काठमाडौँ। अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माण तथा पूर्वाधार विकासमा एआईआईबीको लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको राजधानी दोहा पुग्नुभएका अर्थमन्त्री वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीलाई भेटेर नेपालमा लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन आग्रह गर्नुभएको हो।
भेटका क्रममा अध्यक्ष जोउले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले एआईआईबीको परियोजना तयारी विशेष कोषमार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने जानकारी दिनुभयो। साथै, विशेष कोषअन्तर्गतको अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध गराइने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने बताउनुभयो।
अध्यक्ष जोउले संस्थापक सदस्य राष्ट्र नेपालसँग आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
भेटमा अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष जोउलाई बधाई दिँदै संस्थापक सदस्य राष्ट्रका रूपमा नेपाललाई एआईआईबीले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले एआईआईबीको लगानीमा सञ्चालन भइरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो।
अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। उहाँले मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासका लागि एआईआईबीको स्रोतसँगै अन्य विकास साझेदारको स्रोतसमेत परिचालन गर्न आग्रह गर्नुभयो।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनुभएको छ।







