काठमाडाैँ । वर्षाका कारण मस्र्याङ्दी नदी बढेको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जानकारीदिनुभयो । उहाँका अनुसार केही दिनअघि नदीमा पानीको बहाव असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ । “अहिले पानीको सतह घट्दै गइरहेको छ । केही दिनअघि असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै बहाव देखिएको थियो, अहिले फेरि सामान्यतर्फ फर्किरहेको अवस्था छ,” उहाँले भन्नुभयो, “तत्काल जोखिम छैन । सुरक्षित तरिकाले बस्न सकिने अवस्था छ ।”
यसअघि मनाङको चामे क्षेत्रमा घट्टेखोलामा पहिरो खसेर खोला थुनिन सक्ने र त्यसबाट बाढी आउन सक्ने जोखिम देखिएपछि मस्र्याङ्दी नदी आसपासका तटीय क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो । हाल लमजुङ खण्डमा भने नदीको पानीको सतह घट्दै गएको जनाइएको छ ।
यद्यपि आइतबार एक निरन्तर वर्षाका कारण बाढीले जिल्लाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्याएको छ । बेँसीसहर नगरपालिका–११ र उदिपुर क्षेत्रको बीचमा मस्र्याङ्दी नदीमाथि रहेको मोटरेबल पुलमा समेत क्षति पुगेको छ । पुलमा क्षति पुगेपछि उक्त पुल हुँदै दोर्दी गाउँपालिकाको केन्द्र तथा बेँसीसहर–११ लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी खनालले आफू प्राविधिकसहित आज पुल तथा बाढीबाट क्षति पुगेका अन्य स्थानको निरीक्षणमा जाने जानकारी दिनुभयो ।
जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी
निरीक्षणपछि आवश्यकताअनुसार पुलको मर्मतसम्भारको काम अघि बढाइने उहाँले बताउनुभयो । नदीमा पानीको बहाव बढेपछि मस्र्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजना पनि प्रभावित भएका थिए । जोखिम बढेपछि आइतबार ७० मेगावाटको मध्य–मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी पानी पूर्ण रूपमा बाहिर छाडेका थिए । हाल नदीको बहाव र पानीको सतह घट्दै गएकाले दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो ।
नदीको अवस्था सुरक्षित भएपछि आयोजनाहरू सञ्चालनमा आउने उहाँको भनाइ छ । निरन्तर वर्षाका कारण मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्नुका साथै लेदो, बालुवा तथा गेग्रानको मात्रा बढेपछि आयोजनाहरूमा जोखिम बढेको थियो । त्यसैलाई ध्यानमा राख्दै सुरक्षाका लागि विद्युत् उत्पादन रोकेर पानी बाहिर छाडिएको थियो । प्रमुख जिल्ला अधिकारी खनालका अनुसार अहिले नदीको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । केही दिनअघिको तुलनामा पानीको सतह घट्दै गए पनि वर्षाको अवस्था हेरेर सतर्कता भने कायम राख्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।








