१८ माघ २०८१, शुक्रबार
,
Latest
नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो एक सय २३ रनको लक्ष्य प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदको पुनः प्रवेश पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन: प्रधानमन्त्री सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो तोकिएको दिनभित्रै त्रिवि मैदानमा फ्लडलाइट सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छः प्रधानमन्त्री प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान ‘यो सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ’ असल अभ्यासलाई निरन्तरता दिऔँः सभामुख सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई सिट जोगाउन कठिन



अ+ अ-

१९ सांसदका लागि १२ माघमा हुने निर्वाचनमा ६ वटा प्रदेशमा सत्तागठबन्धनको मतभार धेरै, प्रदेश १ मा एमाले अगाडि

एमालेलाई आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्ना सिट सुरक्षित गर्न कठिन हुने देखिएको छ । ६ वटा प्रदेशमा सत्ता गठबन्धनभन्दा एमालेको मतभारमा धेरै कम छ । प्रदेश १ मा भने एमाले झिनो मतभारले अगाडि छ । त्यहाँ पनि अन्य साना दलले गठवन्धनलाई साथ दिए एमाले कमजोर बन्ने देखिन्छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निर्णय गरिसकेका छन् । 

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार÷चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । सत्तागठबन्धन एकैठाउँ हुँदा एमालेले कम्तीमा पाँच सिट गुमाउने सम्भावना छ । 

रिक्त हुन गइरहेका एक मनोनीतबाहेक १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार १२ माघका लागि निर्वाचनको मिति तोकिइसकेको छ । राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार भने १८ हुन्छ ।

प्रदेश १ मा एमालेको मतभार चार हजार पाँच सय ४२ छ भने गठबन्धनको मतभार चार हजार चार सय ६४ रहेको छ । अन्य दलहरूको मतभार तीन सय ४२ रहेको छ । जसअन्तर्गत राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लोकतान्त्रिक फोरमलगायत छन् । गठबन्धनले साना शक्तिका मत पाए एमालेलाई यहाँ पनि जोखिम छ । 

प्रदेश २ मा गठबन्धन बलियो छ, जहाँ एमालेको मतभार नौ सय ४२ छ भने गठबन्धनका दलको मतभार सात हजार एक सय ९४ छ । अन्य दलको मतभार एक हजार ७ सय ५२ रहेको छ । अन्य मतभारलाई एमालेले आफूतिर तान्दा पनि गठबन्धनलाई जित्न सक्ने देखिँदैन ।

बागमती प्रदेशमा पनि एमालेको उपस्थिति कमजोर छ । यहाँ एमालेको मतभार चार हजार एक सय ५२ रहेको छ भने गठबन्धनमा रहेका दलहरूको मतभार चार हजार आठ सय ९० रहेको छ । अन्यको चार सय ७४ मतभार छ ।

गण्डकी प्रदेशमा पनि गठबन्धन बलियो छ । गठबन्धनसँग तीन हजार एक सय ८० मतभार रहेको छ । जब कि एमालेसँग दुई हजार पाँच सय ३८ मात्रै मतभार रहेको छ । अन्यसँग एक सय ५६ मतभार रहेको छ । ती सबै मत तान्दा पनि एमालेले गठबन्धनलाई जित्न सक्ने देखिँदैन ।

लुम्बिनी प्रदेशमा गठबन्धन झन्डै हजार मतभारले अगाडि छ । एमालेको मतभार तीन हजार दुई सय ७६ रहेको छ । अर्कोतिर गठबन्धनको मतभार चार हजार दुई सय ६ रहेको छ । अन्यको मतभार दुई सय ७८ रहेको छ ।

कर्णाली प्रदेशमा एमालेभन्दा गठबन्धन दोब्बर मतभारले अगाडि रहेको छ । एमालेको मतभार एक हजार चार सय ३४ रहेको छ । गठबन्धनको मतभार दुई हजार आठ सय ९८ रहेको छ । यस प्रदेशमा राप्रपाको एक सांसद छन्, पालिकमा उसको दुईजनाको मतभार पनि छ । पालिकामा अन्य ६ जना स्वतन्त्र विजयी पनि छन् । यसरी राप्रपा र स्वतन्त्र गरी एक सय ९२ मतभार छ । 

सुदूरपश्चिम प्रदेशमा एमालेको मतभार एक हजार सात सय ८८ मात्रै रहेको छ । अर्कोतिर गठबन्धनको मतभार तीन हजार पाँच सय २५ रहेको देखिन्छ । अन्य ८४ मतभार छ । कार्यकाल सकिनेमध्ये तीनजना प्रदेश १ बाट निर्वाचित भएर आएका छन् । अगमप्रसाद बान्तवा राई, नैनकला ओझा र परशुराम मेघी गुरुङ तीनैजना एमाले सांसद हुन् । 

