काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध गरेको छ ।
सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु भएको थियो । स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको भन्दै कांग्रेसले अहिले आवश्यक नभएको बताए ।
पार्टी कार्यालय सानेपामा सरकारले हालै ल्याएको बजेटबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा काँग्रेस नेता तथा छाया सरकारका अर्थमन्त्री समेत रहेका डा. मिनेन्द्र रिजालले यसवारे पार्टीले चाडै निर्णय गर्ने बताए । काँग्रेसमा बजेटमा सांसद विकास कोष अन्र्तगत छुट्याइएको रकम लिन नहुने मत बढ्दै गएको छ ।
जेठ १६ गते काँग्रेस संसदीय दलले विज्ञहरुसँग गरेको छलफलमा समेत उक्त रकम नलिन सुझाव दिएका थिए । शुक्रबारको पत्रकार सम्मेलनमा पनि छाया अर्थमन्त्री रिजालले यसवारे चाडै निर्णय गर्ने भन्दै सो रकम अस्वीकार गर्ने संकेत गरेका हुन् ।
कांग्रेसले विरोध मात्र गर्छ कि ६ करोड लिन्न पनि भन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘तपाईहरुले जिज्ञासा राख्नु, सुझाव दिनु उचित हो । हेर्दै जानुस् अगाडि कसरी जान्छ ।’
रिजालले सरकारले ल्याएको बजेट वितरणमुखी भएको आरोप समेत लगाए । ‘५ वर्षका लागि आएको सरकारबाट वितरणमुखी बजेटको अपेक्षा थिएन । दुई तिहाईको तागत भएको सरकार, जसले अर्को तीन वटा वजेट ल्याउँछु भनेको छ । त्यो सरकारले भन्न सक्नुपथ्र्यो, यो वर्ष पेट बाँध्नुस्’ नेता रिजालको भनाई थियो ।