काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी–पहिरोले मनाङमा ठूलो जनधनको क्षति पुर्याएको छ । मस्र्याङ्दी नदी तथा स्थानीय खोलामा आएको बाढीले दर्जनौं घर बगाउनुका साथै सडक, पुल र सञ्चार सम्पर्क विच्छेद भएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद टेकबहादुर गुरुङले मनाङको पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउँदै तत्काल उद्धार तथा राहतका लागि सरकारी टोली परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँका अनुसार बाढीले सदरमुकाम चामे र नासोँ गाउँपालिकाको ताल गाउँमा दर्जनौं घरमा क्षति पुर्याएको छ । चामे–खाङसार सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने विभिन्न स्थानका मोटरेबल पुलसमेत बगेका छन् ।
विशेषगरी नार्पा भूमि गाउँपालिकामा हिमलुङ हिमाल आरोहणका लागि गएको टोलीका सदस्यहरू सम्पर्कविहीन भएपछि अवस्था थप गम्भीर बनेको सांसद गुरुङले बताउनुभयो । उहाँका अनुसार २७ जना नेपाली सहयोगीमध्ये दुई जनाको मृत्यु भएको छ भने १४ जना अझै सम्पर्कविहीन छन् । बाँकी ११ जना सम्पर्कमा आए पनि उनीहरूको उद्धारमा सडक तथा पुलपुलेसा क्षतिग्रस्त भएकाले कठिनाइ भइरहेको छ ।
बाढीपहिरोका कारण सडक तथा पुलहरू भत्किएपछि सयौं आन्तरिक तथा बाह्य पर्यटक मनाङका विभिन्न स्थानमा अलपत्र परेको पनि उहाँले बताउनुभयो । वर्षा र हिमपातका कारण हिमाली क्षेत्रमा उत्पादन हुने एकमात्र बाली नष्ट भएपछि जिल्लामा खाद्य संकटको जोखिमसमेत बढेको सांसद गुरुङको भनाइ छ ।
पर्यटनको मुख्य सिजनमै विपत्ति आएकाले पर्यटन व्यवसायीहरूले समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उहाँले बताउनुभयो । विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा थप कठिनाइ भइरहेको भन्दै सांसद गुरुङले प्रभावित क्षेत्रमा तत्काल सरकारी टोली पठाएर उद्धार, राहत र अत्यावश्यक सेवा सञ्चालन गर्न माग गर्नुभयो।







