काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले विपद्पछिको अवस्था र मुलुकको गम्भीर संकटका बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले भदौ १० गतेको विपद् भएको एक महिना दुई दिन बितिसक्दा पनि प्रभावितहरूले न्याय पाउन नसकेको बताउनुभयो । उहाँले विपद्मा परी ज्यान गुमाएका २१ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी तथा घाइतेको उपचारमा सरकारले पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाउनुभयो ।

सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित भएर विपद् तथा मुलुकको समग्र अवस्थाबारे जवाफ दिनसमेत माग गर्नुभयो । सरकारका पछिल्ला गतिविधि गम्भीर विषयमा ‘केटाकेटी खेले जस्तो र लुकिछिपी’ शैलीमा अघि बढेको उहाँको टिप्पणी थियो ।
उहाँले भन्नुभयो, “घरी कसैलाई पक्रने र घरी छोड्ने जस्ता गतिविधिले सरकारको गम्भीरतामाथि प्रश्न उठाएको छ । कम्तीमा यस्ता संवेदनशील विषयमा सरकारले सिरियसली काम गर्नुपर्छ ।”
सांसद राईले मुलुकमा बढ्दो भोकमरी र आर्थिक अभावका कारण नागरिक आत्महत्या गर्न बाध्य भइरहेको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । यस्तो परिस्थितिमा सरकार र संसद्प्रति जनताको आक्रोश बढ्दै गएको उहाँले बताउनुभयो ।
प्रतिपक्षमा रहे पनि सरकारलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै उहाँले जनताका समस्या र आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।







