काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले सरकारको पछिल्लो कार्यशैली र नीतिगत निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार गलत बाटोतर्फ अघि बढिरहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद गिरीले दशैँ–तिहारको मुखमा सार्वजनिक यातायात क्षेत्रमा हचुवाको भरमा सिन्डिकेट लागू गर्ने निर्णयप्रति आपत्ति जनाउनुभयो । उचित व्यवस्थापनबिना हतारमा सूचना जारी गर्दा सर्वसाधारण यात्रुले थप सास्ती भोग्नुपर्ने अवस्था आउने उहाँको भनाइ थियो । यस्तो निर्णयको आधार र औचित्य स्पष्ट गर्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद गिरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारी तथा त्यसक्रममा अपनाइएको सुरक्षा व्यवहारप्रति पनि प्रश्न उठाउनुभयो । उहाँले सुरक्षा दिनुपर्ने व्यक्तिलाई पक्राउ गरेर लैजानु दुःखद् भएको बताउँदै थुनामा रहेका व्यक्तिलाई भेट्न मानव अधिकारकर्मीलाई समेत रोक लगाइनु कानुनी प्रक्रिया र विधिको उपहास भएको टिप्पणी गर्नुभयो ।
हालैको अविरल वर्षा, बाढी तथा पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरणका लागि सरकारले देखाएको तदारुकता पर्याप्त नभएको सांसद गिरीले बताउनुभयो । संसद्मा भएका बहस र छलफलको मर्म सरकारले आत्मसात गर्न नसकेको आरोप लगाउँदै उहाँले सरकारले गरेका प्रतिबद्धता कार्यान्वयनमा नआएको दाबी गर्नुभयो ।







