१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर

नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट

नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट
अ अ+ अ-

सउल (दक्षिण कोरिया): महत्त्वपूर्ण पर्व छुसक चलिरहेको बेला दक्षिण कोरियामा बसोबास गर्ने नेपालीका लागि एउटा साङ्गीतिक कार्यक्रम उत्सवमा परिणत भयो, जसमा व्यापक सहभागिताबीच एकै स्थानमा नेपालीपनका विविध आनन्द समेटिएका थिए । लोकरक गीतहरू सुनाउन छैटौँपटक यस मुलुकमा आएको नेपथ्यको कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ।

शुक्रबार आयोजित कार्यक्रममा उपस्थित दर्शकको भीड सम्हाल्न आयोजकदेखि लिएर कोरियाली सुरक्षाकर्मीसम्मलाई हम्मेहम्मे परेको देखिन्थ्यो । त्यसै गरी मञ्चको अग्रभागमा दर्शकको घुइँचो खुकुलो पार्न गायकले समेत आह्वान गर्नुपरेको थियो । त्यसअघि आयोजनास्थल किन्टेक्स हलसम्म पुग्ने जीटीएक्स स्टेसनतर्फका रेलहरू उभिने ठाउँसमेत नभेटिने गरी नेपाली दर्शकले भरिभराउ देखिन्थे भने हजारौँ दर्शक अटाउने व्यापक क्षमताको अत्याधुनिक हल टम्म भरिएको थियो । साढे तीन दशक लामो साङ्गीतिक यात्रामा बन्द हलभित्र यो मात्राको सहभागिता नेपथ्यका लागि बेलायतको वेम्बली एरिना स्मरण गराउने स्तरको थियो ।

 कन्सर्टको सुरुवात ‘कोशीको पानी यो जिन्दगानी’ बाट गरिएको थियो । यसलाई अघि बढाउने क्रममा मुख्य गायक एवं ब्यान्ड अगुवा अमृत गुरुङले नदी सभ्यतालाई अँगालेरै अघि बढेको नेपाली समाज पछिल्लो समय जलवायु परिवर्तनले गर्दा तिनै नदीनालाबाट डराएर बाँच्नुपर्ने अवस्थामा पुगेको पीडा पोखेका थिए ।

‘भोटेकोशी र त्रिशूलीमा आएको भर्खरैको बाढीले हामीलाई अपूरणीय घाउ दिएर गएको छ,’ अमृतले उपस्थित दर्शकसामु अनुरोध गरे, ‘तत्काल राहतका लागि हामी एकजुट हुनुपर्ने भएकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तपाईंहरू पनि सक्दो सहयोग गरिदिनुस् ।’

यसरी आफ्ना गीत र समसामयिक विषयवस्तुबारे विचार सुनाउँदै अमृतले दुई घण्टासम्म प्रस्तुति दिएका थिए ।

 ‘मिल्ने नै भए एकपटक पारिजात (दिवंगत लेखिका) सँग भेट्ने थिएँ,’ कन्सर्ट हेरेर फर्केपछि दर्शक सुष्मा रानाहँमा राईले आफ्नै शैलीसहित फेसबुकमा लेखेकी छन्, ‘जीवनमा पटकपटक हेरिरहूँ सुनिरहूँ लाग्ने नेपथ्य ।’

‘नेपाली सङ्गीत जगत्‌मै नेपथ्य सर्वाधिक लोकप्रिय छ,’ अर्का दर्शक मनोज गुरुङले लेखेका छन्, ‘नौ वर्षपछि पुनः बेजोड प्रस्तुति हेर्न पाइयो ।’

 यस पालाको कन्सर्टमा केही नयाँपन पनि देखिन्थ्यो । जस्तो, गायक अमृतले ‘चरी मर्‌यो सिसैको गोलीले’ गीतको थालनी गर्दा ‘ए साइँला’ भन्दा पहिले ‘ए नि हाउ…हा… हा…’ भन्दै आलाप तानेर धुनको मुड स्थापित गरेका थिए ।

