्रम स्वीकृतिलगायतका आवश्यक प्राविधिक प्रक्रिया पोखराबाटै सहज रूपमा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

पोखरामा अन्तर्राष्ट्रिय उडानको वातावरण बनेसँगै एयर अरेबिया, इमिरेट्स र इन्डिगोलगायतका अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पनि उडानको तयारी थालेको पर्यटन व्यवसायीहरूको दाबी छ ।

सरोकारवालाहरूले भने अहिलेको मुख्य चुनौती पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएका उडानलाई चार्टर्डमा मात्र सीमित नराखी नियमित व्यावसायिक तालिकामा लैजानु रहेको बताएका छन् । नियमित र दिगो अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सके पोखराको पर्यटनसँगै गण्डकी प्रदेश र समग्र मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको अपेक्षा छ ।