प्रदेश २ बाट आएका दुईजना (सुमनराज प्याकुरेल र शशीकला दाहाल)को पनि कार्यकाल सकिन लागेको छ । प्याकुरेल एमाले सांसद हुन् भने दाहाल माओवादी । बागमतीबाट निर्वाचित कांग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी सांसद उदया शर्मा पौडेल पनि बिदा हुँदै छन् । 

गण्डकीबाट आएका तीनजना सांसदको समयावधि पनि सकिँदै छ । त्यसमध्ये दीनानाथ शर्मा र खिमकुमार विक माओवादीका हुन् भने शान्तिकुमारी अधिकारी एकीकृत समाजवादीकी हुन् । लुम्बिनीबाट आएका एमालेका कोमल वली र रामलखन चमारको चारवर्षे कार्यकाल थियो । यसै प्रदेशबाट नेतृत्व गर्ने कांग्रेसका दृगनारायण पाण्डे पनि २० फागुनबाट राष्ट्रिय सभा सदस्य रहनेछैनन् । 

कर्णालीबाट विजयी भएर आएका कविता बोगटी, जीवन बुढा र ठगेन्द्रप्रकाश पुरीको पनि कार्यकाल सकिन लागेको हो । बोगटी एमाले सांसद हुन्, बुढा माओवादी र पुरी एकीकृत समाजवादीका हुन् ।सुदूरपश्चिम प्रदेशबाट विजयी भएर आएका चक्रप्रसाद स्नेही, तारादेवी भट्ट र शेरबहादुर कुँवरको पनि चारवर्षे अवधि सकिन थालेको छ । स्नेही एमाले, भट्ट कांग्रेस र कुँवर एकीकृत समाजवादी सांसद हुन् । मनोनीत सांसद रामनारायण बिडारीको कार्यकाल पनि यसैपटक सकिँदै छ । 

आयोगको तयारी तीव्र
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले १ पुसदेखि लागू हुने गरी मंगलबार निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ । राष्ट्रिय सभाका १९ सिटका लागि १२ माघमा हुन लागेको निर्वाचनका लागि आयोगले अन्य प्राविधिक तयारी पनि थालेको छ । 

आयोगले दल दर्ता र दर्तामा पनि दाबी विरोध, मतादाता नामावली प्रकाशित गर्ने, दाबी विरोध गर्ने, अन्तिम नामावली प्रकाशित गर्ने, मनोनयन गर्ने, मनोनयनको दाबी विरोधदेखि मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । 

 

यस्तो छ निर्वाचन कार्यतालिका

  • १–१० पुस : राजनीतिक दल दर्ता
  • १७ पुस : मतदाता नामावली प्रकाशन
  • १८–१९ पुस : अन्तिम नामावली प्रकाशन
  • २० पुस : मनोनयन दर्ता
  • २१ पुस : उम्मेदवारको विरोधमा उजुरी
  • २२–२३ पुस : उजुरीमाथि छानबिन
  • २४ पुस : उम्मेदवारले नाम फिर्ता लिने
  • २५ पुस : अन्तिम नामावली र चुनाव चिह्न प्रदान
  • १२ माघ  : मतदान

को–को बिदा हुँदै छन् ?

प्रदेश १ : अगमप्रसाद बान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ (सबै एमालेका)

प्रदेश २ : सुमनराज प्याकुरेल (एमाले), शशीकला दाहाल (माओवादी)

बागमती : राधेश्याम अधिकारी (कांग्रेस), उदया शर्मा पौडेल (एकीकृत समाजवादी)

गण्डकी : दीनानाथ शर्मा र खिमकुमार विक (माओवादी),  शान्तिकुमारी अधिकारी जिसी (एकीकृत समाजवादी)

लुम्बिनी : कोमल वली र रामलखन चमार (एमाले), दृगनारायण पाण्डे (कांग्रेस)

कर्णाली : कविता बोगटी (एमाले), जीवन बुढा (माओवादी), ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी)

सुदूरपश्चिम : चक्रप्रसाद स्नेही (एमाले), तारादेवी भट्ट (कांग्रेस), शेरबहादुर कुँवर (एकीकृत समाजवादी)

मनोनीत : रामनारायण बिडारी

 

(नयाँपत्रिका दैनिकमा समाचार छ)