 सायद यस्तै कुराले प्रभावित भएर अर्का दर्शक पास्तेम्बा शेर्पाले गायक अमृतको फेसबुकमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘ह्वाट अ प्याकेज, ह्वाट अ ग्रेट लेसन फर नेसनालिटी, टु आवर वाज जस्ट लाइक ट्वेन्टी मिनेट (कति राम्रो प्याकेज, राष्ट्रियताको कस्तो उत्कृष्ट पाठ, दुई घण्टा त बीस मिनेट जस्तै गरी सकियो) ।‘

 अमृतकै फेसबुकमा अर्का दर्शक कल्ता लावती लिम्बूले ‘सधैँ दर्शकलाई यसै गरी उफार्ने जोसजाँगर मिलिरहोस्’ भनेर आशिषसमेत दिएका छन् । कन्सर्ट हेर्नका लागि आफू एक्लै आएको, एक्लै रमाएको र मनैदेखि खुसी भएर फर्किएको जानकारी पनि उनले पोस्ट गरेका छन् ।

 विभिन्न हाउभाउसहित आएका दर्शकमा आफूहरू मिलेरै डिजाइन गरिएको नेपथ्य अङ्कित टिसर्ट लगाएर उपस्थित समूह पनि थियो । अर्कातिर नेपाली परम्परागत खानेकुराका अनेकथरी स्टल समेटिएको बेग्लै हलमा पनि उत्तिकै भीडभाड देखिन्थ्यो ।

 ‘हामीलाई सदैव न्यानो माया दिँदै आएको कोरियाले यसपाला झनै भव्य स्वागत गर्‌यो,’ कार्यक्रम सम्पन्न भएपछि गायक अमृतले भने, ‘यसलाई थप प्रेरणाका रूपमा लिएका छौँ ।’

 नेपालीहरूबीच एकताको सन्देश प्रवाह गर्ने यस्तो महत्त्वपूर्ण आयोजनासँग जोडिन पाएकामा गौरव महुसस भइरहेको स्थानीय आयोजक सुरेश लिम्बूले बताए ।

‘गुणस्तर र दर्शक सहभागिता दुवै मानेमा यो कन्सर्ट मानक बन्न पुग्यो,’ कार्यक्रमपछि लिम्बूले प्रतिक्रिया दिए, ‘दक्षिण कोरियाका परिश्रमी नेपाली छुसक पर्वको बेला मिठो सम्झना बोकेर कन्सर्टबाट फर्केका छन् ।’

 कन्सर्टको प्राविधिक पक्षसँग जोडिएका कोरियालीहरूले पनि यसलाई विशेष अनुभवका रूपमा उल्लेख गरे ।

‘यत्तिको व्यावसायिक नेपाली टिमसँग मिलेर यस्तो सफल कन्सर्ट दिन सक्नु हाम्रा लागि पनि महत्त्वपूर्ण रह्यो,’ डीएस मेडियाटेकका ली जो युङले प्रतिक्रिया दिए, ‘हामी फेरि पनि यो टोलीसँग काम गर्न प्रतीक्षारत रहनेछौँ ।’   

 मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

 कन्सर्ट सम्पन्न भएपछि ब्यान्ड शनिबारै स्वदेश फिरिसकेको छ ।

 अब केही दिनमै अर्थात् अक्टोबर ४ मा नेपथ्यले आफूलाई युनाइटेड अरब इमिरेट्सको दुबई सहरमा प्रस्तुत गर्ने घोषणा गरिसकेको छ । त्यसपछि पनि नेपालका सातवटा सहर र भारतको सिक्किममा ब्यान्डले कन्सर्टको तालिका प्रकाशन गरिसकेको छ । त्यसै गरी यही वर्ष अस्ट्रेलियाको पनि शृङ्खलाबद्ध यात्रा गर्ने प्रारम्भिक जानकारी ब्यान्डले दिइसकेको छ ।

 यी तमाम कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।